२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनरदेवीलाई राष्ट्रिय आयुर्वेद चिकित्सा प्रतिष्ठान बनाइदैं

नरदेवीलाई राष्ट्रिय आयुर्वेद चिकित्सा प्रतिष्ठान बनाइदैं


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको एकमात्र केन्द्रीय आयुर्वेद अस्पताल आयुर्वेद चिकित्सालय नरदेवीलाई राष्ट्रिय आयुर्वेद चिकित्सा प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढाएको छ । आयुर्वेदको सुपरस्पेसालिटी सेवासहितको प्रतिष्ठान बनाउन मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिने प्रक्रिया लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम गरिरहेको कानुन उपसचिव रेशराज शर्माले बताए ।

प्रतिष्ठानको कानुन निर्माणका लागि मन्त्रालयले अवधारणा पत्र तयार गरी रायका लागि कानुन मन्त्रालय पठाएको थियो । तर, कानुन मन्त्रालयले प्रतिष्ठान छाता ऐन बन्ने क्रममा रहेको हुँदा यो प्रतिष्ठान पनि त्यही छाता भित्र पर्ने हो या छुट्टै आयुर्वेद प्रतिष्ठान हुने हो स्पष्ट पार्न भन्दै मन्त्रालयलाई सोधेको छ ।

‘कानुन मन्त्रालयले पुनः स्पष्ट पार्नु भनेको छ,’ स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव शर्माले भने ‘कानुनले सोधेको विषयमा मन्त्रालयले निर्णय गरिसकेको छैन ।’

नेपाल सरकारले वि.सं. २०७७ सालमा प्रतिष्ठानहरुको एउटै ऐन बनाएर त्योअन्र्तगत संचालन हुने भन्दै स्वास्थ्य मन्त्रालयलाई एकीकृत प्रतिष्ठान छाता ऐन बनाउन सैद्धान्तिक सहमति दिइसकेको छ ।

आयुर्वेद चिकित्सा प्रतिष्ठानको अवधारणापत्र एकीकृत चिकित्सा परिषद् ऐनको सैद्धान्तिक सहमति आइसकेपछि अगाडि बढेको हुँदा छुट्टै प्रतिष्ठान बनाउने या त्यसैभित्र राख्ने भन्ने विषयमा भने मन्त्रालयले निर्णय गरिसकेको छैन ।

नरदेवीलाई प्रतिष्ठान बनाउने प्रस्ताव

प्रतिष्ठानको आवश्यकता र अवधारणा तय गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागलाई जिम्मा दिएको थियो । विभागले वरिष्ठ कन्सल्ट्यान्ट आयुर्वेद विज्ञ डा. श्यामबाबु यादवको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । जसको सदस्यहरुमा आयुर्वेद चिकित्सालयका वरिष्ठ कन्सल्ट्यान्ट डा. रामकामेश्वर ठाकुर र मन्त्रालयका तत्कालीन बरिष्ठ कन्सल्ट्यान्ट डा. बाबुराजा अमात्य थिए ।

विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायका अनुसार तीन जनाको कार्यदलले विभिन्न चरणमा सरोकारवालाहरुसँग बैठक बसेर तयार पारेको अवधारणालाई मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको हो ।

प्रतिष्ठानको अवधारणा बनाउन गठित समितिले आयुर्वेद चिकित्सालय नरदेवीलाई नै स्तरोन्नती गरी राष्ट्रिय आयुर्वेद चिकित्सालय बनाउनु उपयुक्त हुने अवधारणा पेश गरेको छ । यसअघि वि.सं. २०६६ सालमा पनि नरदेवीलाई प्रतिष्ठान बनाउन सचिवालयसमेत स्थापना गरेतापनि कुनै प्रक्रिया अगाडि बढेको थिएन । १०० वेडको केन्द्रीय आयुर्वेद चिकित्सालय भएका कारण पनि प्रतिष्ठान बनाउनका लागि सहज हुने उल्लेख छ ।

किन चाहियो प्रतिष्ठान ?

अवधारणा पत्रमा उल्लेख भएअनुसार नेपालमा प्रत्येक वर्ष १०० जनाले आयुर्वेद चिकित्सातर्फ स्नातक गर्छन् । तर, नेपालमा आर्युवेद चिकित्साको स्नातकोत्तर पढाइ नहुँदा ६०० जनाभन्दा बढी विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् । तर, नेपालमा भने आवश्यकताअनुसारको जनशक्ति पनि नभएको उल्लेख छ ।

प्रतिष्ठानले विश्वविद्यालयहरूले उत्पादन गर्न नसकेको विभिन्न विद्याहरूमा आवश्यक उच्च जनशक्ति उत्पादन गर्ने, आयुर्वेद शिक्षालाई समय सापेक्ष बनाउन स्वास्थ्य क्षेत्रमा प्राज्ञ थलो बनाउने, गुणस्तरीय स्वास्थ्य सेवाको लागि आधुनिक प्रविधियुक्त आयुर्वेद शिक्षाको अभ्यास गर्ने भनिएको छ ।

त्यसैगरी, आयुर्वेद स्वास्थ्य सेवातर्फ विकास गर्न नरदेवी चिकित्सालयलाई टर्सरी सेन्टरको रुपमा विकास गर्ने गर्दै रिफरल केन्द्रको रूपमा विकास गर्ने र देशभरी तत्काल आवश्यक पर्ने आयुर्वेद सेवासँग सम्बन्धित उच्च जनशक्तिलाई तालिम दिने उल्लेख छ ।

आयुर्वेद चिकित्सालाई विश्वसनीय बनाउन अनुसन्धान संस्कृतिको विकास गर्ने, अनुसन्धानमुलक आयुर्वेद संस्थाहरूलाई अनुसन्धानकर्ता जनशक्ति विकास गर्ने र औषधिजन्य जडिबुटी, खनिज र जान्तव द्रव्यहरू, निर्मित योगहरूलगायत अन्य सम्बन्धित विद्याहरूमा अनुसन्धानको लागि सहयोग र सहकार्य गर्ने गराउने भनिएको छ ।

त्यसका साथै नेपालमा आयुर्वेदिक औषधी र उपचार सेवको सम्भावना प्रचुर छ तर गहन अध्ययन नहुँदा त्यसको फाइदा देशले लिन सकेको छैन । राम्रो अध्ययन भएर राज्यले आयुर्वेदमा लगानी गर्दा प्रत्येक वर्ष कुल अर्थव्यवस्थाको ३० प्रतिशत यसैले थेग्ने उल्लेख छ । यी सबै कुराको विकास गर्न प्रतिष्ठानको आवश्यकता रहेको औल्याइएको छ ।

प्रतिष्ठानको आवश्यकता

  • आयुर्वेद चिकित्सालय नरदेवीलाई टर्सरी सेन्टरसहित रिफरल केन्द्रको रूपमा विकास गर्न विभिन्न विद्याहरूका ४० जना स्नातकोत्तर जनशक्तिको आवश्यकता देखिन्छ ।
  • स्नातकोत्तर विज्ञ जनशक्तिहरूः कायचिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, स्त्रीरोग तथा प्रसूति तन्त्र, कौमारभृत्य, अगद तन्त्र तथा व्यवहार आयुर्वेद, द्रव्यगुण विज्ञान, रसशास्त्र तथा भैषज्य कल्पना लगायत सात वटा प्रदेशमा निकट भविष्यमा संचालन हुने १०० बेडको आयुर्वेद अस्पतालको लागि प्रत्येक प्रादेशिक अस्पताललाई १५ जनाको दरले ७ प्रदेशको लागि१०५ जनाविशेषज्ञ जनशक्तिहरू आवश्यक देखिन्छ ।
  • प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालयको १४ वटा विभागहरूको लागि ५ जनाको दरले ७० जना विशेषज्ञ जनशक्तिहरू आवश्यक देखिन्छ ।
  • राष्ट्रिय आयुर्वेद तथा पंचकर्म केन्द्रमा आयुर्वेद चिकित्सा सेवाको लागि करिव ४० जना विशेषज्ञ जनशक्तिहरू आवश्यक देखिन्छ ।
  • राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरको चिकित्सा अनुसन्धान, औषधिजन्य अनुसन्धान र तालिमका लागि १५ जना विशेषज्ञ जनशक्तिहरू आवश्यक देखिन्छ ।
  • संचालनमा रहेका आयुर्वेद औषधि उत्पादन गर्ने कम्पनीहरू(हर्वास्युटिकल्स ईन्डष्ट्रिज)को लागि द्रव्यगुण विज्ञान र रसशास्त्र तथा भैषज्य कल्पनाका ६० जना विशेषज्ञ जनशक्तिहरू आवश्यक देखिन्छ ।
  • सरकारी तथा निजी अध्ययन संस्थान, क्लिनिकल प्रयाक्टिसलगायत अन्य विद्याहरूमा पनि विशेषज्ञ जनशक्तिहरू पनि आवश्यक देखिन्छ ।

सम्भावना

  • विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रवद्र्धनको लागि आयुर्वेद चिकित्सा पद्धतिलाई बढी महत्व दिएकोर विश्वमा नै आयुर्वेद तथ परम्परागत चिकित्सा को वढ्दो प्रयोग देखिन्छ ।
  • क्षारसूत्र, पूर्वकर्म, पंचकर्म, रसायन, वाजिकरण,योग जस्ता सेवाको लागि आयुर्वेदको लोकप्रियता बढेको छ ।
  • न्यूट्रास्यूटिकल, कस्मास्यूटिकल र फर्मास्यूटिकलको ठूलो विश्व बजार रहेको छ ।
  • नसर्ने रोग, तनाव, जीर्णरोग, वेदना जस्ता रोगहरूको व्यवस्थापन र जीवनशैलीको लागि विश्वको ध्यान आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ मोडिएको छ ।
  • जरारोग व्यवस्थापन र जीवनशैलीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्साको देश विदेशमा माग रहेको छ ।
  • न्यूट्रास्यूटिकल, कस्मास्यूटिकल र फर्मास्यूटिकलको लागि आवश्यक कच्चा पदार्थ स्वदेशमा प्रशस्त रहेको र उत्पादन गर्न सकिने संभावना रहेको छ । जसले गर्दा रोजगार श्रृजना हुनेछ ।
  • देशभित्र जडिबुटी, सुगन्धित तेल र खनिजजन्य कच्चा पदार्थ उत्पादन गरि विदेशमा निर्यात गर्ने अपार संभावना रहेको छ ।
  • ३० प्रतिशत राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने सम्भावना बोकेको छ ।
  • नागरिक आरोग्य तथा स्वास्थ्य जीवनशैलीको व्यवस्थापनले औसत आयुमा वृद्धि, रोग लाग्ने दर र मृत्यु दरमा कमी ल्याउन सकिने छ ।
  • स्वास्थ्य पर्यटनमा टेवा पुर्याउन सकिने छ ।

क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ