२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘एमबीबीएसको कक्षा सञ्चालन गर्ने योजनामा अगाडि बढ्छु’

‘एमबीबीएसको कक्षा सञ्चालन गर्ने योजनामा अगाडि बढ्छु’


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा प्रा.डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य सेवाको ११ औं तहबाट अवकाशप्राप्त प्रा.डा. क्षेत्री प्याथोलोजिस्ट हुन् । डा. क्षेत्री यसअघि पनि कुलपतिको प्रतिस्पर्धामा थिए । यसअघिका उपकुलपति डा. वुद्धिबहादुर थापाका प्रतिस्पर्धी क्षेत्रीलाई यसपटक उपकुलपति बन्ने अवसर मिल्यो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. क्षेत्रीसँग हेल्थआवाजका लागि सुनील सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

मैले योजना बनाएर पेस गरेको छु । कति पूरा हुन्छन् । त्यो म एक्लैले गर्न सक्ने कुरा होइन, टिम वर्क हो । त्यो योजनाअनुसार कति गर्न सकिन्छ । छलफल र सहकार्यबाट काम हुन्छ । एउटाले गर्ने भनेर मात्र हुँदैन् । मैले तत्काल भइहाल्ने र मेरो ४ वर्षे कार्यकालमा गर्न सकिने काम योजना बनाएर पेस गरेको छु । कार्यान्वयनको लागि पहल हुन्छ ।

पुराना कार्यक्रमलाई निरन्तरता दिनु मेरो पहिलो काम हुनेछ । अघिल्लो सिनेटले एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । छिट्टै कक्षा सञ्चालनका लागि अघि बढ्नेछु । प्रत्येक प्रदेशमा सरकारको आफ्नै शिक्षण अस्पताल सञ्चालन गर्ने र त्यसैमा एमबीबीएस कक्षा चलाउने नीतिअनुसार अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।

बीएनआईसी, बीएस्सी नर्सिङ प्रोग्राम सञ्चालन गर्ने कुरा छन् । नन स्टाफ टिचिङ राख्ने योजना छ । तर, कति सम्भव हुन्छ, अहिले नै भन्न सकिएन । बेसिक साइन्सको भौतिक संरचना निर्माण, फ्याकल्टी विकास गर्ने योजना छन् । प्रतिष्ठान सामु धेरै चुनौती छन् । योजना बनाएर विस्तारै समाधान गर्ने प्रयासमा रहन्छु । तर, तत्काल जनताले अनुभव गर्ने गरी काम गर्न त सकिन्छ नै भन्दिनँ । कसरी राम्रो बनाउने भन्नेमा मेरो जोड रहन्छ ।

पोस्ट ग्राजुयटमा सिट संख्या बढाएर धेरैभन्दा धेरै जनशक्ति उत्पादन गर्न मेरो जोड हुनेछ । प्रतिष्ठान कार्यालय र मातहतका क्षेत्रीय अस्पतालका भवन समेत जीर्ण र साँघुरा छन्, भवन निर्माण पनि प्राथमिकताको विषय हो । शिक्षण अस्पताल चलाउन त्यसैअनुसार भवन चाहिन्छ । अहिलेको अस्पतालको भवन पनि रेट्रोफिटिङ भइरहेको छ । हामीसँग आवश्यक जग्गा छ । हस्पिटल चोकको बाहेक सिम्पानीमा पनि जग्गा छ । तर, हामीसँगको भौतिक संरचना कमजोर छ । भवन निर्माण प्रतिष्ठानका लागि अति नै आवश्यक पक्ष हो ।

अस्पतालमा मुटु रोगको उपचारका लागि क्याथ ल्याब सञ्चालन चाँडै हुन्छ होला । डायलासिस सेवासमेत अझ विस्तार गर्ने योजना छ । केही संरचना बन्दै छन्, ती भवनमा सेवा सञ्चालन भएपछि २ सय बेड सञ्चालन गर्न सकिने अवस्था छ । कार्यकालको अन्त्यतिर भएपनि मिर्गाैला प्रत्यारोपण सुरु गर्ने योजना बनाएको छु । सबैको साथ सहयोगबाट सफल हुने विश्वास लिएको छु ।

पोखरा र आसपासमा क्यान्सर अस्पताल छैन । यस क्षेत्रबाट क्यान्सरका बिरामी भरतपुर र भक्तपुर जानुपर्ने बाध्यता छ । त्यसको अन्त्य गर्न प्रदेश सरकारसँग समन्वय गरी काम गर्ने योजना छ ।

प्रतिष्ठान र मातहतको अस्पतालमा कर्मचारी व्यवस्थापनमा पनि मेरो ध्यान केन्द्रित हुनेछ । अस्थायी कर्मचारीलाई पदपूर्ति समितिमार्फत स्थायी गर्ने प्रक्रिया अघि बढाउँछु ।

प्रतिष्ठान मातहतको क्षेत्रीय अस्पताललाई सहज र सुव्यवस्थित गर्न सकियो भने जनमुखी हुन्छ । जनतालाई राहत हुने गरी क्षेत्रीय अस्पतालको स्तरोन्नती प्रतिष्ठानको सफलतामा पर्छ । मेरो कार्यकालमा क्षेत्रीय अस्पताललाई टिचिङ अस्पताल नै हो भन्ने बनाउने लक्ष्य छ । सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छु ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ