२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण


सुर्खेत – सल्यानको छत्रेश्वरी गाउँपालिका–६ को छाँयाक्षेत्र  स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्रीको हस्तान्तरण गरिएको छ । छायाँछेत्र स्वास्थ्य चौकीमा रहेको वर्थिङ सेन्टरलाई १४५ किसिमका सामग्री वितरण गरिएको हो ।

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना अन्तर्गत डेलिभरी बेड, पिएनसी बेड, अक्सिजन सिलिन्डर, हिटर, फुटस्टेप, पेरिलाईटलगाएतका उपकरण तथा सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशरी भट्टराईले जानकारी दिइन् ।

‘दलित विकास समाज सल्यानबाट सञ्चालन भएको उक्त परियोजना तथा गाउँपालिकासँगको साझेदारीमा दुई लाख ५० हजार बराबरका सामग्री उपलब्ध गराइएको छ ।’ उनले भनिन्,‘वर्थिङ सेन्टरमा आवश्यक उपकरणको सुविधा थपिएपछि गर्भवती महिलालाई सुत्केरी गराउन सहज हुने र यसले मातृ तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने विश्वास लिएका छौं ।’

आमा तथा नवजात शिशुलाई चिसोबाट बचाउन, आवश्यक परेमा अक्सिजन दिन र सुरक्षित प्रसूतिका लागि धेरै नै सहज हुने अपेक्षा गरेको गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीको बताए । ‘विगतमा सीमित उपकरण र सामग्रीको कारणले सुरक्षित प्रसूति सेवामा दिन समस्या हुँदै आएको थियो ।’

उनले भने,‘कतिपय गर्भवती आमालाई अन्यत्रै पठाउने गरिएकोमा अब उपकरण र सामग्री उपलब्ध भएपछि स्वास्थ्यकर्मीलाई जटिल बाहेक सबै प्रसूति सेवा दिन सहज हुनेछ ।’

छत्रेश्वरी गाउँपालिकाका सबै प्रसूति केन्द्रलाई व्यवस्थित गर्दै प्रभावकारी प्रसूति सेवा दिने गरी आफूहरूले काम गरिरहेको अध्यक्ष बुढाथोकीले बताए । ‘छत्रेश्वरीमा चार वटा प्रसूति केन्द्र छन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन भएका वडा नम्बर २, ३ र ७ मा पनि प्रसूति सेवा दिने तयारी भइरहेको छ ।’

वडा नं. २ र ७ नम्बर वडामा भवन पनि निर्माण भइसकेको र ३ नम्बर वडामा भौतिक पूर्वाधारको व्यवस्थापन गर्न बाँकी रहेको अध्यक्ष बुढाथोकीले बताए । ‘आवश्यक जनशक्तिको पनि व्यवस्था गरेका छौँ ।’ उनले भने, ‘अब छिटै तीन वटा वडामा पनि प्रसूति सेवा दिन्छौँ ।’

स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको भन्दै उनले ज्येष्ठ नागरिकहरूको घरदैलोमै उपचार, औषधि व्यवस्थापन, विद्यालयमा प्राथमिक उपचारका सामग्री व्यवस्थापन गरिएको अध्यक्ष बुढाथोकीले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षदेखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै गएर चेकजाँच तथा उपचार गर्ने जनाएको छ ।

माघ र जेठ महिनामा ज्येष्ठ नागरिकलाई घरमै पुगेर चेकजाँच तथा उपचार गरिने स्वास्थ्य संयोजक भट्टराईका बताइन् । ‘विगतमा हामीले ८० वर्ष माथीकालाई घर भेट गर्ने गरेका थियौँ ।

यसपालिबाट ७५ वर्ष माथीकालाई घरमै उपचार गर्नका लागि औषधि तथा आवश्यक स्वास्थ्य उपकरणको पनि व्यवस्था गरिसकेका छौँ ।’ उनले भनिन्, ‘गाउँपालिकाभित्र रहेका ४० वटा सामुदायिक विद्यालयलाई प्राथमिक उपचारको लागि स्वास्थ्य सामग्री उपलब्ध गराउने तयारी भइसकेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ