२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारपरिषद्का सदस्य सचिव भन्छन्, ‘क्लिनिकल अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेछ’

परिषद्का सदस्य सचिव भन्छन्, ‘क्लिनिकल अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेछ’


डा. प्रमोद जोशी नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव हुन् । परिषद्को सदस्य सचिव कार्यकारी हुन्छ । झण्डै एक महिनाअघि मात्रै परिषद्को नेतृत्व गर्न आइपुगेका युवा चिकित्सक डा. जोशीमाथि नेपालको स्वास्थ्य अनुसन्धानलाई व्यवस्थित गर्ने र यसलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउने जिम्मेवारी छ ।

पेशाले अर्थोपेडिक्स सर्जन रहेका डा. जोशीसँग राष्ट्रिय ट्रमा सेन्टर र गेटा अस्पतालको व्यवस्थापन सम्हालेको अनुभव छ । आसन्न दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन, उनले भविष्यमा परिषद्मा रहेर गर्ने कार्यलगायतका यावत विषयमा केन्द्रीत रहेर हेल्थआवाजले डा. जोशीसँग गरेको कुराकानीः

एनएचआरसीको कार्यभार सम्हालेको एक महिना बितेको छ । परिषद्मा वातावरण कस्तो पाउनुभयो ?
म यहाँ आएपछि यहाँ केही प्राथमिकताका विषयहरु बाँकी रहेको पाए । कर्मचारीको व्यवस्थापन उचित प्राथमिकतामै रहन्छ भन्ने कुरालाई जोड दिन चाहन्छु । यसैका सन्दर्भमा विगतका दिनहरुमा केही समस्या पनि देखा परेका रहेछन् । त्यही भएर कर्मचारीको उचित व्यवस्थापनमा हामीले पहल गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

अर्को, लामो समयदेखि रोकिएर बसेका पब्लिकेसनहरु नियमित गर्नुपर्नेछ । अनुसन्धान परिषद्ले भएकाले यो हाम्रो नियमित काम नै हो । तर, केही पब्लिकेसनहरु रोकिएका रहेछन्, तिनलाई सुचारु गर्नुपर्नेछ । अनुसन्धान र तालिम पनि नियमित र निर्धारित रुपमा सम्पन्न नभएकाले त्यसलाई पनि नियमित र निर्धारित समयमै सम्पन्न गर्ने गरी काम गर्नुपर्नेछ ।

आगामी वर्षमा पनि वार्षिक कार्यतालिका (एक्सन प्लान) नै बनाएर यसलाई अगाडि लैजानुपर्छ भन्ने मलाई लागेको छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा पनि हामीले सहकार्य अगाडि बढाएर थप बलियो बनाउने उद्देश्यका साथ अगाडि बढ्नेछौं । परिषद्मा दक्ष जनशक्तिको पनि अभाव रहेछ । दक्ष जनशक्तिसँगै क्षमता र लगानीलाई पनि वृद्धि गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।

अहिले के मा व्यस्त हुनुहुन्छ ?
अबको चार दिनमै हामी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं शिखर सम्मेलनमा गर्दैछौं । हामीले यो पटक अलि नयाँ ढंगले नयाँ प्रस्तुतीका साथ यसको तयारीमा अगाडि बढिरहेका छौं ।

सम्मेलनको तयारी कुन चरणमा पुगेको छ ?
हामीले अहिलेसम्मको सम्मेलनबाट पाठ सिक्दै यो पटकको सम्मेलन अलि वृहत र अलग ढंगबाट अगाडि बढाउन खोजिरहेका छौं । यही शिलशिलामा हामीले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका वैज्ञानिकहरु विशेषज्ञहरुलाई निम्त्याएका छौं । त्यही कारण यसको स्ट्याण्डर्डसमेत मेन्टेन गर्नका लागि व्यवस्थित र सजिलो ठाउँ ह्यात होटेलमा सम्मेलन सञ्चालन गर्न लागिरहेका छौं ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुलाई निमन्त्रणा दिइसकेका छौं । उहाँहरु आउन तयार हुनुहुन्छ । संसारमा नै नाम कहलिएका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले यस पटक प्रस्तुत गर्नु हुनेछ । यो हाम्रा लागि गरिमाको विषय हो । सम्माननीय राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । झण्डै १ हजार सहभागीको आँकलन गरेर सोहीअनुसारको तयारी भइरहेको छ । नीतिगत कुरामा छलफलका लागि कि नोट स्पीकरहरु, बेलायत, स्वीटजरल्याण्ड, अस्ट्रेलिया, भारतबाट दिग्गज व्यक्तिहरु आउँदैं हुनुहुन्छ ।

३ सय २८ वटा कार्यपत्रहरुको आवेदन परेको छ । मौखिक प्रस्तुती नै ७० वटा हुन्छन् । पोष्टर सोभन्दा धेरै हुन्छन् । यस पटक नयाँ स्वास्थ्य पत्रकारिता अनुसन्धान एवार्डका लागि कार्यविधी तयार गरिसकेका छौं । यस पटक समय कम भएका कारण दिन नपाइने भयो । अर्को, वर्षदेखि नियमित हुन्छ । त्यस्तै यस कार्यलयमा २५ वर्ष काम गरेका कर्मचारीलाई हौसला प्रदान गर्न दीर्घ सेवा पदकबाट सम्मानित गर्दैछौ ।

दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकका उद्देश्यहरु के छन् ?
यस्ता सम्मेलनबाट केही न केही नतिजा प्राप्त हुनुपर्ने हुन्छ । दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन मुख्य उद्देश्य भनेकै अनुसन्धानकर्ता, नीति–निर्माता, विकास साझेदार संघसंस्थाहरुसँग सामूहिक जमघट गरेर त्यसबाट एउटा निष्कर्ष निकाल्ने र त्यो निष्कर्ष नीति–निर्माताहरुलाई जानकारी गराएर समयसापेक्ष स्वास्थ्य नीति निर्माण अहम भूमिका खेल्ने हो । सम्मेलनबाट प्राप्त निचोडलाई नीति– निर्माताहरुसँग पैरवी गर्छौ । जसले देशलाई सही नीतिमा अगाडि बढाउन भूमिका खेलोस् ।

सम्मेलनले स्वास्थ्य तथा जनसंख्याको क्षेत्रमा कस्तो परिवर्तन ल्याउला भन्ने अपेक्षा गर्न सकिन्छ ?
यस्ता सम्मेलन भनेकै नीति निर्माणको क्षेत्रमा एउटा सही दिशा दिने हेतुले गरिने हो । यसले भइरहेका नीति, नियम, रणनीति र कार्ययोजनाको छलफल गरी राज्यले आगामी दिनमा तय गर्नुपर्ने नीति र रणनीतिको सुझाव दिन्छ । सम्मेलनबाट आएका विषयवस्तुलाई प्राथमिकीकरण गरेर सरकारलाई बुझाउँछौं र सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटबाट ती कुरा सम्बोधन गर्न सहज हुन्छ ।

परिषद्ले नीतिगत तहमा छलफल गर्ने कस्ता–कस्ता एजेण्डा तयार पारेको छ ?
सन् २०३० सम्म राज्यले हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य (एसडिजी)का स्वास्थ्यका सूचांककहरुको हालसम्मको उपलब्धिमाथि छलफल गर्छौ । स्वास्थ्य अनुसन्धान प्रणाली, स्वास्थ्य अर्थशास्त्रका विषयवस्तुहरु, सर्ने तथा नसर्ने रोगहरु, जलवायु प्रदुषण र त्यसले स्वास्थ्यमा पारिरहेको असरबारेका बहस हुन्छन् । त्यसैगरी, सुरक्षित मातृत्वको अधिकारको बहससँगै क्लिनिकल ट्रायललाई कसरी अन्तर्राष्ट्रियस्तरको बनाउन सकिन्छ भन्ने कुराको बहस गर्दैछौं ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालमा अनुसन्धान क्षेत्रले सोचेजस्तो काम गर्न नसकेको भन्न सकिन्छ ?
दिगो विकास लक्ष्य प्राप्तिको विषय बहुक्षेत्रीय विषय हो । यो एउटा स्वास्थ्य क्षेत्रले मात्र पूरा गर्न सक्दैन् । स्वास्थ्यका सूचांककलाई तोकिएको लक्ष्यअनुसार पुर्‍याउन स्वास्थ्य अनुसन्धान परिषद्ले यसको सुरुवाती अवस्थाबाटै उच्च प्राथमिकतामा राख्दै आएको छ । यो सम्मेलनको एउटा मुख्य उद्देश्य पनि दिगो विकास लक्ष्यमा स्वास्थ्यका विषयको तोकिएको लक्ष्यलाई पूरा गर्नमा केन्द्रीत हुने हो ।

सदस्य सचिवका रुपमा डा. प्रमोद जोशीले परिषद्मा यो गर्नुभयो भन्ने छाप छोड्ने गरी केही योजना बनाउनुभएको छ ?
पक्कै पनि सोचेको छु । म आएको एक महिनाभन्दा केही समय बढीमै मैले अघि भनेका कार्यहरु अगाडि बढाउन पहलसमेत सुरु गरिसकेको छु । सर्वप्रथम त कर्मचारीको उचित व्यवस्थापन भन्दैं गर्दा संशोधित बिनियमलाई अगाडि बढाएका छौं । अहिले त्यो स्वास्थ्य मन्त्रालयको कानुन शाखामा पुगेको छ । त्यसलाई यथाशक्य अगाडि बढाएर परिषद्को विधमान संरचना र क्षमतालाई वृद्धि गर्न आवश्यक छ । कर्मचारीको बढुवा तथा स्थानीय नियुक्ति पनि ओझेलमा परेका कारण पनि यसलाई अगाडि बढाउनु अति आवश्यक देखिएको छ ।

अर्को, देश संघीयतामा गइसकेपछि पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् राजधानीमा मात्रै सिमित भएको हुनाले प्रदेशस्तरमा पनि विस्तार गर्नु अति आवश्यक छ । त्यसपछि मात्रै हामीले देशको कुनाकाप्चामा रहेको जति पनि विज्ञहरु छन् र जो चाहिँ यसमा इच्छुक छन् उनीहरुलाई अनुसन्धानमा समेट्न सक्छौं । त्यही कारण प्रदेशस्तरमा पनि यसलाई विस्तार गर्नु अति आवश्यक रहेको छ । अर्को, क्लिनिक रिसर्चको प्रवर्द्धन भएको रहेनछ । क्लिनिकल रिसर्चलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने देखिएको छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ