२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारआईसीयु नर्सको अनुभव : कोरोनामुक्त बिरामीको खुसी नै सेवामा खटिने उर्जा

आईसीयु नर्सको अनुभव : कोरोनामुक्त बिरामीको खुसी नै सेवामा खटिने उर्जा


नर्सिङ सकेर जागिर गर्न लागेको ३ वर्षभन्दा बढी भैसकेको थियो । आईसीयुमा ड्युटी गर्दा हरेक दिन नयाँ कुराहरू सिकिरहेको थिए । मेरो दिनचर्या यसरी नै बितिरहेको थियो । अलिदिन भएको थियो—फेसबुकलगायतका सामाजिक सञ्जालहरूमा चीनको वुहान सहरका मानिसहरूमा कोरोना भाइरसको संक्रमण देखिएको खबरहरू आइरहेका थिए । डाक्टर तथा नर्सहरूले पीपीईलगाएर ड्युटी गरेको तस्बिरहरू भाइरल भइरहेका थिए ।

सुरू—सुरूमा अरूबेलाजस्तै देखिने कुनै नयाँ भाइरस होलाजस्तो लागेको थियो । त्यसकारण खासै वास्ता गर्दिनथे । तर, मेरो यो सोच बदलिन धेरै समय लागेन । चीनमा कोरोना भाइरसका कारण कैयौं मानिसको मृत्यु भएको खबरहरू सुन्नमा आएपछि मनमा यो भाइरसबारे जानकारी लिन इच्छा जाग्न थाल्यो । सामाजिक सञ्जाल, साथीभाइ तथा विभिन्न न्यूज च्यानलहरूको माध्यमबाट कोरोना भाइरस के हो ? यो भाइरस मानिसमा कसरी देखियो ? एक व्यक्तिदेखि अर्को व्यक्तिमा कसरी सर्छ ? यसका लक्षणहरू, रोकथामका उपायहरू, यसका कारण मानिसहरूको मृत्यु कसरी हुन्छ ? आदिबारे विस्तृत जानकारी प्राप्त गरे ।

यी सबै कुराहरूको जानकारी प्राप्त गर्दै जाँदा याे भाइरस विरूद्धको औषधि तथा उपचार पद्धति बनिसकेको छैन भन्ने कुराले मनमा डर उत्पन्न भयो । त्यसपछि मैले मेरो परिवारलाई यसबारे जानकारी दिए । यो संक्रणबाट बच्न अपनाउनुपर्ने उपायहरू जस्तै: मास्क लगाउने, साबुन पानीले राम्ररी हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, भिडभाडमा नजाने आदि । आईसीयुमा ड्युटी गर्दा साथीहरूसँग यस विषयमा छलफल गर्थे । नर्स तथा डाक्टरहरुले पीपीई लगाएर लगातार ड्युटी गरेको कुरा हुँदा, कसरी लगाउन सक्छन् होला त्यति लामो समयसम्म जस्तो लाग्थ्यो । यी सबै कुराकानी गर्दा कसले सोचेको थियो, भोलिका दिनमा आफू पनि त्यही परिस्थितिमा पुगेर कोरोना विरूद्धको युद्धमा उत्रिनु पर्छ भनेर ।

केही समयपछि कोरोना भाइरसको संक्रमण चीनमा मात्र नभएर अरू देशहरूमा समेत देखिन थाल्यो । त्यसपछि कही हाम्रो देशमा पनि संक्रमण फैलिने त होइन भन्ने डर लाग्यो । अब हामीले यस विषयमा अझ बढी सतर्कता अपनाउनुपर्छ भन्ने लाग्यो । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण देखिन सुरू भयो । यति भैसक्दा पनि त्यति धेरै डर लागेको थिएन । बेला—बेलामा समाचार सुन्ने गर्दथे—नेपालमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन भन्ने सुनेपछि मन शान्त हुन्थ्यो । अलि दिन यसरी नै बित्यो । अस्पतालमा कोरोनाको विषयमा पहिलेभन्दा अलि बढी छलफल हुन थालेको थियो ।

त्यो दिन आउन धेरै समय लागेन्, जब हाम्रो नेपालमा कोरोना भाइरस संक्रमित पहिलो केस देखियो । अरु देशहरूमा जुन तीव्रतामा कोरोनाको संक्रमण बढिरहेको थियो । नेपालमा भने त्यो अवस्था थिएन । नेपालमा कोरोनाले महामारीको रूप लिदैन्, नेपालीहरुको रोगप्रतिरोधात्मक क्षमता बलियो छ । पशुपतिनाथले रक्षा गर्नुहुन्छ । वीर गोर्खाली हौं हामी । हामीलाई देखेर कोरोना डराएर भाग्छ आदिजस्ता अनेकौ हल्लाहरू सामाजिक सञ्जाल तथा गाउँ समाजमा हरेक दिन सुन्नमा आइरहन्थे । तर, यी सबै हल्लाहरू हावामा विलिन भएर जान कति नै समय लाग्दो रहेछ र ! विस्तारै कोरोनाले नेपालमा पनि महामारीको रूप लिन थाल्यो । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गयो ।

अब मेरो दिनचर्या पहिलेजस्तो थिएन । अस्पतालमा अरूबेला जस्तो माहोल थिएन । अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी सबैलाई कोरोना विरूद्ध लड्न तयार गर्न अस्पतालले विभिन्न तालिम, सेमुलेसन, डिजास्टर ड्रिलहरू आयोजन ग¥यो । नेपालमा कोरोना संक्रमण देखिनुभन्दा पहिलेबाट नै हाम्रो अस्पतालले डाक्टर, नर्स, ल्याबका कर्मचारी, फिजियोथेरापिष्ट, रेडियोलोजिस्ट, एम्बुलेन्स चालक, गार्ड, हाइजिन स्टाफ, वार्ड बोए सबैलाई यी विभिन्न तालिमहरू दिन थालिसकेको थियो ।

विभिन्न तालिमहरूमा हामीलाई पीपीई लगाउने तथा खोल्ने तरिकाहरू, अस्पतालमा कोरोना संक्रमित बिरामीहरू आउँदा गर्ने व्यवस्थापनहरू, कोरोना संक्रमित बिरामीको स्याहार गर्दा ध्यान दिनुपर्ने कुराहरू, सो संक्रमण आफूलाई लाग्नबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरू, संक्रमित बिरामीको मृत्यु भएमा शव व्यवस्थापन गर्दा गर्न हुने तथा गर्न नहुने कुरालगायतका विभिन्न विषयहरूबारे जानकारी गराइयो । यी विभिन्न तालिमहरू लिइसकेपछि मेरो मनमा भएका कैयौं डरहरू कम भएको अनुभव भएको थियो ।

सोचेजस्तो सबै कुरा त्यही गतिमा र त्यसरी नै हुने भए जिन्दगीमा दुःख नै हुँदैन्थ्यो होला । ती विभिन्न तालिममा सुनेको, भनेको र गरेजस्तो सजिलो वास्तविकतामा भएन । विस्तारै अस्पतालमा कोरोना संक्रमित बिरामीहरू आउन सुरू भयो । अरु बिरामीलाई स्याहार गर्नु र कोरोना संक्रमित बिरामीलाई स्याहार गर्दा धेरै फरक थियो । पीपीई लगाएर १०—१२ घण्टा निरन्तर काम गर्नुपर्ने, न खान न पिउन न त दिशा—पिसाब नै गर्न पाइने । बिरामीलाई स्याहार गर्दागर्दै संक्रमण आफूमा सर्न सक्ने तथा आफ्नो कारण संक्रमण घरपरिवारमा फैलिन सक्नेजस्ता डर मनमा लागिरहन्थ्यो । तर, यी सबै कठिनाइ तथा डरको वास्ता नगरी म बिरामीको सेवामा खटिए ।

ड्युटी गर्नका लागि कोभिड आईसीयुमा गैसकेपछि फर्केर घर कहिले गइन्छ केहि टुंगो हुँदैन थियो । १०—१२ घण्टा खटिएर काम गर्दा पुरै शरीर गलिसक्थ्यो । घरपरिवारसँग टाढा बसी, भोक—प्यासको परवाह नगरी, आफ्नो ज्यान जोखिममा राखी अनेकौ दुःखकष्ट सहेर हामी बिरामीको सेवामा खटियौं । यी सबै कुराभन्दा हामीलाई बिरामीले समयमा खाए—खाएनन्, समयमा दिशा—पिसाब भयो भएन, बिरामी राम्रोसँग सुते—सुतेनन् तथा बिरामीहरूलाई भएको दुःख आदिको बढी चिन्ता हुन्थ्यो । अस्पताललाई आफ्नो घर र बिरामीलाई आफ्नो परिवार मानेर निरन्तर सेवामा खटिदा बिरामीहरू कोरोना संक्रमणमुक्त भएर खुसी हुँदै घर गएको देख्न पाउँदा हामीलाई निकै खुसी लाग्छ । यसले नै निरन्तर सेवामा खटिन हौसला  र उर्जा मिल्छ ।

तर, हाम्रो समस्या अस्पतालभित्र मात्र नभएर बाहिर घर—समाजमा झन बढ्न थाल्यो । अहिले देशमा कोरोना भाइरसले यस्तो महामारीको रूप लिइसक्दा पनि समुदायका केही मानिसहरू लापरवाही गरिरहेको देख्दा मनमा अनेकौ प्रश्नहरु उत्पन्न हुन्छन् । कोरोना संक्रमण विरूद्धको लडाइ के फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मात्र हो त ? जनचेतनाको अभावका कारण भनौ कि मानिसहरूको लापरवाहीले भनौं सरकारद्वारा बनाइएका जनस्वास्थ्य मापदण्डहरुको उल्लंघन गर्ने, मास्क नलगाएर भिडभाडमा जाने, सामाजिक दूरी कायम नगर्नेजस्ता कार्यहरू भइरहेको देखिन्छन् ।

कोठा भाडामा बसेका स्वास्थ्यकर्मीहरूलाई मानसिक दबाब दिएर कोठा छाड्न बाध्य पार्ने, समुदायबाट बहिस्कार गर्ने, उनीहरू बसेको घरमा ढुंगा प्रहार गर्नेजस्ता विभिन्न अमानवीय घटनाहरू दिनदिनै घटिरहेका छन् । आफू पनि अरूको घरमा भाडामा बस्ने भएकोले होला यस्तो खबरहरू सुन्दा मेरो मन खिन्न हुन्छ । त्यसमाथि केही समयअघि बानेश्वरमा स्वास्थ्यकर्मीहरू माथि भएको अनैतिक व्यवहारले झन अर्को मानसिक तनाव थपिन गयो । कही ड्युटी सकेर कोठामा जाँदा त्यस्तै अनैतिक व्यवहार कतै मेरो समुदायले म माथि गर्ने हो कि ?जस्ता अनेकौ प्रश्नहरू मनमा आइरहन्छ ।

हाम्रो देशमा मात्र नभएर अहिले यो महामारीको प्रभाव सारा विश्वमा नै फैलिएको अवस्था छ । पर्याप्त स्रोत साधन, दक्ष जनशक्ति भएका अमेरिका, बेलायत, इटलीजस्ता विकसित राष्ट्रहरुले त यो महामारी विरूद्ध लड्न कैयौ कठिनाइहरू भोगिरहेका छन् । हाम्रो नेपालजस्ता विकासोन्मुख राष्ट्रले अझ अनेकौ कठिनाई भोग्नुपर्छ भन्ने निश्चय नै छ । तर, सरकार तथा नागरिक एकजुट भए यो महामारीको प्रकोप कम गर्न सक्षम भइन्छ भन्ने चीनको उदाहरण पनि हाम्रै अगाडि छ । यस्तो समयमा विज्ञानमाथि विश्वास नगरेर अन्धविश्वासको बाटोमा लाग्नु उपयुक्त होला ? आफ्नो ज्यानको प्रवाह नगरी कर्तव्यलाई बहन गर्दै खटिएर काम गर्ने सबै फ्रन्टलाइनका कार्यकर्तालाई काम गर्न प्रोत्साहन गर्नुपर्छ । उनीहरुका लागि अनुकूल वातावरण निर्माण गर्नु समाज र सरकारको दायित्व होइन र ?

एउटै पेशामा भएका उही सेवा प्रदान गर्ने कर्मचारीबीच भेदभाव किन ?आखिर सरकारद्वारा दिइने सेवा तथा सुरक्षामा भेदभाव किन? सरकारी संस्था होस् वा गैरसरकारी संस्था होस् । सरकारले सबैलाई समान सेवा तथा सुरक्षा प्रदान गर्नुपर्छ । सरकारी तहका कर्मचारीलाई जोखिम भत्ता प्रदान गरिने तर गैरसरकारी तहका कर्मचारीले भने पूरा तलब समेत नपाउने । यस्तो समयमा सेवामा खटिएका कर्मचारीलाई पर्याप्त तलब समेत प्रदान नगर्नु यो कस्तो नैतिकता हो ? सेवामा खटिएकालाई समाजबाट बहिस्कार गर्ने कस्तो मानवता हो ? यस्तो मानवता हराएको समाजमा हामी सेवामा खटिन अघि बढ्ने कि नबढ्ने?

कोभिड—१९ महामारीलाई रोक्नका निम्ति सम्पूर्ण देश नै एकजुट हुनु अत्यन्त आवश्यक छ । एक अर्कालाई हौसला प्रदान गर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूलाई काम गर्न सिर्जनशील वातावरण प्रदान गर्ने, सरकारी तहबाट फ्रन्टलाइनरहरूलाई पर्याप्त सेवा—सुविधा तथा सुरक्षा प्रदान गर्ने, देशका हरेक नागरिकले महामारीबाट बच्न उपयुक्त सुरक्षा मापदण्ड अपनाउने हो भने हामी यो महामारीको प्रभावलाई अवश्य नै कम गर्न सफल हुनेछौं । आउँदा दिनहरूमा महामारीले जस्तो भयावह रूप लिएपनि म मेरो कर्तव्यबाट पछि नहटेर निरन्तर सेवामा खटिन तयार छु ।

‘के तपाई आफ्नो कर्तव्य निभाएर हामीलाई साथ दिन तयार हुनुहुन्छ ?’


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ