२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘नगरवासीलाई निःशुल्क रगत पाउने व्यवस्था मिलाएका छौं’

‘नगरवासीलाई निःशुल्क रगत पाउने व्यवस्था मिलाएका छौं’


नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरण गर्ने तिलोत्तमा नगरपालिका सम्भवतः नेपालकैं पहिलो स्थानीय तह हो । २०७१ सालमा स्थापना भएको नयाँ नगरपालिका भएपनि जनप्रतिनिधि आइसकेपछि नगरको पूर्वाधार निर्माणको कामले यहाँ गति लिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक–पूर्वाधार, फोहरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धनजस्ता नागरिकका अपेक्षालाई नगरपालिकाले अगाडि बढाएको छ । फरक अभ्यास, नयाँ कार्यको थालनीले यो नगरपालिका मुलुकमैं चर्चामा छ । जनताको सर्वोपरी हितमा काम गर्ने नगर प्रमुख वासुदेव घिमिरेले आफूले जनप्रतिनिधिको रुपमा प्राप्त गर्ने सम्पूर्ण पारिश्रमिक सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गर्दैआएका छन् । नगर प्रमुख वासुदेव घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश :

नगर प्रमुखमा निर्वाचित भएपछि सम्पन्न भएका महत्वपूर्ण विकासका कामहरु के—के हुन् ?
मुलुक संघीयतामा गैसकेपछि अहिले तीन तहका सरकार क्रियाशील छन् । हामीहरु स्थानीय सरकारमा रहेर काम गरेका छौं । कुनै पनि काम गर्दा ऐन, नियम, कानुन आवश्यक पर्ने भएकाले हामीहरुले सबैभन्दा पहिला स्थानीय कानुन निर्माण ग¥यौ । तपाईंलाई थाहा भएकैं विषय हो की स्थानीय कानुन निर्माण गरी त्यसको जानकारी संघीय र प्रदेश सरकारलाई गराउने तिलोत्तमा मुलुककैं पहिलो स्थानीय तह हो । यसबीचमा हामीले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी झण्डै पचास वटा स्थानीय कानुन निर्माण गरिसकेका छौं । यिनै कानुन अनुसार हामीहरुले भौतिक पूर्वाधार, शैक्षिक, सामाजिक विकासका विभिन्न कामहरुलाई अघि बढाएका छौं ।

विशेषगरी कुन–कुन विषयलाई प्राथमिकतामा राखेर नगरको काम अगाडि बढाउनु भएको छ ?
हामीले सबैभन्दा बढी महत्व शिक्षालाई दिएका छौं । र, सरदर कुल बजेटको २८ प्रतिशतभन्दा बढी रकम शिक्षामा खर्च गरेका छौं । नगरको समग्र शैक्षिक गुणस्तर सुधारका लागि हामीले सामुदायिक विद्यालयमा दिवा खाजा, टिफिनक्यारीको व्यवस्था मिलाएका छौं । सबै सामुदायिक विद्यालयहरुमा एकै प्रकारको रंगरोगन गरिएको छ । सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको छ । दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरी सहयोग गरिएको छ ।

बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई नगरपालिकाबाट मासिक तीन हजार रुपैंयाँ प्रोत्साहन भत्ता थप गरिएको छ । नगर प्रमुखको पारिश्रमिकबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १/१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था मिलाइएको छ । यातायात सञ्चालनका लागि ११ विद्यालयहरुलाई अनुदान प्रदान गरिएको छ । कम्तिमा ३२ इञ्चको टिभीसहित सबै विद्यालयका बाल विकास कक्षा व्यवस्थापन गरिएको छ । कक्षा ८ को परीक्षा पूर्णतः एसईई मोडलमा सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयको भवन तथा पूर्वाधार निर्माणमा सहयोग गरिएको छ । स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । तिलोत्तमा सिटी कलेज स्थापनाको लागि प्रक्रिया अघि बढाइ सकिएको ।

लगानी सम्मेलन पनि सम्पन्न गर्नुभयो । के–के हुन् तिलोत्तमाले गरेका फरक अभ्यास ?
हामीले केही फरक, नयाँ अभ्यास गरेका छौं । ती अभ्यासहरु तपाईंले भने जस्तै चर्चामा पनि छन् । मुलुकमैं पहिलो पटक स्थानीय कानुन निर्माण, सामुदायिक विद्यालयमा दिवा खाजा, बिरामीलाई चाहिने रगतको सेवा भुक्तानी, सुत्केरीलाई थप प्रोत्साहन भत्ता, आफ्नै स्रोतबाट स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा, पशु बीमा अनुदान, सडकमा वुद्धमूर्ति स्थापना, सिटी फ्लावर र कलर कोड निर्धारण, आफ्नै नगर गान र लोगो, जन्मदिनमा वृक्षारोपण गर्न नगरवासीलाई आह्वान, सडक हरियाली र नियमित सरसफाई अभियान, शुन्य खुला पोलिथिन अभियान, सार्वजनिक कार्यक्रम तोकिएकैं समयमा सुरु गर्नुपर्ने, सार्वजनिक कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याज निषेधलगायतका काम नियमित हुनेभन्दा अलि फरक काम हुन् भन्ने लाग्छ ।

रगत  निःशुल्क गर्नुपर्छ भन्ने सोच कसरी आयो ? यसबारेमा प्रष्ट पारिदिनुहोस् न ।
तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने नगरवासीमध्ये आर्थिक रुपमा विपन्न परिवारलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको हो । तर, यसमा सबैलाई खुला गरिएको छ । नगरपालिका सबै नगरवासीको अभिभावक पनि भएकोले नगरवासीको दुःख, सुखमा सँगसँगै रहनुपर्छ भन्ने मान्यता हाम्रो छ । यसैसन्दर्भमा पछिल्लो समय देखा परेका क्यानसर, मुटुको रोग, मिर्गौलाको समस्यालगायतका तमाम रोगको उपचारसँगै रगत पनि आवश्यक पर्ने भएकोले कम्तिमा रगतको सेवा शुल्क हामीले दिँदा बिरामीलाई थोरै भएपनि राहत मिल्ने ठानेर यो कार्यक्रम ल्याइएको हो । खासगरी नियमित रगत चाहिने बिरामीहरु यो कार्यक्रमबाट बढी लाभान्वित भएको पाइएको छ । रगत किनबेच गर्ने वस्तु त होइन तर व्यवस्थापकीय कारण बिरामीले तिर्ने सेवा शुल्कको बोझ घटाउनु यस कार्यक्रमको उद्देश्य हो । विपन्न नागरिकलाई नगरपालिकाको तर्फबाट के सहयोग गर्न सकिन्छ भन्ने सन्दर्भबाट नै रगत तथा रक्तत्व निःशुल्क गर्नुपर्छ भन्ने सोच आएको हो ।


रगत निःशुल्क पाउनको लागि नगरवासीले के—के प्रक्रिया अपनाउनुपर्छ ?

हामीले प्रदान गर्ने यो सुविधा तिलोत्तमा नगरपालिकामा स्थायी रुपमा बसोबास गर्नेहरुको लागि हो । यसैले स्थायी नगरवासीको प्रमाण नै यसको पहिलो प्रक्रिया हो । सम्बन्धित चिकित्सकले रगत चाहिने भनी गरेको सिफारिस तथा बिरामीले रक्त सञ्चार केन्द्रबाट सेवा शुल्क तिरेको बिल नगरपालिकामा पेश गर्नुपर्छ । बिरामीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्र पनि संग्लन गरेर कागजात पेश गरेपछि सेवा शुल्क भुक्तानी पाउने व्यवस्था मिलाइएको छ ।

तिलोत्तमा नगरपालिकाको ब्लड बैंक सञ्चालन गर्ने सम्बन्धमा केही योजना छ ? अवश्य पनि तिलोत्तमामा ब्लड बैंक स्थापना गर्ने पहल भैरहेको छ । नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाले ब्लड बैंक स्थापनाको पहल गरिरहँदा नगरपालिकाले ब्लड बैंक स्थानपनाका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जनघनत्वको वृद्धिसँगै स्वास्थ्य संस्थासमेत वृद्धि हुँदै जाँदा यहाँ ब्लड बैंकको आवश्यकता महसुस भएको छ । तिलोत्तमामा एक सय शैंय्याको क्रिमसन अस्पताल सञ्चालनमा छ भने सरकारीस्तरको मेडिकल कलेजसमेत निर्माण हुँदैछ । ब्लड बैंक स्थापनाका लागि आगामी वर्षमा बजेट विनियोजन गर्न हामीहरु प्रतिबद्ध छौं ।


तपाईं आफैं हरेक दिनजसो फोहर बटुल्दै गरेको दृश्य सामाजिक सञ्जालमा देखिन्छ । अनि शुन्य पोलिथिनको चर्चा पनि व्यापक छ, वास्तवमा यो के हो ?

‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापनका विभिन्न प्रवर्द्धनात्मक काम तथा अभियान सञ्चालन गरेको छ । हरेक महिनाको १ र १५ गते नगरस्तरीय नियमित सरसफाई अभियान सञ्चालन गरिएको छ भने टोल विकास संस्थामार्फत् समुदायमा आधारित नियमित सरसफाई गरिएको छ । तिलोत्तमा नगरपालिकालाई स्वच्छ, सफा, सुन्दर बनाउने उद्देश्यले २०७४ असोजबाट नियमित रुपमा सरसफाई अभियान सञ्चालन भैरहेको सबैलाई जानकारी नै छ । नगरवासीको सक्रिय सहभागितामा सञ्चालन हुँदै आएको समुदायमा आधारित सरससफाई अभियानले यस नगरका सडक, सार्वजनिक स्थान, कुलो–नहर विगतको तुलनामा सफा देखिन थालेका छन् । यो अभियानले नगरबासीमा सरसफाई सम्बन्धी सचेतना अभिवृद्धि गराउन सफल पनि भएको छ ।

सरसफाई अभियान सञ्चालन भैरहँदा पोलोथिनजन्य फोहोरले मानव स्वास्थ्य, सहरी सौन्दर्य, कृषि उत्पादन र वातावरणमा सबैभन्दा बढी नकारात्मक असर पारेको तथ्यलाई मनन गरी नगरवासीकैं सुझावअनुसार २०७५ वैशाख १ गतेबाट पोलोथिन झोला निषेधित अभियान सञ्चालन गरिएकोमा २०७६ साउन १ गतेबाट नगरभित्र पोलोथिनका झोला, गिलास, चम्चा, प्लेटको प्रयोग, उत्पादन, आयात÷निर्यात, बेचबिखनमा पूर्णतः रोक लगाइएको छ ।

नगरमा उत्पादन हुने फोहोरमध्ये पोलिथिनजन्य फोहोर सबैभन्दा बढी रहेकोले सडक, कुलो, नहर, खेत–खलियान, सार्वजनिक ठाउँबाट यसलाई हटाउन सिम नेपालसँगको सहकार्यमा शुन्य पोलोथिन अभियान हुँदै आएको छ । नगरबासीमा पोलिथिन झोलाको प्रयोग पूर्णतः रोक्दै अन्य पोलिथिनजन्य, नकुहिने फोहोर तोकिएको ठाउँमा मात्र फाल्ने बानीको निर्माण गरी यस नगरलाई सफा, स्वच्छ, हराभरा गराउनु खुला शुन्य पोलोथिन अभियानको मुख्य अभिप्राय हो । हामीहरु तिलोत्तमालाई शुन्य खुला पोलिथिन बनाउने महाअभियानमा लागिपरेका छौं । तिलोत्तमा नगरबासीहरु दिनरात यो महाअभियानमा लागि पर्नुभएको छ । आजको दिनसम्म आइपुग्दा ८ वटा वडाहरु शुन्य खुला पोलिथिन घोषणा भएका छन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ