२०८२ फागुन १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘खानपान, व्यायाम र नियमित परीक्षणमा ध्यान दियौं भने नसर्ने रोगको भारलाई ७० प्रतिशतसम्म कम गर्न सकिन्छ’

‘खानपान, व्यायाम र नियमित परीक्षणमा ध्यान दियौं भने नसर्ने रोगको भारलाई ७० प्रतिशतसम्म कम गर्न सकिन्छ’


पछिल्लो समय नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगहरू तीव्र रूपमा बढ्दै गएका छन् । खानपानमा आएको परिवर्तन, विलासी जीवनशैली र शारीरिक व्यायामको कमीका कारण मधुमेह, उच्च रक्तचाप, मुटु र मिर्गौलाजस्ता रोगहरूले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेका छन् । यही गम्भीरतालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले फागुन महिनादेखि प्रदेशभर ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानको शुभारम्भ गरेको छ । यस अभियानले नागरिकलाई आफ्नै स्वास्थ्यप्रति उत्तरदायी बनाउने र रोग लाग्नु अगावै सचेत गराउने उद्देश्य राखेको छ । यसै सन्दर्भमा अभियानको आवश्यकता, यसका कार्यक्रम र दीर्घकालीन प्रभावबारे कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेसँग हेल्थआवाजका लागि अनिल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

कोशी प्रदेश सरकारले सुरु गरेको ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानको खास अवधारणा के हो ?
– वास्तवममा स्वास्थ्य भनेको अस्पताल जाने र औषधि खाने कुरा मात्र होइन । यो हाम्रो दैनिक आचरण र जीवनशैलीसँग जोडिएको विषय हो । अहिले नसर्ने रोगहरूले समाजलाई आक्रान्त पारेको छ । मानिसहरू रोग लागेर थलिएपछि मात्र अस्पताल पुग्ने परिपाटी छ । हामीले यो अभियानमार्फत ‘आफ्नो स्वास्थ्यको पहिलो जिम्मेवारी व्यक्ति आफैले लिनुपर्छ’ भन्ने सन्देश दिन खोजेका हौं । यदि हामीले खानपान, व्यायाम र नियमित परीक्षणमा ध्यान दियौं भने नसर्ने रोगको भारलाई ७० प्रतिशतसम्म कम गर्न सकिन्छ । त्यसैले यो अभियान सचेतना र रोकथाममा केन्द्रित छ ।

अभियानअन्तर्गत अहिले चोक–चोकमा स्वास्थ्यकर्मीको टोली परिचालन भएको देखिन्छ, त्यहाँ कस्ता सेवाहरू प्रदान भइरहेका छन् ?
हो, हामीले स्वास्थ्य सेवालाई नागरिकको घरदैलो र पायक पर्ने स्थानसम्म पु¥याउने प्रयास गरेका छौं । अहिले विराटनगरको प्रमुख चोकहरू र सार्वजनिक स्थानहरूमा स्वास्थ्यकर्मीको टोलीले सचेतना फैलाउने मात्र होइन, तत्काल केही आधारभूत परीक्षणहरू पनि गरिरहेको छ । जसमा नागरिकको मधुमेह (ब्लड सुगर), रक्तचाप (ब्लड प्रेसर) मापन र मिर्गौला सम्बन्धी प्रारम्भिक परामर्श दिइन्छ । विशेषगरी उचाइ र तौलको आधारमा ‘बडी मास इन्डेक्स’ मापन गरेर व्यक्ति मोटोपनाको जोखिममा छ कि छैन भन्ने जानकारी दिइन्छ ।

यी परीक्षणहरूका लागि नागरिकले शुल्क तिर्नुपर्छ कि पर्दैन ? यो अभियान कहाँ–कहाँ उपलब्ध छ ?
यो पूर्ण रूपमा निःशुल्क छ । चोकहरूमा मात्र होइन, कोशी प्रदेशभरिका सबै स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा नसर्ने रोगहरूको स्क्रिनिङ र जाँचको व्यवस्था निःशुल्क गरिएको छ । कुनै पनि नागरिकले आफ्नो नजिकैको स्वास्थ्य चौकी वा अस्पतालमा गएर यी आधारभूत जाँचहरू गराउन सक्नुहुन्छ । राज्यले नागरिकको स्वास्थ्य परीक्षणमा पहुँच पु¥याउन यो लगानी गरेको हो ।

नसर्ने रोगका मुख्य कारणहरूलाई यो अभियानले कसरी सम्बोधन गर्न खोजेको छ ?
हामीले मुख्य चार–पाँच वटा जोखिम तत्वहरूलाई केन्द्रमा राखेका छौं । पहिलो मोटोपना, दोस्रो धुम्रपान र मध्यपानको सेवन, तेस्रो नुनको अत्यधिक प्रयोग र चौथो शारीरिक निष्क्रियता । हाम्रो अभियानले नागरिकलाई नुन कम खान, सुर्तीजन्य पदार्थ र रक्सीबाट टाढा रहन र दैनिक कम्तिमा ३० मिनेट व्यायाम गर्न प्रेरित गर्छ । यी स–साना कुरामा ध्यान दिँदा मधुमेह र उच्च रक्तचापजस्ता रोगबाट जोगिन सकिन्छ । मोटोपना नियन्त्रण गर्ने हो भने धेरै रोगहरू स्वतः कम हुन्छन् ।

नागरिकको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? के मानिसहरू परीक्षणका लागि उत्साहित छन् ?
नागरिकको उत्साह निकै राम्रो छ । मानिसहरूलाई कतिपय अवस्थामा आफूलाई रोग लागेको छ भन्ने थाहा नै हुँदैन । चोकमा हिँड्दा—हिँड्दै सुगर वा प्रेसर जाँच गर्दा धेरैमा उच्च मात्रा देखिएको छ । यसले गर्दा उनीहरूलाई समयमै उपचारमा जान र जीवनशैली सुधार्न मद्दत पुगेको छ । यसले ‘म स्वस्थ छु’ भनेर ढुक्क बस्ने तर भित्रभित्रै रोग पालेर बस्ने जोखिमलाई न्यूनीकरण गरेको छ ।

अन्तमा, कोशी प्रदेशका नागरिकलाई स्वास्थ्य सचिवको हैसियतले के अपिल गर्न चाहनुहुन्छ ?
मेरो विनम्र अनुरोध के छ भने, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । सरकारले अस्पताल बनाउँछ, डाक्टर राख्छ, औषधि बाँड्छ । तर, तपाईंलाई रोग लाग्न नदिने कुरा तपाईंको हातमा छ । त्यसैले वर्षमा कम्तीमा एक पटक सुगर, प्रेसर र मिर्गौलाको जाँच गराउनुहोस् । स्वस्थ खानपान गर्नुहोस्, व्यायाम गर्नुहोस् र सुर्ती–रक्सीको लत छोड्नुहोस् । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई व्यवहारमा उतार्न सके मात्र हामी एउटा समृद्ध र स्वस्थ कोशी प्रदेश बनाउन सक्छौँ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ