२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारजब मैले मलमपट्टी लगाइदिनेहरूबाट नै साथ पाइन

जब मैले मलमपट्टी लगाइदिनेहरूबाट नै साथ पाइन


स्वास्थ्यकर्मीका जीवनमा यतिबेला युद्धमा होमिएका सिपाहीजस्तै अनेकन बाधाहरु छन् । कोरोना कहरकाबीच बाधाहरुबाट डराएर युद्धबाट ड्युटी छोडेर भागेको सिपाहीजस्तै भाग्ने वा जतिसक्दो कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा डट्ने । सेवाभाव मनमा बोकेर फ्लोरेन्स नाइटिंगेलको कथा सुनेर पढाइ र सेवामा होमिएका हामी नर्सका लागि यतिबेला सेवाबाट मुख मोडने कुरा सोच्न सकिने कुरा पनि होइन् । जब समाजलाई हाम्रो आवश्यकता हुन्छ, हामी मैदान छोडेर भाग्ने कुरा नै हुँदैन् । संसारभर कोभिड–१९ का केसहरु बढ्दैं जाँदा नेपालमा पनि संक्रमण बढ्न थाल्यो ।

म काम गर्ने अस्पतालमा केही साथीहरूलाई ज्वरो आउन थाल्यो । साथीहरुलाई ज्वरो आएपछि हामी सबै नर्सहरू जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न थाल्यौं । घरमा आफ्नै परिवारबाट समेत अलग–अलग बस्न थालेको थियौं ।

केही महिनादेखि घरमा खुलेर परिवारका सदस्यसँग अंकमाल गर्न नपाउनुको पीडा हामीभन्दा धेरै कसलाई थाहा होला र? कठिन समयमै सबैभन्दा बढी खटकिने चिज भनेकै भावनात्मक टेको हो । तर, कोभिडले परिस्थिती यति जटिल बनाएको छ, त्यही भावनात्मक टेकोका लागि तड्पिनुपर्ने अवस्था छ ।

जागिरबाट राजीनामा गरेर घर बस्न भनेर पटक–पटक आमाबुबाले आग्रह नगर्नुभएको होइन् । तर, उहाँहरुको आग्रह नमानेर अस्पतालमा सेवा गर्न नछोड्ने अठोट लिए ।

केही दिनमै मलाई पनि एकाएक ज्वरो आयो । सामान्यः रुघा र ज्वरो आएसँगै म अझ आफूलाई अरूबाट अलग गर्न थालें । मैले यसबीच बन्दै गरेको नयाँ घरमा रहेको ट्वाइलेट, बाथरूम प्रयोग गर्न थालिसकेको थिएँ ।

कोरोना लागेको हो होइन भन्ने निर्क्योल गर्न अत्यावश्यक ठानेर मैले काम गर्ने अस्पतालले हामी केही नर्सहरूको स्वाब संकलन गर्ने निर्णय ग¥यो । त्यसैअनुसार हाम्रो स्वाब संकलन भयो । स्वाब संकलन गरिएको दिनसम्ममा म परिवारसँग अलग्गै बसेको धेरै दिन भइसकेको थियो ।
९ असोजमा दिएको स्वाबको रिपोर्ट ५ दिनपछि १३ असोजमा बल्ल आयो । परिवारबाट अलग बसेको र लक्षणहरू देखिएको १०–१२ दिन नै कटिसकेको भएतापनि मैले पुनः २ हप्ता सेल्फ आइसोलनमा बस्ने निर्णय गरें । यो निर्णय मैले परिवार र समाजको हितमा लिएकी थिए ।

कोरोना लाग्दा मानसिक रूपमा धेरै हरेस खाइने रहेछ । सुरुको दिन त मैले केही सोच्नै सकिन । यदि हाम्रो टोलमा छाडा हिंडेका मान्छेहरूको जाँच गर्ने हो भने धेरैको पक्कै पोजिटिभ रिपोर्ट आउँथ्यो होला । खैर ।

मलाई डर लाग्थ्यो । म पहिलो संक्रमित भएको र अस्पतालमा काम गर्ने भएकाले यदि अरूलाई पनि लागेको भए मैले नै सबैलाई सारेको भनेर हल्ला हुनेछ भनेर । तर, मेरो टोलका मान्छेहरू धेरै पढेलेखेका थिए । शिक्षित थिए । उचित व्यवहार र सामाजिक थिए । त्यही कारण कोभिड–१९ पोजेटिभ आउँदैंमा राम्रो व्यवहार पाइने र छिमेकीबाट बलियो आड पाइनेमा विश्वस्त थिएँ । अन्य धेरै स्वास्थ्यकर्मीको घर पनि नजिकै थियो । त्यही कारण मलाई धेरैले हौसला दिने र मेरो परिवारलाई क्वारेन्टाइनमा बस्दा पर्ने समस्या हल गर्न सहयोग गर्ने पूरा विश्वास थियो ।

पढेलेखेका दाइहरू, वर्षौंदेखि सँगसँगै खेलेर हुर्किएका साथीहरू, सधैँ आरामको कामना गरेका अग्रजहरू वरिपरि भएका कारण हामी दैनिक आइपर्ने समस्या र सागसब्जीको अभावमा आतिनु नपर्नेमा म ढुक्क थिएँ । तर, सबै कुरा मैले सोचेको ठिक विपरित भयो ।

मेरो छिमेकीसम्म रहेका स्वास्थ्यकर्मी, जनप्रतिनिधिका परिवारलगायत केही गाउँलेहरूले नै मैले कोरोना फैलाउन लागेको आरोप लगाउन थाले । मलाई तुरुन्त अन्य ठाउँमा लग्नुपर्ने भनेर वडा कार्यालयमा उजुरी गरिएछ । उनीहरुको उजुरीपछि मेरो उहाँहरुप्रतिको विश्वास धरहरा गल्र्यामगुर्लम ढल्यो । सोचे, म अरू बेलै पनि खासै बाहिर नहिँड्ने मान्छे अनि अझ अहिले त एकान्तवासमा बसेको छु, मैले कसरी संक्रमण फैलाउन सकौंला ?

म छक्क परेँ । ममा भित्रैबाट आत्मबल घटेर आयो । मानसिक रूपमा अझ धेरै कमजोर भएको महसुस गरेँ । तर, मेरा सहकर्मी साथीहरू र म काम गर्ने अस्पतालले मलाई एक्लो हुन दिएन । फेसबुक म्यासेन्जरमा ग्रुप बनाएर मलाई हसाउँनेदेखि मेरो घरसम्म सागसब्जी र अन्य दैनिक उपभोग्य वस्तु लिएर भेट्नसम्म आए ।

टाढाबाटको त्यो भावनात्मक र व्यवहारिक टेकोको बलमा गाउँका पढेलेखेका भनाउँदा आफन्तहरूको असहयोगले दुःखेको मन सम्हालियो । कोभिड–१९ जित्न आवश्यक आत्मबल बढ्यो ।

तर, कुरा यतिमै सकिएन् । म र मेरो परिवार सम्पूर्ण रूपमा आइसोलसनमा थियो । हामी कहिँ नगएको भएतापनि केही स्थानीयहरूको पहलमा हाम्रो घरमा रातो झण्डा गाड्ने दबाब आएछ । केही व्यक्ति आएर त्यो इच्छा पनि पूरा गर्नुभयो । कोरोना विरुद्ध मोर्चामा अग्रपंक्तिमा खट्दैं संक्रमित हुन पुगेकी म माथिल्लो तलाको खाली कोठामा बसेर भारी मन र आँसु नै आँसु भएका आँखाले एक टक उहाँहरूलाई हेरिरहेँ । कुनै दिन मैले अस्पतालबाट आएर खाजासम्म नखाएर घाउ ड्रेसिङ गरिदिन पुगेका घरहरू अनि थोरै बिरामी पर्दा सम्झिएर सिटामोल ल्याइदिने गरेको सानी बैनीका बुबा पनि हाम्रो घरमा झन्डा गाड्दा चुपचाप हुनुभयो ।

म ट्वाल्ल परें । मानिसहरू एकाएक आफ्नो असली रूप देखाउँदै थिए । मैले आफ्ना मान्छेहरू, देश र यो समाजका लागि देखाएको सेवाभावको मूल्य यो तिरस्कारबाट पाउँदै थिएँ ।

संसार बुझेर पनि नबुझेझैँ मेरो मनको शान्ति लुछ्दै गरेका मैसासुरहरूको प्रतिविम्ब सायद यिनीहरूजस्तै हुँदो हो । मलाई अझ दुःख त स्वास्थ्य शिक्षाबारे जानकार परिवारका सदस्यहरूले पनि कोरोना हावाबाट नै सर्छ झैं गरेर गरेको घृणा सम्झँदा लाग्यो ।

कमसेकम मलाई फोन नै गरेर ‘कस्तो छ केही कुराको अभाव छ कि छैन’ भनेर सोध्नुभएको भए नि हुने । मलाई मानसिक यातना त दिनु नै भयो । क्वारेन्टाइनमा बसेको मेरो परिवारलाई पनि छोड्नु भएन ।

कसैले हाम्रो परिवारको कान्छो सदस्य ३ वर्षको सानो भाइलाई खुवाउने दूध किन्यौ कि के गर्दैछौ भनेर नि सोध्नुभएन । तपाईँहरू सबैको यो बैगुन कहिले बिर्सने छैन । अन्त्यमा मेरा सहकर्मी साथीहरू र शुभचिन्तक आफन्तहरूको प्रेम, सहयोग र समर्थनका लागि धन्य छु ।

तपाईंहरूलाई यस्तो कहिल्यै नपरोस् । अनि मेरो घरमा झण्डा गाड्न आउने प्रिय छिमेकी, मलाई खाना ल्याइदिएको भनेर छिमेकी दिदीलाई घर बाहिर नै रात कटाउन बाध्य पार्ने आदरणीय ख्वामितहरू अनि मलाई कोरोना लाग्दा झ्याली पिट्दै हिँड्ने स्थानीय स्वास्थ्यकर्मीको परिवारका सदस्यहरू । हामीलाई थाहा छ तपाईँहरू सबैलाई एक न एक दिन मेरो स्थानमा बसेर अनुभव गर्ने अवसर मिल्नेछ । अनि म तपाईँहरूका लागि उत्साहको अक्सिजन जोड्ने साहससहित गुण लगाउन आउनेछु । उही, तपाईँहरूको हेला सहेर भएनि कोरोना जित्न सफल बहिनी ।

कल्पना
बिर्तामोड–१, झापा


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ