२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारचिकित्सकको पीडा : ‘यो कोरोना संक्रमितको घर हो’ भन्दै ब्यानर टाँस्न खोजियो

चिकित्सकको पीडा : ‘यो कोरोना संक्रमितको घर हो’ भन्दै ब्यानर टाँस्न खोजियो


आज शुक्रबार । बिहान ७ः४५ बजे मेरो घरअघि आएर टोल सुधार समितिको अध्यक्षले फोन गर्नुभयो । सुतिरहेको थिएँ । फोन उठाउन नपाउँदै उहाँले सिधै भन्नुभयो, ‘तपाईंलाई कोरोना संक्रमण भएको रहेछ । अब हामी तपाईंको घरमा कोरोना संक्रमितको घर भनेर ब्यानर राख्छौं ।’

मैले प्रश्न गरे, ‘मेरो घरमा यस्तो ब्यानर राखेर तपाईंहरुलाई के फाइदा हुन्छ ?’

उहाँले उत्तर दिदैं भन्नुभयो, ‘फाइदा-बेफाइदाको कुरा होइन्, हाम्रो समितिबाट निर्णय भैसकेको छ । त्यसैले हामी ब्यानर राख्छौं ।’ टोल सुधार समितिका अध्यक्ष सहितको एक टिम ब्यानर टाल्न आएको रहेछ । ब्यानरमा पनि कस्तो भने, ‘यो कोरोना संक्रमितको घर हो’ भनेर लेखिएको ।

मैले धेरै के भन्न सक्थे । भने, ‘तपाईंहरु मेरो घरमा ब्यानर राख्नकै लागि आउनुभएको हो भने राख्नुस् ।’

मैले म र मेरी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएकोबारे फोन, सामाजिक सञ्जालमार्फत जानकारी गराएकै कुरा हो । तर, उहाँहरु एक्कासी ब्यानरनै टाँस्ने भनेर आइसकेपछि के भन्ने । मैले भने, ‘मेरो श्रीमतीलाई सोमबार कोरोना संक्रमण देखिएपछि हामी घरमा भित्रै ताला लगाएर बसिरहेका छौं । अब तपाईंहरुले मेरो घरमा ब्यानर नै राख्नुुहुन्छ भने पनि राख्नुस्, यसमा मेरो भन्नु केही छैन । तर, यसले ठूलो भेदभाव ल्याउँछ ।’

मैले अगाडि थपे, ‘यसले मलाई त खासै गाह्रो पर्दैन । तर, मेरो अस्पतालमा काम गर्ने मान्छेहरुलाई भने ठूलो असर गर्छ । आज तपाईंहरु मेरो परिवारमा कोरोना संक्रमण हुँदा यसरी विभेद् गर्नुहुन्छ । भोलि तपाईँहरुमध्ये कसैलाई कोरोना लागेर अथवा अन्य कुनै स्वास्थ्य समस्याका कारण अस्पतालमा आउँदा तपाईँलाई सेवा प्रदान गर्न गाह्रो भयो भने ?’ मैले यस्तो भनेपछि उहाँहरु हामी प्रशासनसँग सल्लाह गर्छौं भनेर जानुभयो ।

यतिबेला म आवद्ध भएको बकुलहर रत्ननगर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द छन् । ५० जनाभन्दा बढी कर्मचारीको स्वाब संकलन गरेर पठाइएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ । अन्यको पनि स्वाब संकलन गर्ने तयारी भैरहेको छ । पिसिआर नेगेटिभ रिपोर्ट आउने कर्मचारीहरुबीच सल्लाह गरेर सबै सेवा सुचारु गर्ने तयारीमा छौं । तर, फ्रन्टलाइनर रातबिरात नभनी बिरामीको उपचार खटिरहेका स्वास्थ्यकर्मीका घरमा आजको घटना भयो । त्यो एकदमै दुःखदायी छ । यो सूचना हाम्रो अस्पतालमा काम गर्ने सबैको परिवारमा पुगिसकेको छ ।

जसकारण उनीहरुलाई गाउँ/समाजमा मान्छेहरुले हेर्ने दृष्टिकोण फरक बन्न थालिसकेको छ । यो खबरपछि मलाई एकजना स्टाफ, जो होटल क्वारेन्टाइन बसिरहेका छन् । उहाँले फोन गरेर भन्नुभयो, ‘मलाई त होटलमा नराख्ने भइयो भनेर खबर गरिसके ।’ अब यस्तै अरु पनि खबर आउलान् । कसरी व्यवस्थापन गर्ने ? यस्तो बेलामा समाजका वुद्धिजीवि वर्गले हामीलाई हौसला दिनुपर्नेमा यस्तो प्रत्यक्ष विभेद् गर्ने काम गरेपछि समाज कहाँ पुग्ला ? यो कोरोना महामारीमा हामी संक्रमितको ज्यान बचाउन पहिलो लहरमा खटिने तर समाजले हामीलाई नै विभेद गर्ने ? हाम्रो उर्जा, उत्साह र साहस कसरी बढ्ला ? यो अहिलेको गम्भीर प्रश्न हो ।

(डा. बगालेसँगको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ