२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारयसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

भन्छन्, 'लोभले मानिसलाई खतम पार्छ'


काठमाडौं—डा. मृगेन्द्रराज पाण्डे ९२ वर्षको उकालो हिडिरहेका छन् । नेपालको चिकित्सा जगतका ज्यूदो इतिहास डा. पाण्डे त्यस्ता चिकित्सक हुन्, जसले राजादेखि मुलुकका प्रमुख नेताहरुसम्मको उपचार गरे । कलकत्ता मेडिकल कलेजबाट एमबीबीएस गरेका उनी बेलायतको रोयल कलेज अफ फिजिसियनबाट पिजी गर्ने सम्भवतः पहिलो नेपाली हुन् ।

नेपाली चिकित्सा क्षेत्रसँगै उनको योगदान अनुसन्धानका क्षेत्रमा पनि उल्लेखनीय छ । देशकै स्वास्थ्यको एकमात्र प्रमुख अनुसन्धान निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को जग बसाउने कामको अगुवाई उनले नै गरेका हुन् । त्यहीकारण पहिलो कार्यकाल कार्यकारी अध्यक्ष रहेका डा. पाण्डे त्यसपछि परिषद्को मानार्थ सदस्यका रुपमा निरन्तर स्वास्थ्य अनुसन्धान क्षेत्र उनन्यमा सक्रिय छन् ।

एनएचआरसीले स्थापना भएको २९ चैतमा ३१ वर्ष पुगेको छ । केही वर्षदेखि परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन पनि गर्दै आएको छ । यसपटक एनएचआरसीले ८ औं जनसंख्या तथा वैज्ञानिक सम्मेलन २७, २८ र २९ चैतमा गर्दैछ । यही छेको पारेर हेल्थआवाज परिषद्को स्थापनाका अन्तरकुन्तर खोतल्ने प्रयास गरेको छ ।

कुरा, वि.सं. २०४७ सालको हो । जनआन्दोलनपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । त्यही बेला डा. पाण्डेलाई स्वास्थ्य सचिवको अफर आएको थियो । तर, उनलाई त्यो मन परेन । किनभने, उनले आफू कर्मचारी प्रशासनमा फिट नहुने ठाने । त्यही कारण उनी केही फरक गर्न चाहन्थे ।

‘आई वान्ट टु डु समथिङ न्यू’, हालैको एक साँझ परिषद्को स्थापना किस्सा खोल्दै उनले सुनाए, ‘त्यो बेला रिसर्च काउन्सिल भन्ने थिएन ।’ त्यही कारण उनमा रिसर्च काउन्सिल स्थापना गर्ने भावना जागृत भएको थियो । डा. पाण्डेले प्रधानमन्त्री भट्टराई जेलमा हुँदा उनको राम्रै सेवा गरेका थिए । राजपरिवारका चिकित्सक भएपनि एउटा डाक्टरका लागि सबै बिरामीको स्वास्थ्य उत्तिकै महत्वपूर्ण हुन्छ । उनले जीवनभर त्यही सिद्धान्तमा काम गरे ।

‘स्वास्थ्य सचिव ठूलो पोष्ट थियो । मलाई रिसर्चको काउन्सिल नै छैन नेपालमा रिसर्च गर्नुपर्छ भन्ने लाग्यो । त्यो कुराले छटपटी नै भयो,’ उनले भने, ‘मैले आफू डाक्टर नै भइरहेको बेला सुन्दरीजलमा विपी, कृष्ण भट्टराईलगायत धेरैलाई उपचार गरेको थिए । एउटा डाक्टरका रुपमा वेष्ट टिटमेन्ट दिएको थिए ।’ त्यही कारण भट्टराईसँग उनको सम्बन्ध सुमधुर थियो ।

सचिवको हुनुको सट्टा स्वास्थ्य अनुसन्धान स्वायत्त निकाय बनाउने सपना डा. पाण्डेको थियो । त्यहीका कारण एकदिन एकाविहानै उनी प्रधानमन्त्री भट्टराईलाई भेट्न गए ।
भट्टराईले निजी सचिवालयका मान्छेले सोधे, ‘किन आउनुभयो डा. साब ।’
डा.मृगेन्द्रले जवाफ दिए, ‘जरुरी काम परेको छ, प्रधानमन्त्रीलाई भेट्नुप¥यो ।’
डा. पाण्डे आएको थाहा पाएपछि भट्टराई बोलाइहाले । देख्ने बितिकै सोधे, ‘डाक्टर साब कहिल्यै नआउने मान्छे आज कताबाट विहानै आइपुग्नुभयो ?’
‘हजुर व्यस्त हुनुहुन्छ भनेर आफै आए । मलाई सेक्रेटरी बनाउन लागे, मार प¥यो ।’
‘के भयो त ? सेक्रेटरी बनाउने कुरा त राम्रो भयो नि ?’ भट्टराईले भने, ‘सेक्रेटरी बनाइदिनुप¥यो भनेर म कहाँ कति जना आइराख्या छन् । तपाईंलाई के मार प¥यो र लिनुस् न ।’

डा. मृगेन्द्रले जवाफ दिए, ‘होइन । हजुरलाई मेरो नेचर थाहा छ । म आफ्नै ठाउँमा बस्न रुचाउँछु । सचिवमा यताउता गर्नुपर्छ, त्यसमा फिट हुन सक्दिनँ । बरु, नेपालमा अहिलेसम्म रिसर्चको केही पनि भएको छैन । त्यसैले म रिसर्च काउन्सिल बनाउन चाहन्छु । हजुरले सहयोग गर्दिनुप¥यो ।’

हुनत, एनएचआरसी जग मानिने नेपाल हेल्थ रिसर्च कमिटी २०३९ सालदेखि नै काम गरिरहेको थियो । जसको नेतृत्व स्वास्थ्य सचिवले गर्थे । त्यसको मन्त्रालयकै एउटा कोठामा कार्यलय थियो भने स्वायत्त अधिकार समेत थिएन् । डा. पाण्डे पनि त्यसको भाइटल पोष्टमै थिए । तर, त्यसका सिमित अधिकारहरु थिए । जसका कारण उनी त्यसबाट सन्तुष्ट हुन सकेका थिएनन् । उनी पूर्ण स्वायत्ततासहितको काउन्सिल स्थापनाका लागि त्यसैले प्रधानमन्त्री कहाँ पुगेका थिए ।

डा. पाण्डेको प्रस्ताव प्रधानमन्त्री भट्टराईलाई मन प¥यो । उनले तत्कालै यसको प्रक्रिया अगाडि बढाए । त्यो बेला प्रधानमन्त्रीलाई ऐन बनाउने अधिकारसमेत दिइएको थियो । जसका कारण काम द्रुत गतिमा अगाडि बढ्यो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ जारी भयो । ऐनको परिकल्पनाअनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) गठनका भयो । डा. मृगेन्द्र पहिलो कार्यकारी अध्यक्ष भए ।

ऐन आएर एनएचआरसी बनेपछि स्वास्थ्य अनुसन्धानका कामहरु स्वतन्त्र रुपमा अगाडि बढे । तत्कालीन समयमा थोरै बजेट र कम जनशक्तिका बाबजुद पनि अनुसन्धान परिषद् संगठित र व्यवस्थित रुपमा अनुसन्धानका कामहरु अगाडि बढाउन थाल्यो । ट्यान्लेन्टहरुलाई अह्राएर अनुसन्धान गरेर जनतालाई फाइदा पुग्ने अनुसन्धान गर्ने गरी कामहरु ऋगाडि बढाइयो । ‘स्वायत्त बनेपछि फूल फेलेजमा काम गर्न पाइयो । अनुसन्धानले एउटा गति लियो,’ डा. पाण्डे सम्झन्छन् । ऐन नै बनेर स्वायत्त परिषद्का रुपमा अनुसन्धान परिषद्को गठन हुनु नै स्वास्थ्य अनुसन्धानका क्षेत्रमा ठूलो क्रान्ति भएको उनको धारणा छ ।

डा. मृगेन्द्रले परिषद्को पहिलो कार्यकालमै काउन्सिलको आफ्नै भवन निर्माण अगाडि बढाए । अहिले स्वास्थ्य अनुसन्धान परिषद् रहेको घर उनकै पालामा बनेको हो । ‘त्यसबेलामा हामीले त्यो भवन ४० लाखमा बनाएका हौं,’ उनी भन्छन्, ‘सुरुमा ४० लाखमा दुई तला बनेको थियो । अहिले थपथाप भयो ।’

एक कार्यलकाभन्दा बढी एनएचआरसीको कार्यकारी नेतृत्वमा नबसेका पाण्डे परिषद्ले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा मार्दै गएको फड्कोबाट सन्तुष्ट छन् । ‘धेरै राम्रा—राम्रा अनुसन्धानहरु भएका छन्,’ उनी गर्वित देखिन्छन्, ‘रिसर्चको क्षमता दिनप्रतिदिन बढ्दैं गएर राम्रो फर्ममा अनुसन्धान परिषद् आएको छ । एउटा संरचनामा आएर राम्रो काम भइरहेको छ ।’ उनकाअनुसार अनुसन्धान परिषद्ले अन्तर्राष्ट्रियस्तरमै पहिचान दिनसक्ने पनि प्रशस्त अनुसन्धानहरु सम्पन्न गरिसकेको छ । एकपछि अर्को राम्रा अनुसन्धानहरु भइरहेकामा उनी खुसी छन् । अहिले नेपालको स्रोत साधनअनुसार अनुसन्धान ट्रेण्ड सकारात्मक दिशामा गइरहेको उनको मत छ ।

कोभिड—१९ मा एनएचआरीले निभाएको भूमिकालाई पनि उनले नजिकबाट हेरिरहेका छन् । ‘अहिलेको टिमले निकै राम्रो गरिरहेका छन्,’ उनले भने, ‘म सबै बैठकमा फोनबाटै भएपछि संलग्न छु । अहिलेको सिंगो कमिटीले नै राम्रो काम गरिरहेको छ ।’ पहिलेको तुलनामा बजेटमा वृद्धि, अनुसन्धानमा युवाहरुको संलग्नताजस्ता कारणहरुले पनि यो क्षेत्र राम्रो बन्दैं गएको उनको निष्कर्ष छ । सरकारी निकायहरुमा अति राजनीतिक प्रभाव र हस्तक्षेपहरु काममा पार्ने प्रभावप्रति उनी चिन्तित छन् ।

भविष्यमा एनएचआरसीलाई थप प्रभावकारी रुपमा अगाडि लैजान डेडिकेटेड, संस्था बनाउँछु भनेर लाग्ने क्षमतावान मान्छेहरु राख्नुपर्ने उनी बताउँछन् । ‘उनीहरुलाई तालिमको अवसर दिनुपर्छ, काम गर्ने वातावरण र स्रोतहरुको व्यवस्था गर्नुपर्ने रहेछ,’ उनले भने ।

मानार्थ अध्यक्षको कथा

डा. पाण्डे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का संस्थापक कार्यकारी अध्यक्ष रहे । त्यसपछि उनले कहिल्यै पनि संस्थाको कार्यकारी पदको लोभ गरेनन् । त्यही कारण पनि एनएचआरसीमा सदैव उनको स्थान सम्मानजनक छ ।

संस्थापक अध्यक्ष भएका उनी अर्को कार्यकाल दोहोरिएनन् । ‘त्यही बेला एकजना अर्का डाक्टर साबलाई अध्यक्ष हुन मन लाग्यो,’ उनले सुनाए, ‘हामी मिलेर गरौं । मलाई अध्यक्षका लागि सहयोग गर्नुप¥यो भन्नुभयो । मैले उहाँलाई सहयोग गरे ।’ डा. पाण्डेलाई त्यही बेलादेखि एनएचआरसीको ‘अनररी चेयरम्यान’ बनाइएको हो ।

त्यतिबेला स्वास्थ्य सचिवले डा. पाण्डेलाई अनररी पदमा पावर हुँदैन भनेर कार्यकारी अध्यक्ष नै हुन आग्रह नगरेका होइनन् । तर, उनले आफू नदोहोरिने बरु मानार्थ अध्यक्षका रुपमा परिषद्लाई सहयोग गर्न अडान लिए । त्यतिबेलादेखि अहिलेसम्म पनि निरनतर डा. पाण्डे परिषद्को मानार्थ अध्यक्षका रुपमा छन् । भन्छन्, ‘मलाई त्यो डिसिजन राम्रो गरेछुजस्तो लागिरहेको छ । किनभने, आफैले जन्माएको संस्थामा अहिलेसम्म सम्मान पाएकै छु । काम पनि नजिकबाट हेर्ने मौका पाएको छु ।’

कार्यकारी अध्यक्ष सरकार फेरिएपिच्छे आउने—जाने चलिरहन्छ । तर, डा. पाण्डे मानार्थ अध्यक्षका रुपमा रहिरहेका छन् । ‘लोभ गर्नु हुँदैन् । लोभले मानिसलाई खतम पार्छ,’ उनले भने, ‘अहिले धेरै कार्यकारी अध्यक्ष फेरिसके । म त त्यही छु । मेरो पावर नभएपनि सम्मान पाएको छु ।’ उनको बानी बोल्दै नबोल्ने र बोलिसकेपछि सत्य कुरा बोल्ने छ । त्यही कारण परिषद्का पदाधिकारी पनि उनले बोलेका कुरा प्रायः काट्दैनन् । मिसयुज गर्नु छैन भने पावरको कुनै महत्व नहुने उनको बुझाइ छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ