२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘कान्ति बाल अस्पतालमा कुनै पनि सेवा रोकिएका छैनन्’

‘कान्ति बाल अस्पतालमा कुनै पनि सेवा रोकिएका छैनन्’


डा. कृष्ण पौडेल कान्ति बाल अस्पतालका निर्देशक हुन् । कान्ति बाल अस्पताल केन्द्रीय रिफरल अस्पताल हो । सरकारले यो अस्पताललाइ कोभिड—१९ उपचार गर्ने हब अस्पतालको रुपमा तोकेको त छैन तर भोलि आइपर्दा यहाँ पनि उपचार गर्नुपर्ने हुन सक्छ । बालवालिकामा पनि कोभिड—१९ संक्रमण हुन सक्छ । र, त्यस्ता बालबालिका पनि अस्पताल भर्ना हुन सक्छन् । यही सेरोफेरोमा अस्पतालको सञ्चालन, कोभिड—१९ विरुद्ध अस्पतालको तयारी, कर्मचारी व्यवस्थाप लगायतका यावत विषयमा केन्द्रित रहेर हेल्थ आवाजका लागि गरिएको संवादः

कोभिड—१९ को संक्रमणपछि अस्पतालको सञ्चालन कसरी भइरहेको छ?
अहिले पनि अस्पताल एक हिसाबले खुल्ला छ, अस्पतालका कुनै पनि सेवाहरु बन्द भएका छैनन् । ओपिडीलाई हामीले फिभर र नन—फिभर गराएका छौं । ह्यान्ड वासिङ र फिभर स्क्रिमिङ हामीले ढोकामा नै राखेका छौं । इन्ट्रान्समा पनि धारा र साबुनसहित वासिङ स्टेशन राखेका छौं । सकेसम्म भिजिटर कम आउन भनेर नोटिस निकालेका छौं भने आउने भिजिटरलाई पासको व्यवस्था गरेका छौं । अस्पतालमा ज्वरो हेर्ने ओपीडीको काउन्टर पनि छुट्याइ दिएका छौं । यस्तै, डाक्टर तथा स्वास्थ्यकर्मीहरुले सचेत भएर हेर्नुपर्ने इमर्जेन्सी र फिभर क्लिनिकलाई छुट्याएका छौं । काम चाहिँ कुनै पनि रोकिएको छैन । तर, अस्पतालमा आउने बिरामी अत्याधिक कम भएको छ । सामान्य अवस्थामा ओपिडीमा १ हजारदेखि ८ सय जना आउनेमा अहिले ७०/८० जना मात्रै आउन थालेका छन् ।

ओपिडी अहिले पनि नियमित सञ्चालनमै छ ?
ओपिडी सञ्चालनमा छ । ओपिडी फिभर र ननफिभर गरेर दुईटा खण्डमा रहेको छ । अर्काे ६ नम्बरको कोठामा क्यान्सरको ओपिडी सञ्चालन गरिरहेका छौं । हामीले क्यान्सरका फ्लोअप तथा डे केयरमा आउने बिरामीलाई रोकेका छैनौ । सम्बन्धित निकायले पनि एम्बुलेन्सहरुमा रोक नलगाएको हुँदा बिरामीहरु आफ्नै खर्चमा अस्पताल आइरहेका छन् ।

मिर्गौलाका बिरामीको अवस्था के छ?
मिर्गौलाका बिरामी पनि आइरहेका छन् । डाइलाइसिस हाम्रो अस्पतालमा छैन । बच्चामा त्यति धेरै डाइलाइसिस आवश्यक पर्दैन । कहिलेकाहीँ आवश्यक परेतापनि पेरिटोनियल डाइलाइसिस सेवा हामी कहाँ उपलब्ध छ । अन्यको लागि भने हामी अन्तै रिफर गर्छाै । यहाँको रेकर्ड हेर्ने हो भने फागुनमा ७ सय बिरामी भर्ना गरिएको थियो । तर, चैत्रमा लकडाउन भएकाले ४ सयजना मात्रै बिरामी आएको देखिन्छ । बैशाख २२ गतेसम्म २ सय ९ जना बिरामीहरु भर्ना भएका छन् । अस्पतालमा भर्ना हुनेको संख्यामा खासै त्यत्ति कमी नआएतापनि ओपिडीमा आउने बिरामीको संख्यामा भने ह्वात्तै कमी आएको छ ।

शल्यक्रियाको अवस्था के छ?
मन्त्रालयको निर्देशन बमोजिम हाललाई दन्त सम्बन्धी कुनै अप्रेशन नगर्न भनिएको छ । इमर्जेन्सीको चाहिँ गरी राख्नुभएको छ, दैनिक २ देखि ३ वटा भएतापनि इलेक्ट्रीक अप्रेशन भने हाललाई होल्डमा छ । यदि कोही डेली फ्लोअपमा हुनुहुन्छ भने उहाँहरुलाई सम्पर्क नम्बर दिएका छौं, फोन गरेर मात्रै आउनका लागि । मेडिकलको हटलाइनमा दैनिक २० देखि ३० जति कलहरु भने आइराखेकै हुन्छन् । अस्पतालले ड्युटी डाक्टरलाई नम्बर उपलब्ध गराएको छ र ती कलहरु ड्युटी डाक्टरले नै उठाउनुहुन्छ । र, उहाँहरुले नै बच्चा अस्पताल ल्याउनुपर्ने हो कि लोकलमा लैजाने हो या कान्तिमा नै ल्याउने हो त्यो सल्लाह प्रदान गर्नुहुन्छ ।

भनेपछि अहिले सेवाहरु सबै सुचारु नै छन् ?
इमर्जेन्सी तथा ओपिडी सबै सेवाहरु सुचारु नै छन् । तर, ओपिडीमा आउनेको संख्या पनि एकदमै कम छ । धेरै बच्चाहरु ज्वरोको आउने भएकाले हामीले ज्वरो र श्वासप्रश्वास तथा अन्यको लागि भनेर ओपिडीअन्र्तगत नै दुईटा सेक्सन छुट्याएका छौं । त्यसैअनुरुप बिरामीहरु भित्र्याउने गरेका छौं । ताकि ज्वरोमा बस्नेले होसियारीका साथ हेर्न सकोस् । र, अभिभावकलाई ज्वरो छ भने हामीले त्यस्ता अभिभावकलाई शिक्षण अस्पतालमा पठाउने गरेका छौं ।

लकडाउन अघि र पछिको बिरामीको संख्या कति फरक छ ?
लकडाउनभन्दा अघि ओपिडीमा आउने संख्या हेर्ने हो भने फागुनमा ओपिडीमा आउनेको संख्या १३ हजार ९५, चैत्रमा ३ हजार ७ सय ७१ र बैशाखमा अहिलेसम्म जम्मा ८ सय २ जना बिरामी सेवाका निम्ति आएका छन् । अझ योभन्दा इमर्जेन्सीमा सबभन्दा बढी प्रभाव परेको देखिन्छ । किनकी फागुनमा इमर्जेन्सीअन्तर्गत ६ हजार ६ जना बिरामीका आएका थिए भने चैत्रमा त्यो संख्या घटेर २ हजार ५ सय १८ मा आएको थियो । अझ बैशाखमा लगभग ७ सय जना मात्र आएको देखिन्छ ।

त्यस्तै भर्ना हुनेको स्ंखया पनि धेरै गिरावट आएको छ । फगुनमा ७ सय ५७, चैत्रमा ४ सय ७५ जना भर्ना थिए भने फागुन सकिन लाग्दा २ सयभन्दा केही बढी मात्र देखिन्छ । यस अर्थमा बिरामीको संख्या आधाभन्दा कम नै भएको छ । आजसम्मकै (बैशाख २२) कुरा गर्ने हो भने जम्मा लकडाउनको अवधिभर सेवा लिनेको संख्या ६ सय २८ मात्रै रहेको छ । तसर्थ, यी नै कारणले अस्पतालको आम्दानी कम हुन गएकोे छ । जसकारण तलब वितरणमा समस्या देखा परेको छ । विकास समितिको ३ सय ४८ कर्मचारी र नेपाल सरकारको २ सय ६३ दरबन्दी रहेकोमा २ सय ४८ जति मात्रै कर्मचारीलाई पनि तलब खु्वाउन समस्या हुने देखिन्छ । मासिक करिब ८४ लाख तलब वितरण गर्नुपर्दछ ।

तलबमा पहिलेदेखि नै समस्या थियो नि हैन र ?
हो, पहिलेदेखि नै तलब वितरणमा समस्या थियो । त्यही भएर हामीले स्वास्थ्य मन्त्रालयसँग सहयोग मागिरहेका छौं । हामी आफ्नो कमाइले तलब उचित रुपमा वितरण गर्न सक्दैनौं ।

मासिक रुपमा अस्पतालको आम्दानी कति रहेको छ?
पिकमा चलेको बेला अस्पतालले सार्वजनिक बिदा, अप्रेशनको चार्ज गरी दैनिक सालाखाला ३ लाखजति कमाउदो रहेछ । यसरी हिसाब गर्दा मासिक नब्बे लाख जति हुन जान्छ । तर, अहिलेको कुरा गर्ने हो भने १ लाख कमाउन पनि गाह्रो भएको अवस्था छ । यस हिसाबले मासिक ३० लाख कमाउन पनि हम्मे–हम्मे भएको छ । जसकारण हामीले स्वास्थ्य मन्त्रालयमा सहयोगको लागि चिठ्ठी पठाइसकेका छौं । र, उहाँहरुले फाइल पनि उठाउँछौ भनीसक्नु भएको छ ।

हालसम्म कोभिड—१९ अस्पतालले भनेर नछुट्याइएता पनि भोलिका दिनमा मास रुपमा बिरामीहरु देखाप¥यो भने यहाँ पनि बिरामी हेर्नुपर्ने अवस्था हुनसक्छ । त्यस्तो अवस्थाको लागि कस्तो तयारी छ?
त्यसका लागि हामी पूर्ण रुपमा तयार रहेका छौं । जस्तो भोलि कोभिड—१९ का केसहरु बढेको खण्डमा कान्ति अस्पतालमा हुनुपर्ने भनेको आइसोलेसन वेड छुट्टै छ । हाललाई १० वेड रहेता पनि बढाएर १३ वेडसम्म बनाउन सकिने अवस्था रहेको छ । र, यदि बिरामीको लोड बढ्यो भने हाम्रो अहिले पेइङ वार्ड, मेडिकल वार्ड र स्पेशल क्याबिन छ । कोभिड—१९ बाट सुरक्षाका कारण सेयर नगर्नका लागि प्रत्येक स्पेशल वार्डमा ट्वाइलेटको पनि व्यवस्था रहेको छ । अहिलेको आइसोलेसनमा पनि मल्टिपल ट्वाइलेटको व्यवस्था रहेको छ । त्यसलाई पनि हामी छुट्याएर दिन सक्छौ । त्यसपछि धेरै नै केसहरु राख्नुपर्ने भयो वा धेरै गम्भीर भयो भने अहिले पेडियाक्ट्रिक इन्टरमिडियटर केयर युनिट (पिंकु) भन्ने वार्ड छ । ८ बेड भएको त्यसमा अक्सिजन पाइपबाटै सप्लाई हुने व्यवस्था छ ।

अहिलेको आइसोलेसन नयाँ बिल्डिङमा हो । त्यहाँ पाइपबाट अक्सिजन छैन्, सिलिण्डर चाहिन्छ । स्टेबल बच्चा त्यहाँ रहन्छन् । तर, भेन्टिलेट नै गर्नुपर्ने अवस्था आयो भने हामीले भेन्टिलेटरको व्यवस्था गरेर त्यही ठाउँ पिंकुमा नै राख्छौ भन्ने प्लान छ । किनकी त्यहाँ जानका निम्ति डाक्टरलाई चेन्जिङ रुम चाहियो । बिरामी हेरिसकेपछि पीपीई निकाल्नका लागि टे«सिङ गर्ने तथा चेन्ज गर्ने ठाउँ चाहियो । त्यसपछि त्यो ठाउँबाट अन्य ठाउँमा कन्ट्याक हुनु भएन । त्यो चाहिँ पिंकुमा बेटर देखिएको छ । ड्युटी चाहिँ एउटा टिम र अर्काे टिमको रिप्लेसमेन्टको व्यवस्था चाहिँ सकेसम्म कम स्टाफको प्रयोग हुने गरी गर्दैछौ । किनकी, धेरैलाई क्वारेन्टाइन राखेमा अस्पतालको सेवा नै प्रभावित हुन सक्छ । स्पेशका लागि चाहिँ समस्या छैन । केस धेरै भयो भने भोलि हामीले अहिले प्रयोग गरेको पेइङ वार्ड पूरैमा कोभिडका बिरामी राखेर अरु बिरामीलाई अन्य वार्डमा राख्न सक्छौं । त्यसले गर्दा सकेसम्म मिक्सिङ वा अरुलाई सर्ने सम्भावना कम होस् भन्ने प्लान गरेका छौं । हाम्रो एउटा हाई लेभल इक्फेक्सन भन्ने कमिटी छ । अर्काे चाहिँ सबै विभागीय प्रमुख भएको इन्सिडेन्ट कमन सिस्टम भन्ने छ । यसरी म्यानेज गरिरहेका छौं ।

अस्पतालमा आईसीयु बेड र भेन्टिलेटरको संख्या कति छ?
हाम्रो अहिले पीआईसीयु र एनआईसीयु १२/१२ बेड सञ्चालन रहेको छ । २४ वटा भयो र ती आईसीयुभित्र दुई वटा कोठाहरु पनि छन् । सर्जिकलमा २ बेड गरेर हाम्रो करिब—करिब ३३ बेड चलेको देखिन्छ ।  हाम्रो पूर्ण क्षमता ५२ हो । त्यसमा एनआईसीयु २५ बेड बनाउने, पीआईसीयु १५ बेड, एसआईसीयु १० बेड र दुईटा आइसोलेसन बेड गरी ५२ बेड पुग्ने हो । त्यो पूर्ण क्षमताका लागि हामीलाई नर्सिङ तथा डाक्टरको कमी छ । जुन अहिलेको दरबन्दीले सकिदैन् । त्यसका लागि हामी पहल गरी राखेका छौं । यी बीचमा हाम्रो अर्काे इन्टर मिडियट वार्ड छ, त्यहाँ भेन्टिलेटर छैन । पीआईसीयुहरुमा गरेर हाम्रोमा करिब १२ वटा भेन्टिलेटर फङसनिङमा रहेको छ । अरु १३ वटा बनाउन मिल्ने छ । तिनीहरुमा केही सामाग्री नभएर नचलेका हुन् । कसरी चलाउन सकिन्छ भनेर हामी लागिरहेका छौं । लकडाउनका कारण सामाग्री पाइएको छैन । अहिले १३ मध्ये १० वटा भेन्टिलेटरहरु चलाउन मिल्ने अवस्थाका छन् ।

अहिले आईसीयुको अवस्था के छ भनेर बाहिरबाटै हेर्न पनि सकिन्छ नि हैन ?
कति बेड खाली छ भनेर ५/५ मिनेटमा अपडेट हुने रियल टाइम डिसप्लेलाई हामीले इर्मेजेन्सी अगाडि राखिदिएका छौं । यो भएपछि बिरामीलाई बेड नभएर फिर्ता पठाउनुपर्ने भन्दा पनि पक्का ट्रान्सपरेन्सी होस्, बेड बाँकी भएर पनि बाहिर जाने अवस्था आउँदैन । बाहिर जाँदा के हुन्छ भने प्राइभेट र सरकारी अस्पतालको चार्जमा पनि धेरै फरक रहेको छ । जस्तो हामीले यहाँ १२/१५ सय प्रति बेड लिन्छौ भने बाहिर १५ हजारसम्म लिने गरेको पाइन्छ । र, ती रकम सबैले तिर्न सक्दैनन् ।

आर्थिक कमजोर अवस्थाको कुरा गर्नुभयो? यो नियमित हो कि कोभिड—१९ पछाडिको अवस्था हो?
अस्पताल राम्ररी चलेको बेलामा अस्पतालले सस्टेन गर्न सक्छ । मैले भनेजस्तै दिनको ३ सयदेखि ४ सय बिरामी आउँदा हामीलाई घाटा छैन । अस्पताल चलाउन सक्छौं । कहिलेकाहीँ कुनै इक्वीपमेन्ट (सामाग्री) किन्न प¥यो, रिएजेन्ट धेरै चाहियो वा केही बिग्रियो भने बढी पैसा चाहिएला त्यो छुट्टै कुरा हो । अन्यथा हाम्रो नेपाल सरकारको नियमित स्रोत पनि भएकाले त्यसले धेरै कुरा धान्न सक्ने अवस्था होे । तर, अहिलेको जस्तो भयो भने त गाह्रो छ । अर्काे कुरा के छ भने हाम्रो फेरि आर्थिक रुपले विपन्न बिरामीहरु धेरै आइपुग्छन् । र, सरकारी अस्पताल भएकाले धेरै छुट दिनुपर्ने हुन्छ । कति दिन एनआईसीयु बसेको, भेन्टिलेट गरेको, इन्ट्रोगेट राखेको सबै गर्दा हजारौं, लाखौ छुट गर्नुपर्ने हुन्छ ।

केही नभएका मानिसहरु कति हुन्छन् । तीमध्ये कतिका इन्स्योरेन्स भएका पनि छन् । र, नभएकालाई पनि हाम्रो सामाजिक सेवा इकाई छ, त्यसले विपन्न नागरिकको उपचार, सामाजिक सेवाको सोध भर्ना पनि गर्दछ । यस्तै, नवजात शिशुको निःशुल्क भन्ने छ । यो नेपाल सरकारको भएतापनि त्यो बजेटले केन्द्रीय अस्पताललाई नपुग्दो रहेछ । नवजात शिशुले उपचार गराएवापत प्रतिव्यक्ति ८ हजार पाउँछ । अन्य बिरामीका लागि एउटा बेडको २ हजार वा २५ सय चार्ज छ । ८ हजारले एन्टिबायोटिक बेड चार्ज गरेर पुग्दैन । एउटा बच्चा १५/२० दिन बस्यो भने ३० हजार रकम त उठ्छ नै । त्सका लागि हामीले बाल संस्थासँग समन्वय गर्नपर्छ । यसैका लागि कति खर्च हुन्छ भन्ने पक्षको अध्ययनका निम्ति केहि चिकित्सकहरु लागि पर्नु भएको पनि छ । जस्तो नवजात शिशुको जन्म भएमा यहाँ कति खर्च हुँदोरहेछ भन्ने उहाँहरुले निकाल्न लाग्नु भएको छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #कान्ति अस्पताल, #कोभिड, #डा कृष्ण पाैडेल, #बालबालिका


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ