२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडा. भोला रिजाल भन्छन्, ‘इनभिट्रो फर्टिलाइजेसन र सरोगेसी निःसन्तानको निम्ति वरदान हो’

डा. भोला रिजाल भन्छन्, ‘इनभिट्रो फर्टिलाइजेसन र सरोगेसी निःसन्तानको निम्ति वरदान हो’


 चिकित्सा क्षेत्रमा परिचित नाम हो—डा. भोला रिजाल । अब्बल चिकित्सकको पहिचान बनाएका उनी एक राम्रा लिरिकल पनि हुन् । आफ्नो प्रतिभा र पेशाप्रति इमान्दार मानिने डा. रिजाल निःसन्तान दम्पत्तीका निमित्त काम गर्ने चिकित्सक पनि हुन् । ज्ञाइनोलोजिस्ट र अब्सटेट्रिसियनका रुपमा प्रसिद्ध डा. रिजालकै कारण धेरै दम्पत्तीले अभिभावक बन्ने मौका पाएका छन् । नेपालमा टेस्ट्युब बेबीको सेवा सुचारु गरेका उनले यसबीचमा थुप्रै दम्पत्तीलाई निःसन्तान हुनबाट जोगाएका छन् । पहिले ओम अस्पतालमा रहेका उनी हाल ह्याम्समार्फत ‘इन भिट्रो इन्फर्टिलिटी’ सेवा प्रदान गर्दै आएका छन् । यसबाहेक उनले नेपालमा सरोगेसीले कानुनी मान्यता पाउनुपर्छ भन्ने मुद्धा समेत उठाएका छन् । डा. रिजालसँग सम्बन्धित यसै इनभिट्रो फर्टिलाइजेसन र सरोगेसी विषयमा आधारित रहेर सृजना मगरले गरेको कुराकानी :

सर्वप्रथम टेस्ट्युब बेबीको बारेमा केही बताइ दिनुस् न ?
सजिलोको निम्ति यसलाई टेस्ट्युब बेबी भनिएता पनि यसको असली नाम ‘इन भिट्रो फर्टिलाइजेसन’ हो । ‘इन–भिट्रो’ भन्नाले भित्र र ‘इन–भिभो’ भन्नाले बाहिर भन्ने बुझिन्छ । त्यसकारण जुन फर्टिलाइजेसन हामी इन–भिभो अर्थात् बाहिर नै गर्छाै, त्यसलाई नै ‘इन भिट्रो फर्टिलाइजेसन’ अर्थात् ‘टेस्ट्युब बेबी’ भनिन्छ । यससँगै इन भिट्रो भन्नाले चाहिँ महिलाको पाठेघरभित्र नै डिम्ब र शुक्रकीट सेचन हुने प्रक्रियालाई जनाउँछ । यससम्बन्धि जनमानसमा विभिन्न भ्रमहरु रहेको पाइन्छ । मानिसहरुले यसलाई टेस्ट्युब बेबी भनिने भएकोले ‘वास्तवमै के यो टेस्ट्युबमै जन्मिने बच्चा हो त?’ भनेर सोध्ने पनि गरेको पाइन्छ । एक पटक मेरै अन्तर्वार्तामा पनि जिरे खुर्सानीको टिमले ‘बच्चा जन्मिसकेपछि टेस्ट्युब चाहिँ तपाईहरु आफै राख्नुहुन्छ कि हामीलाई दिनुहुन्छ?’ भनेर पनि सोधेका थिए । तर, हामीले के बुझ्नुपर्छ भन्दाखेरि टेस्ट्युब बेबीकोे अर्थ टेस्ट्युबमा बच्चा जन्मिने प्रक्रिया होइन । न त, त्यो टेस्ट्युबको कुनै काम नै हुन्छ ।

उसो भए यो कस्तो प्रक्रिया हुन्छ ?
एउटा महिला जसको पाठेघरको नली बिग्रिएको हुन्छ, अथवा कुनै पनि कारणबाट गर्भ नबस्ने हुन्छ । त्यस्तो दम्पत्तीको निम्ति हामीले आमाबाटै डिम्ब र बाबुबाट शुक्रकिट निकाल्छौं । निकालिएको उक्त डिम्ब र शुक्रकिटलाई हामीले ल्याबमा ३६ देखि ४८ घण्टा हामी सेचन वा फर्टिलाइज हुन दिन्छौ । र, उक्त फर्टिलाइज भइसकेको डिम्बलाई चाहिँ पुनः आमाकै गर्भमा राख्दिन्छौ, जसलाई हामी ‘एमरियो ट्रान्सफर’ भन्छौ । यसरी ट्रान्सफर गरिसकेपछि ती महिला पनि गर्भवती हुन्छिन् र उनले पनि अन्य महिलाजस्तै शिशुलाई जन्म दिन्छिन् । यसैलाई नै टेस्ट्युब बेबी भनिन्छ । टेस्ट्युब बेबीको प्रक्रियामा टेस्ट्युबको काम जब आमाको डिम्बाशयबाट डिम्ब निकालिन्छ । त्यसलाई २ देखि ५ मिनेटभित्र सफा गरिसकेपछि सफा गरेर शुक्रकीटसँग त्यसको मिलन गराउनको निम्ति एउटा सानो डिसमा २ मिनेटको लागि मात्रै राखिदिन्छौं । यसकारण टेस्ट्युब २ मिनेटको लागि मात्रै प्रयोग हुने हुन्छ । बाँकी ९ महिना भने साधारण महिलाको जस्तै शिशु गर्भमा नै हुर्कन्छ ।

नेपालमा यसको शुरुवात कहिले र कसरी भयो?
नेपालमा टेस्ट्युब बेबीका सेवा सुचारु भएको पनि झण्डै १६÷१७ वर्ष भयो । हामीले यो सेवा विस्तार गर्दा विश्वमा २५ वर्ष पुगिसकेको थियो । करिब २५ वर्षपछि मात्रै यो सेवा विस्तार गर्न पाइएतापनि नेपालको परिप्रेक्ष्यमा यो एउटा अत्यन्तै फलदायी फड्को हो । नेपालमा निःसन्तान दम्पत्तीको आँकडा एकदमै सटिक रुपमा यति छ भनेर त भन्न सकिदैन् । तर, झण्डै कुल विवाहित दम्पत्तीहरुको १५ प्रतिशत चाहिँ निःसन्तान दम्पत्ती छन् । त्यसमध्ये पनि १५ देखि २० प्रतिशत दम्पत्ती कुनै पनि अन्य उपायबाट पनि सन्तान जन्माउन सक्षम छैनन् । त्यसकारण यति ठूलो निःसन्तान दम्पत्तीको संख्या जुन नेपालमा देखियो, त्यसको निमित्त हामीले प्रयास धेरै अगाडिबाट गरेका हौं । तर, पनि जब पहिलो टेस्ट्युब बेबीको रुपमा ओममणि तामाङको जन्म भयो । साथसाथै डा. सुशील कोइरालाको जुम्ल्याहा बच्चा र केशव भट्टराईको शिशु गरेर ४ जना शिशु एक लटमा जन्मिए । उनीहरुबाट नै नेपालमा टेस्ट्युब बेबीको सुरुवात भयो ।

यस सेवाको सुरुवाती दिन कस्तो रह्यो ?
नेपालमा टेस्ट्युब बेबीको सेवा भित्रिएसँगै डा. उमा श्रीवास्तवले पनि ‘इन्फर्टिलिटी सेन्टर’ भनेर सुरु गरिसक्नु भएको थियो । हालसम्म ओम अस्पतालबाट नै १ हजारभन्दा बढी टेस्ट्युब बेबी जन्मिसकेको परिप्रेक्ष्यमा पनि हामीले यसबारे जनचेतनाको लागि यति धेरै संघर्ष गर्नुप¥यो । कसैले बुझ्दा पनि बुझेनन् । किनकी, नेपालमा त यो सम्भव छैन भन्ने धारणा सबैको थियो । तर, त्यो नभैकन नहुने भनेर जब हामीले ओम अस्पतालमा यसको सेवा सुचारु सुरु ग¥यौं, त्यसको सबभन्दा ठूलो परिणामस्वरुप हामीले पहिलो लटमा नै ४ शिशुलाई जन्म दिन सफल भयौं । त्यसमाथि पनि भारतमा असफल भएर आउनु भएका डाक्टर साबको पनि नेपालमा नै सफल भयो । यसकारणले गर्दा खेरि पनि यो हाम्रो निम्ति ठूलो उपलब्धी हो । तसर्थ यसमा जति संघर्षरत थियो उत्ति नै मात्रामा हामीले यस क्षेत्रमा सफलता पनि हासिल ग¥यौं ।

नेपालमा हाल कति अस्पतालले यस सेवा प्रदान गर्दै आएका छन् ?
सर्वप्रथम पहिले यो ओम अस्पताल र उमा श्रीवास्तवको इन्फर्टिलिटी सेन्टर गरी दुई संस्थामार्फत नै सुचारु भएको थियो । तर, हाल आएर वात्सल्य, निदान, क्रियटर्स, इन्फर्टिलिटी सेन्टर, ग्रीन सिटी, अल्का, ग्राडी सिटी तथा विराटनगर, पोखरा र नेपालगन्जअन्तर्गत रहेका विभिन्न अस्पतालहरुले पनि यो सेवा प्रदान गर्न थालिसकेका छन् । र, अस्ति हामीले क्यालकुलेट गर्दाखेरि नेपालभरिको सन्दर्भमा झण्डै–झण्डै अहिले ११ वटा संस्थाहरु क्रियाशील रहेका छन् ।

नेपालमा यो सेवाबाट जन्म लिएका शिशुहरुको संख्या कति होला ?
मलाई यसबारे स्पष्ट आँकडा त थाहा छैन । तर, हामीले अहिले ‘फेसन–फर्टिलिटी सोसाइटी अफ नेपाल’ नामक एक एसोसिशन खडा गरेका छौं । यसैमार्फत हामीले सबैतर्फको अस्पतालहरुको आँकडा लिने प्रयास गर्दछौ । अहिले मैले नै त्यसको अध्यक्षता गरेको छु । र, यसैमार्फत हामी आउँदै गरेको इ.सं २०२० को जुन १२ तारिखका दिन एउटा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्दैछौ । अहिले यति नै अधिराज्यभरि टेस्ट्युब बेबीको संख्या रहेको छ भनी यकिन गर्न नसकिए पनि मलाई लाग्छ झण्डै १२ सय देखि १५ सय ओम अस्पतालबाट नै जन्मिएको अवस्थामा अन्य ९÷१० ओटा जति नि अन्य सेन्टरहरु छन्, त्यहाँबाट पनि त्यति नै मात्रामा शिशुहरु जन्मिए पनि मेरो विचारमा अहिले नेपालमा २ देखि ३ हजारको हाराहारीमा टेस्ट्युब बेबीहरु जन्मिएका छन् ।

सामान्यतया जन्मिएका शिशु र टेस्ट्युबमार्फत जन्मिएका शिशुहरुबीच केही भिन्नता हुन्छ कि हुँदैन ?
अन्तर्राष्ट्रिय डाटाअनुसार पनि यसबीच भिन्नता हुँदैन भन्ने निष्कर्ष आएको छ । तर, हामीले यहाँ यसै टेस्ट्युब बेबीमार्फत जन्म लिएका शिशुहरुको अवस्था हेर्ने हो भने अन्य सामान्य बच्चाहरुको तुलनामा यिनीहरु झन इन्टेलीजेन्ट हुन् कि भन्ने जस्तो पनि लाग्छ । किनकी नेपालकै पहिलो टेस्ट्युब बेबी राजेन्द्र तामाङका छोरा ओममणि तामाङ, केशव भट्टराई तथा डा. सुशीलका बच्चाहरु हेर्ने हो भने पनि सबै उत्तिकै ट्यालेन्टेड छन् । यो उचित स्याहार, पालन पोषण तथा चान्सको कारण पनि भएको हुन सक्छ । यस हिसाबले पनि मेरो विचारमा भने यी बच्चाहरु अन्य सामान्य रुपमा जन्म लिएका बच्चाहरुभन्दा फरक चाहिँ हुन नपर्ने हो । सारांशमा धेरै वर्ष पुगेका अर्थात् गर्भ नरहेका दम्पत्तीहरुको निम्ति भने यो अत्यन्तै राम्रो रहनेछ ।

सेरोगेसीको पनि उत्तिकै वकालत गर्नुहुन्छ । ‘सेरोगेसी’को बारे अलिकति केही बताइ दिनुस् न ?
बच्चा नहुने दम्पत्तीको निमित्त अर्केले बच्चा जन्माइ दिने प्रक्रिया नै सरोगेसी हो । नेपालमा सरोगेसीले हालसम्म कानुनी मान्यता नपाएतापनि हामीले पौराणिक कालदेखि नै हे¥यौं भने बच्चा नहुनेको निम्ति बच्चा पाइदिने चलन पश्चिमी समाजमा धेरै पहिलेदखि नै भएको देखिन्छ । नेपालको सन्दर्भमा यसले कानुनी मान्यता नपाएता पनि यसबारे बुझ्ने जति सबैले यसले कानुनी मान्यता पनि पाउनु पर्छ भन्ने धारणा ब्यक्त गरेका छन् । जसको सजिलो तरिकाबाट बच्चा हुँदैन, जो आइभिएफ प्रविधीमार्फत पनि गर्भधारण गर्न सक्दैनन् र जसले बच्चा एडप्ट गर्नको निम्ति स्वीकार गर्दैन, उनीहरुको निम्ति सरोगेसीभन्दा बाहेक अरु केही उपाय नै रहँदैन् ।

यसमा कुनै पनि महिलाले आर्थिक प्रलोभनको निम्ति नभै मानवताको रुपले यसको निम्ति तयार हुन्छिन् । तसर्थ यस अर्थमा अन्यको निम्ति नभै नेपालीले नेपालीको निम्ति नै यसले कानुनी मान्यता पाउनु पर्छ भन्ने उद्देश्यका साथ हामीले यसको एड्भोकेसी गरेका हौं । विगतमा यसबारे धेरै मिथ्याहरु आए । सायद अब यो नेपालमा पनि छुट्टै नै लागु हुन्छ होला । भारतबाट विशेष क्राइटेरियाको लागि जब सरोगेसी हटाइयो तब यसले नेपालमा ठाउँ पायो । यसैकारण धेरै नै ठूलो अफवाह पनि भयो । नेपालको नाम बाहिर बदनाम पनि भयो । र, अन्त्यमा त्यो बन्द पनि भयो । बाहिर अन्यको लागि नभै नेपालीले नेपालीको लागि नै गर्न पाउने भन्ने यो एउटा वरदान पनि हो । त्यसैले यसलाई हामी सबै मिलेर यसला सफल पार्नुपर्छ भन्ने मेरो धारणा हो ।

पक्कै पनि यो चिकित्सा क्षेत्रले हासिल गर्ने अर्काे सफलता हुन जान्छ । तर, नेपालजस्तो महिलावादी हक तथा अधिकारको कुरा उठिरहेको देशको सन्दर्भमा यस्तो मुद्दा उठाउन कत्तिको जायज होला त?
यसबारे धेरैले नबुझेका कारण यस्ता धेरै कुराहरु अगाडि आउँछन् । तर, यी सबै कुराहरु मैले देख्दाखेरि यो इनफर्टिलिटीमा पनि अरु कोही पीडित छैनन्, केवल छ त महिलाहरु नै । लोग्नेमान्छेले आफूमा खराबी भएर ५/६ ओटा विवाह गरेर ल्याएतापनि आखिर यसबाट पनि महिलाहरु नै पीडित हुने गरेका छन् । पहिलेको जमानामा के थियो भने निःसन्तान हुनु भगवानको श्राप हो भन्ने गलत धारणा रहन्थ्यो । सबैजना एक अर्काको मुख ताकेर बस्थे । केही उपाय छैन भन्थे । तर, आज त्यो जमाना छैन । त्यसैले जति नि निःसन्तान दम्पत्तीको लागि हामीले यस्ता अवधारणा तथा प्रविधिहरु ल्याएका छौं ।

ती सबै महिलाहरु हक, अधिकार तथा हितलाई नै मध्यनजर गर्दै ल्याइएको अवधारणाहरु हुन् । र, यसबाट धेरै महिलाहरु लाभान्वित पनि हुनुभयो । यसबाट घर कलहदेखि एउटा निःसन्तान दम्पत्तीलाई पानीसमेत छुन नदिइनेजस्ता त्यस्ता अवस्थाबाट पनि छुटकारा पाइएको छ । हामीले यसरी निःसन्तान दम्पत्तीको उपचार गर्न थालेको थाह पाएलगत्तै बाजुरा, हुम्ला, जुम्लाजस्ता ठाउँहरुबाट समेत उपचारका निम्ति आउन थालेका छन् । यसरी महिलाहरुकै हक हितको विषय रहेको यस्ता कार्यक्रमलाई हामीले ह्याम्समा पनि छिट्टै नै सञ्चालनमा ल्याउने तयारी गर्दछौं । सारांशमा भन्नुपर्दा चाहे टेस्ट्युब बेबीको कुरा होस् या सरोगेसी, इनफर्टिलिटीका लागि हामीले यसलाई अगाडि बढाएका हौं । यसबाट पक्कै पनि निःसन्तान दम्पत्ती र महिलाहरु लाभान्वित हुनेछन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ