२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडा. सानुमैया श्रेष्ठ प्रधान भन्छिन्, ‘अण्डा सकिदै गएमा वा बढी उमेर भएको खण्डमा पनि गर्भ नबस्ने हुन्छ’

डा. सानुमैया श्रेष्ठ प्रधान भन्छिन्, ‘अण्डा सकिदै गएमा वा बढी उमेर भएको खण्डमा पनि गर्भ नबस्ने हुन्छ’


डा. सानुमैया श्रेष्ठ प्रधान पेशाले सिनियर गाइनोकोलोजिस्ट तथा इन्फर्टिलिटी स्पेशलालिष्ट हुन् । हाल उनी सातदोबाटोस्थित ‘क्रियटर्स आइभिएफ नेपाल प्राइभेट लिमिटेड’ नामक संस्थामा म्यानेजिङ डाइरेक्टर, स्पेशल कन्सल्ट्यान्ट तथा क्लिनिकल डाइरेक्टरको रुपमा क्रियाशील छन् । उक्त संस्थाले इनफर्टिलिटीको कारण सम्बन्धित विभिन्न आवश्यक इन्भेष्टिगेट गरी आवश्यक सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । डा. प्रधानसँग महिलाहरुमा बाँझोपनको समस्याको कारण, उपचार विधिलगायतका यावत विषयमा केन्द्रित रहेर हेल्थआवाजका लागि सृजना मगरले गरेको कुराकानीः


महिलाहरुमा बाझोपनको समस्या के कारणले देखा पर्दछ?

चिकित्सा क्षेत्रमा सामान्यतयाः इन्फर्टिलिटी भन्नाले कुनै पनि विवाहित दम्पत्तीले विवाह गरेको १ वर्षसम्म परिवार नियोजनका कुनै पनि साधनहरु नअपनाई बच्चाको निम्ति प्रयास गरेको खण्डमा पनि गर्भ नबसेको अवस्था भन्ने बुझिन्छ । वर्तमान समयमा यसलाई अझ इनफर्लिलिटीको सट्टामा सब–फर्टिलिटी भन्न थालिएको छ । इन्फर्टिलिटीभन्दा बाँझोपन बुझिने भएकोले यसलाई प्रजननको क्षमतामा कमी आएको अर्थात् सब–फर्टिलिटी भन्न थालिएको छ । कुनै पनि दम्पत्तीमा सब–फर्टिलिटी के कारणले हुन्छ भनेर जान्नुभन्दा पहिले सर्वप्रथम प्रत्येकले गर्भ कसरी बस्छ भन्ने कुरा थाहा पाउन आवश्यक हुन्छ ।


त्यसो भए कसरी गर्भ बस्छ ?

सामान्यतयाः प्रायजसोमहिलाहरुको महिनावारीको समयचक्र २८ देखि ३० दिनमा हुने गर्दछ । नियमित रुपमा २८ देखि ३० दिनको समयमा महिनावारी हुने महिलाहरुमा १४/१५ दिनमा अण्डा झर्ने अर्थात् ओभुलेसन हुने हुन्छ । त्यसै समयमा श्रीमानको शुक्रकीट पनि राम्रो छ र उक्त समयमा कायम भएको सम्बन्धका कारण अण्डा र शुक्रकीट एक आपसमा मिलेको खण्डमा गर्भ बस्छ । तर, कहिलेकाँही १० देखि १२ दिनमा पनि अण्डा उत्पादन हुने भएकोले गर्भ नबसेका दम्पत्तीलाई महिनावारी भएको १० दिनदेखि नै यौन सम्बन्ध कायम राख्न सल्लाह दिन्छौं । तर, नियमित रुपमा महिनावारी नहुने महिलाहरुमा पनि अण्डा झरेको खण्डमा भने गर्भ बस्छ । कतिपय महिलाहरुले भने आफ्नो गर्भ बसेको कुरा थाहा पाउँछन् भने कतिपयले थाहा नपाउने हुन्छ ।

गर्भ नबस्नुका कारणहरु के—के हुन्छन् ?
अब गर्भ नबस्नुको कारणको विषयमा भन्नुपर्दा पुरुषको हकमा शुक्रकीटमा भएको कमी कमजोरी  हो । यसैगरी महिलाहरुको हकमा भने अण्डा नझरेमा, अण्डा झरेर पनि त्यसको मिलन शुक्रकिटसँग नभएमा, अण्डा पाठेघरसम्म जाने नली जाम भएमा र पाठेघरको भित्री भागमा ट्युमर वा संक्रमण भएको खण्डमा पनि गर्भ नरहने हुन्छ । यसबाहेक, अचेल प्रायजसोः धेरै दम्पत्तीले आफ्नो व्यस्त जीवनशैलीका कारण परिवार योजना ढिलो गर्ने गरेको पाइन्छ । यस विषयमा म के भन्न चाहन्छु भने, प्रत्येक महिलाले यो जान्न आवश्यक छ कि हामी प्रत्येक महिला जन्मिदा हामीले सिमित अण्डाहरुको भण्डार लिएर जन्मिएका हुन्छौं । र, हरेक पटकको महिनावारीमा ती अण्डाहरु सकिदै जाने हुन्छ । तसर्थ, त्यो अण्डा सकिदै गएमा वा बढी उमेर गएको खण्डमा पनि गर्भ नबस्ने हुन्छ ।


गर्भ नबसेका दम्पतीहरुको समस्या निराकरणका उपाय के हुन्छन् ?

कुनै पनि महिलामा गर्भ नबस्ने समस्या देखा परेपश्चात् सर्वप्रथम दम्पत्ती दुवैले सम्बन्धित चिकित्सकसँग परामर्श राखी के कारणले उक्त समस्या देखा परेको हो त्यो कारण पत्ता लगाउन जरुरी हुन्छ । कारण पत्ता लगाए पश्चात् चिकित्सकको सल्लाह बमोजिम आवश्यक औषधि सेवन गर्नुपर्दछ । यसबाहेक पनि अहिले टेस्ट्युब बेबीको जमाना भएको कारण गर्भ नै नबसेको अवस्थामा टेस्ट्युब बेबीको उपाय अपनाउनु पनि उचित रहन्छ ।


कतिपय दम्पती पूर्ण रुपले स्वस्थ्य हुँदाहुँदै पनि महिलामा गर्भ नरहने समस्या पनि देखा पर्छ । उनीहरुको निम्ति चाहिँ कस्तो किसिमको उपचार रहेको छ ?
मैले अघि भनेजस्तै गर्भ नबस्नु पछाडि महिला वा पुरुष दुवैको कारण हुन सक्छ । तर, कतिपयमा केशहरु यस्तो पनि आउँछ, जसमा महिला तथा पुरुष दुवै पूर्ण रुपले ठीक हुँदाहुँदै पनि महिलामा गर्भ नबस्ने हुन्छ । त्यस्तो अवस्थामा भने हामी दम्पत्तीलाई ‘ओभुलेशन’ हुने समयमा एक आपसमा यौन सम्बन्ध कायम राख्न सल्लाह दिन्छौं । त्यसमध्ये २० प्रतिशतको समस्याको हल पनि यसैबाट  हुने गर्दछ । तर, यसबाट पनि नभएको खण्डमा भने हामी ‘आई.यु.आई’ (इन्ट्रायुट्रिन इन्सिमिनेसन) यानिकी पुरुषको शुक्रकीट महिलाको पाठेघरभित्र राख्ने प्रविधिबाट अघि बढ्छौं । र, पुरुषमा शुक्रकिटको कमी भएमा पनि शुक्रकिटको सन्तुलन मिलाएर त्यसैलाई बेस बनाएर पनि यसै प्रविधिमार्फत अगडि बढ्छौ । यो सब गर्नुभन्दा अघि पनि हामी फ्यालोपियन ट्युब र नलीहरु ठिक भए वा नभएको पनि हेर्ने गर्छाै । र, नली बन्द भएको महिलाहरुको निम्ति भने टेस्ट्युब बेबीभन्दा अर्काे उपाय नै रहँदैन् ।

कतिपय महिलाहरुमा मोटोपनकै कारणले गर्दा उनीहरु नियमित महिनावारी नहुने हुन्छ । यस्तो अवस्थामा उनीहरुमा गर्भ रहने सम्भावना कत्तिको रहन्छ ?
उनीहरुमा पनि गर्भ रहने सम्भावना हुन्छ । तर, कतिपयमा आवश्यकभन्दा बढी र अत्याधिक मोटोपनको समस्या हुन्छ । उनीहरुमा ‘पोलिसिस्टिक ओभारियन डिजिज’को कारणले उक्त ‘ओभेसिटी’भएको हुन सक्छ । यसलाई पनि प्रजनन नहुनुको कारणमध्ये एक मानिन्छ । यसै रोगका कारण पनि महिलाको अण्डा नझर्ने हुन्छ । यस्ता व्यक्तिहरुलाई भने हामी मोटोपन र बीएमआई घटाएर २५ को हाराहारीमा ल्याएर मात्रै केही औषधिहरु सुरु गर्छाै । यस अर्थमा भन्नुपर्दा मोटोपन भएकोलाई मोटोपन घटाउन दिएर, अण्डा नझर्नेलाई आवश्यक ट्रिटमेन्ट गरेर र आवश्यक परेको खण्डमा उनीहरुलाई पनि टाइम इन्टर कोर्षमा राखेर प्रजजन गराउन सकिन्छ ।

कतिपय महिलाहरुले विभिन्न कारणवश् आफू महिनावारी नहोस् भन्नका निमित्त महिनावारी रोक्ने औषधिहरु पनि प्रयोग गर्ने गरेको पाइन्छ । यसले महिलाको गर्भधारण प्रक्रियामा कस्तो प्रभाव पार्छ ?
यस्तो अवस्थामा महिलाले आफ्नो गर्भलाई असर नपर्ने औषधिहरु पनि खान सकिन्छ । यस सम्बन्धि म के सल्लाह दिन चाहन्छु भने कुनै पनि बच्चाको निम्ति ट्राई गरिराखेका दम्पत्तीले महिनावारी रोक्ने औषधि सेवन गर्नुपूर्व सम्बन्धित चिकित्सकको परामर्श लिनु आवश्यक रहन्छ । यसो गरेमा चिकित्सकले गर्भलाई असर नपार्ने औषधि पनि दिन मिल्छ । कतिपयले बजारमा उपलब्ध कुनै पनि औषधि मेडिकलमा गएर चिकित्सकको परामर्श बिना नै खाने गर्छन् । जुन विल्कुल गलत हो । यसले उनीहरुको परिवार योजनामा प्रत्यक्ष रुपमा प्रभाव पार्दछ । त्यसैले सन्तान चाहेका कुनै पनि महिलाले महिनावारी रोक्ने औषधि खानुपूर्व चिकित्सकको सल्लाह अनिवार्य रुपमा लिनु पर्दछ ।

वंशाणुगत गुणले महिलाको प्रजनन क्षमतामा कस्तो प्रभाव पार्छ ?
वंशाणुगत गुण अन्तर्गत एउटा ‘पोलिसिस्टिक ओभारियन डिजिज’ वंशाणुगत हुन्छ । जसकारण कुनै–कुनै आफ्नो आमामा भएको गुण उनीहरुको छोरीमा पनि देखा पर्न सक्छ । अर्काे वंशाणुगत अन्तर्गत आमाको महिनावारी चाडैं रोकेमा छोरीहरुमा पनि महिनावारी छिट्टै रोकिन सक्ने सम्भावना रहन्छ । तसर्थ, त्यस्ता महिलाहरुले गर्भधारणको निम्ति छिटो प्रयास गर्नुपर्छ । किनकी मैले अघि भनेजस्तो महिनावारी रोकिने भनेको महिलामा भएको अण्डाको भण्डार सकिदै जाने प्रक्रिया हो । र, यो भण्डार सकेको खण्डमा पनि महिलामा गर्भ नरहने हुन्छ । कुनै पनि महिलामा अण्डाको भण्डार कति छ भन्ने कुरा हामीले अल्ट्रासाउण्ड तथा रगत जाँच गरेर पनि थाहा पाउन सकिन्छ। यस अर्थमा हामीले महिलामा भएको अण्डाको भण्डार कति छ र कहिलेसम्म गर्भधारण गर्न सकिन्छ भनेर चिकित्सकसँग सल्लाह लिनु उचित रहन्छ ।

कस्ता दम्पत्तीलाई टेस्ट्युब वेबीको बढी आवश्यकता पर्छ ?
टेस्ट्युब बेबीको आवश्यकता नली बन्द भएको, अण्डा धेरै भएर पनि नझर्ने समस्या रहेको, उमेर धेरै गैसकेको र अण्डाको मात्रा सकिन लागेको महिलाहरुको निम्ति आवश्यक पर्दछ । त्यस्तै ६ साइकल भन्दा बढी आईयुआई गरेर सफल भएन भने र पुरुषको शुक्रकीट अति नै न्यून भएमा पनि टेस्ट्युब प्रविधि अपनाउन सकिन्छ । तर, वंशाणुगत गुणकै कारण टेस्ट्युब वेबीको आवश्यकता पर्छ भन्ने हुँदैन ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ