२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘डाक्टर, नर्स र पारामेडिक्सहरुका लागि अहिले धर्म युद्धको समय हो’

‘डाक्टर, नर्स र पारामेडिक्सहरुका लागि अहिले धर्म युद्धको समय हो’


डा. ज्ञानेन्द्रमान सिंह कार्की वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ एवं विराट मेडिकल कलेजका अध्यक्ष हुन् । अहिले कोभिड–१९ को दोस्रो लहर बढेसँगै देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा छ । अस्पतालहरु कोरोना संक्रमित बिरामीहरुले भरिभराउ छन् । संक्रमितहरु अक्सिजनलाई अक्सिजनको अभाव छ । महामारीको यो अवस्थामा प्रदेश १ को औधोगिक नगरी विराटनगरमा उनको अध्यक्षतामा रहेको विराट मेडिकल कलेजले कोभिड–१९ का बिरामीको अहोरात्र खटिएर उपचार गरिरहेको छ । कोभिड–१९ को दोस्रो लहर, संक्रमितमा देखिने जटिलतालगायतका यावत विषयमा केन्द्रित रहेर हेल्थआवाजले डा. कार्कीसँग गरेको कुराकानीः

काठमाडौंमा अहिले अस्पतालहरु कोभिड–१९ का बिरामीहरुले भरिभराउ छन् । प्रदेश १ को अवस्था कस्तो छ ?
अहिलेसम्म हामीले कोभिड–१९ अस्पतालहरुमा अक्सिजनको कमी हुन दिएका छैनौं । भाग्यवश विराटनगरमा एकैपटक तीन वटा अक्सिजन प्लान्ट खुलेको थियो । जे होस् उनीहरुको प्रतिस्पर्धाको उपजले यहाँ अक्सिजनमा हामीलाई राहत मिलेको छ । ती प्लान्ट खोल्नेहरुलाई धन्यवाद छ । राज्यलाई मेरो अनुरोध छ कि अहोरात्र खट्ने उनीहरुलाई आवश्यक सहुलियत मिलोस् । त्यहाँ विद्युतको प्रमुख अभाव छ, जसको सुविधाको लागि सरकारको मद्दत होस् । हामी त्यहीं चाहन्छौं ।

विराटले पहिलो लहर आउँदा पनि चुस्तदुरुस्त भएर काम गरेको थियो । अहिले पनि सबैभन्दा बढी पूर्वका कोभिडका बिरामीको उपचार त्यही राखेर भइरहेको छ । त्यो गर्न के पूर्वतयारी गरिएको थियो ?
सुरुको अवस्थामा कोरोना संक्रमणले म आफैं ढले । त्यसबेला हामीसँग ज्ञान शुन्य थियो । हाम्रा अन्य विज्ञ पनि त्यस समय अनविज्ञ नै थिए । त्यो समय हाम्रो कुनै तयारी थिएन । त्यसपछि म विस्तारै ठिक भएपछि हामीले कसरी यसको सामना गर्ने भनेर दिन रात खट्यौं । त्यो अनुभवले गर्दा हामीले ६० शैय्याबाट सुरु गरेर २ सयसम्म पु¥यायौ । हामीले त्यस समयमा नै अझै दोस्रो, तेस्रो र चौथो लहर आउन सक्छ भन्ने लागेर पूरा नभएपनि अर्ध तयारीमा थियौं । अहिले हामीले ३ सयसम्म शैय्याको अस्पताल खोलेका छौँ । हाम्रो ६० वटा आईसीयु छ, सम्पूर्ण टिमको मेहनतले यो सम्भव भएको हो । हामीमा अहिले कोरोना बिरामी उपचार गर्ने क्षमता छ ।

यति गर्दा राज्यले सहयोग गरेन र अक्सिजन आपूर्ति भएन भने मात्रै अहिले गरिरहेको उपचार पनि कोल्याप्स हुने डर छ । अहिले हामीलाई भेन्टिलेटर र मोनिटरको जरुरत छ । त्यसैले कुनै पनि स्वास्थ्य संस्थाहरुसँग भेन्टिलेटरजस्ता सामान छ भने हामीलाई दिएर मद्दत गर्नुहोस्, हामी फर्काउछौ भनेर म अनुरोध गर्न चाहन्छु ।

नेपाल सरकार, प्रदेश र स्थानीय सरकारबाट यो बेला कस्तो सहयोग छ ? कसरी समन्वय भइरहेको छ ?
देश धेरै वर्षदेखि जटिल अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक खिचातानीले विकासका कामहरु रोकिएका छन् । यहाँ राज्यलाई नै थाहा छैन को शत्रु को मित्र भनेर । तर, यो समय भनेको अरुलाई दोष लगाउने होइन्, अहिलेको समय भनेको सबैजना मिलेर एकजुट भएर आफ्नो राष्ट्रका नागरिकहरुलाई बचाउनका लागि काम गर्ने हो । अहिले आफू कसरी समर्पित भएर देशलाई बचाउने भन्ने कुरामा लाग्नु पर्छ । हाम्रो सन्ततीलाई आँखामा आँखा जुधाएर महामारीको बेलामा हामीले यसरी लडेका थियौं भनेर भन्न सक्नुपर्छ भन्ने नै मेरो इच्छा हो ।

जहाँसम्म सरकारको कुरा छ, प्रदेश सरकार आफै पनि त्यति बलियो छैन । तरपनि हामीलाई सक्दो सहयोग गरिरहेको छ । हामीसँग कोरोना नियन्त्रण र रोकथामबारे पटक–पटक बैठक पनि भैरहेको छ । पहिला हामी सबै अनविज्ञ थियौं । अहिले विज्ञहरु तयार हुँदै गए । तर, विज्ञहरुले हामीलाई दोस्रो लहरको बारे सुझाव दिनुपर्ने थियो तर छाडातन्त्र भयो । हामी पनि अलिकति कोरोना संक्रमण कम हुने बितिकै भोजभतेरतिर लाग्यौं । हिजोको कुरा जे भयो अब भोलि के हुन्छ भन्ने कुरामा लागौं । म सरकार, आमसमुदायमा नहुनु भयो, अब डटेर लाग्न आग्रह गर्दछु ।

व्यक्ति र समाजले कोभिड–१९ विरुद्धको यो लडाइमा के कस्ता भूमिका निर्वाह गर्नुपर्ला ?
आमसंचारले सकारात्मक भावना प्रवाह गर्नुपर्यो । दोस्रो लहरको भाइरस अत्यन्त दुष्ट छ । कोरोनाको थोरै लक्षण छ भनेर घरमा नै उपचार नगरी नबसौं । अहिले अस्पतालमा शैय्याको अभाव छ तर घरमा बस्नुभन्दा अस्पताल आएर डाक्टरसँग सल्लाह लिन सकिन्छ । शैय्या चाहिन्छ भने पहिला नै अस्पताल भर्ना हुने प्रयास गर्नुपर्यो ।

सामाजिक सन्जालबाट पनि यस समय के प्रवाह गर्नुपर्छ भने कोभिड अक्सिजन र रेम्डेसिभिर नै कोरोनाको प्रमुख उपचार होइन्, यो त सबैलाई रोगलाग्दा दिइने आवश्यक उपचार हो । शरीरमा डीजल्भ गर्ने क्षमता भएमात्र अक्सिजनको काम हुन्छ । अक्सिजनमा कार्वनडाइअक्साइडको असरभन्दा कडा हुन्छ । हाम्रो निगरानीमा जसलाई साँच्चै अभाव छ, ती व्यक्तिलाई अक्सिजनले काम गर्छ । त्यसैले म सबैलाई प्यानिक नहुन अनुरोध गर्छु । अहिले विद्यमान अक्सिजन उत्पादन गर्ने कम्पनी लागिरहेका छन् । भारतको प्रभावले हामीले अहिले कोरोनाको दोस्रो लहरको सामना गर्नु परेको छ ।

अहिले सबैमा मृत्युको भय, त्रास छ । जीवन छ त मृत्यु छ । एकदिन सबैले यो नासवान शरीर छाड्नु पर्छ । मृत्यु अनिवार्य छ । यो मुक्ति पनि हो । हामीले अलिकति धर्मशास्त्रतर्फ पनि मनन गर्ने बेला आएको छ । जति भय मृत्युको हुन्छ, त्यति हामी दुष्कर्म गर्न थाल्छौं । फलस्वरूप अक्सिजन लुकाएर राख्न थाले जसले गर्दा चाहिने बिरामीका लागि कृतिम अभाव हुन्छ । अहिले नेपालमा २६ सय अक्सिजन छैन रे । सबैले यसरी लुकाए भने नेपालमा केही वर्षपछि सिलिण्डर नै रहँदैन् । कोरोनाबाट मृत्यु अहिले १ प्रतिशतभन्दा बढी छैन । त्यसैले आतिन हुँदैन्, उपचार भए मृत्युको दर कम हुन्छ । सकरात्मक सोच र धैर्य राख्नुप¥यो ।

यो महामारीमा धेरै स्वास्थ्यकर्मीहरुले जागिर छाडे भन्ने कुरा पनि सुनियो नि ?
अर्को कुरा भनेको स्वास्थ्य संस्था अहिले निकै कमजोर छन् । जनशक्ति, उपचारका स्रोत र साधन कम छन् । पहिला डाक्टर नर्स अस्पतालमा बढी भए भन्नेहरुलाई अब जबाफ दिने बेला आएको छ । हिजो वकालत गर्नेहरु जो मन्त्रीदेखि डाक्टरसमेत लागेका थए । कहाँ गए, यो महामारीमा त्यो बेलाको खोक्रा भाषण ?

अब जति डाक्टर छन्, त्यो भन्दा बढी जनशक्ति चाहिन्छ । डाक्टर, प्यारामेडिकलको उत्पादन बढाउनु प¥यो । जसले डाक्टर पढे उनीहरुलाई हार्दिक अनुरोध गर्छु, सिकेको सिप तपाई उपचारमा लगाउनुहोस् । मैले धेरैले जागिर छोडेको कुरा सुनेको छु । जागिर नछोड्नुस्, लुकेर नबसौं, यो धर्मयुद्ध हो । अहिले आफ्नो सिप देखाउनुहोस् । डरले घरमै नबस्नुस्, घरमा पनि तपाई सुरक्षित हुनुहुन्न । धेरैले जागिर छोडे भने उपचारको स्रोत र साधन भएर पनि अर्थ हुँदैन् । एउटा सिस्टरले काम छाड्ने बितिकै अर्को सहकर्मी जो हिम्मत गरेर लडाई लडिरहेका छन्, उनीहरुलाई लोड बढ्छ । डाक्टर, नर्स पढाउने अभिभावकले पनि आफ्ना बच्चाहरुलाई युद्ध हो, लडाइ लड्नपर्छ भनेर पठाउनु जरुरी छ । आजको समाजको लागि यो जरुरी छ ।

भिडियो हेर्नुहोस्

मेडिकलका विद्यार्थीको पढाइदेखि सबै रोकिएको छ । यस्तो समयमा घरमा बस्दा कस्तो जीवनशैली अपनाउन उपयुक्त हुन्छ ?
सबै मेडिकल कलेज बन्द छैनन् । विराट अस्पतालको संचालकको नाताले म गर्व गर्छु । अहिले यस्तो अवस्थामा पनि शतप्रतिशत विद्यार्थी इन्टर्नसीप गरिरहेका छन् । दोस्रो र तेस्रो वर्ष अनलाइनबाट दैनिक कक्षा संचालन भैरहेको छ र प्राक्टिकल पछि गराउने भएका छौं ।

मेडिकल लाइनका मात्र होइन्, सम्पूर्ण स्कुल कलेजका विद्यार्थीहरुले घरमा नै अनलाइन कक्षाबाट पढ्नुपर्दछ । सरकारले निर्देशनानुसार सबैजना घरमा बसिदिने, सबैसंग कुरा गर्नुहोस् । तर, भौतिक उपस्थिती नजनाउनुहोस् । सरकार पनि यसमा कडा रुपले प्रस्तुत हुनुपर्दछ । त्यसैले म सरकारलाई के अनुरोध गर्छु भने अहिले पनि भैरहेको भोज भतेरलाई रोक लगाउनुपर्छ र लकडाउनलाई कडाइ गर्नुपर्छ ।

अहिले कोरोना संक्रमणको जोखिमका कारण समयमा नै सेवा नपाउने भएकाले गर्भवती महिला र बच्चालाई जोखिम हुनसक्छ । तपाई स्त्री तथा विशेषज्ञ भएको नाताले के सुझाव दिन चाहनुहुन्छ ?
गर्ववती महिला आतिनु पर्दैन । गर्भवती महिलामा यसको संक्रमण अरुलाई भन्दा अलि कम हुन्छ बच्चामा पनि भर्टिकल ट्रान्समिसन हुँदैन । आइरन चक्की, भिटामिन खानुहोस् । नियमित रुपमा मास्क लगाउने, आवश्यक परे मात्र अस्पताल जाने गर्नुपर्छ । अर्को भनेको गर्ववतीलाई कोरोना लागेमा हामी पूर्वमा भएका महिलाहरुको लागि शैय्या भएसम्म राम्रो रेखदेखमा उपचार गर्छौं । यदि अप्रेशन गर्न परेमा पनि आरामले हामी गर्छौं । तर, हामी कोभिडको नाममा उपचारबाट बन्चित गराउँदैनौं . । हामी कुनै पनि गर्ववती महिलालाई प्यानिक नहुन अनुरोध गर्छौं ।

अहिले गर्भवती मात्र होइन्, सबैलाई एकै नियम लागु हुन्छ । समयमा नै अन्य उपचारसँगै हामी कोरोना उपचारका लागि पनि सक्षम छौं ।
म के भन्न चाहान्छु भने अक्सिजन मात्रै कोरोनाको उपचार छैन । त्यस्तै, रेम्डेसिभिरको लागि पूरा दुनियाँ लागेको छ । उनीहरुलाई के भन्न चाहन्छु भने यो पाए ठिकै छ । नपाए पनि उपचारमा कुनै कमी रहँदैन्, सबैभन्दा आवश्यक औषधी भनेको एन्टिकाेभिलेन्ट र अर्को स्टोराेएड  जसले बिरामीलाई बचाउँछ । त्यसैले प्यानिक नहुनु यो औषधी ल्याउने प्रयास सरकारले गरिरहेको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई यतिबेला तपाईंको सहानुभूति, प्रेम सद्भावको आवश्यक छ । यतिबेला स्वास्थ्यकर्मीलाई यी कुराको अत्यन्त आवश्यक छ । स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगरौं । आफ्ना वरिपरीका स्वास्थ्यकर्मीलाई आफ्नो भाव पोख्नुहोस् । सेवाको लागि धन्यवाद प्रकट गर्नुहोस् । इज्जत दिनुहोस्, जसले काम गर्न झन हौसला मिलोस् । प्रत्येक स्वास्थ्यकर्मीले त्यही चाहन्छन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ