२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसाबुन पानीले हात धोऔं, स्वस्थ रहौं

साबुन पानीले हात धोऔं, स्वस्थ रहौं


सुर्खेत –  आज विश्व हात धुने दिवस नेपालसहित विश्वभर मनाइँदै छ । हरेक वर्ष अक्टोबर १५ तारिखमा हात धुने दिवस मनाउने गरिएको छ । सरसफाइको अभावले नेपालको अधिकांस ग्रामीण क्षेत्रमा मानिसहरु बिरामी हुने गर्छन्।  कर्णाली प्रदेशमा कूल जनसंख्याको करिब ५० प्रतिशत मानिस हरेक वर्ष बिरामी भएर उपचारको लागि अस्पताल धाउने गरेका छन्।

त्यस्तै, कर्णालीमा वर्षेनी करिब ४० प्रतिशत बालबालिका सरसफाइको कमीबाट हुने सरुवा रोगको संक्रमणबाट मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीको भनाइ छ ।

गरिबी, अशिक्षा, सरसफाइको अभाव, जनचेतनाको अभाव, भौगोलिक दुर्गमता, प्राकृतिक प्रकोप, खानपान तथा जीवनशैली, असुरक्षित पिउने पानी, धुवाँधुलोका कारणले गर्दा कर्णालीका धेरै मानिस रोगको शिकार हुने गरेको शाहीले जानकारी दिए । विशेषगरी बच्चाहरूमा निमोनिया हुने गरेको र ठूला व्यक्तिमा रुघाखोकी, दम, लुतो, ग्यास्ट्रिक, टाउको दुख्ने समस्या देखिने गरेको उनको भनाइ छ ।

सरसफाइमा ध्यान पु¥याए मात्र पनि ७० देखि ८० प्रतिशत रोग रोकथाम गर्न सकिन्छ । स्वास्थ्य सेवा महाशाखा प्रमुख शाही भन्छन्,“हात र श्वासप्रश्वासको माध्यामबाट धेरै रोगहरु सर्ने भएकोले हामीले आफ्नो हातलाई जुनसुकै ठाउँमा छोइसके पछि पनि साबुन पानिले मिचिमिचि धुनुपर्छ ।’

अहिले कोभिडको महामारीका बेला साबुन पानीको विकल्पमा हेण्ड सेनिटाइजर प्रयोग गर्न सकिने उनले बताए । उनी भन्छन्, ‘कम्तिमा ७५ प्रतिशतमाथि अल्कोहल भएको सेनिटाइजरले हात सफा गर्नुपर्छ ।’ उनका अनुसार खाना पकाउनु, खानु र बच्चालाई खुवाउनुअघि, शौचालय गएर आइसकेपछि, बच्चाको दिशा धोएपछि र कुनै फोहरवस्तु चलाइसकेपछि साबुन पानीले हात धुनुपर्ने जोखिमपूर्ण अवस्थाहरु हुन् ।

हरेक पटक खाना खाँदा, खुवाउँदा र तयार गर्दा आफ्नो र बालबालिकाले हात साबुन पानीले मिचिमिचि धुनुपर्छ । यसका साथै दिनमा कम्तिमा ६ देखि १० पटक साबुन पानीले फिज आउने गरी मिचिमिचि हात हुने हो भने कोभिडलगायत अन्य रोग सर्ने दरमा कमी ल्याउन सकिने उनको भनाइ छ ।

झाडापखाला जन्य रोगहरु प्राय फोहोर हातले खानेकुरा खाँदा लाग्छन् । हेर्दा सफा देखिने हातमा पनि रोगका किटाणुहरु हुन सक्ने भएकाले साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । भान्छामा काम गर्दा विभिन्न सामग्रीहरु जस्तै :- दाउरा, गुइठा आदि छोइने भएकाले हातमा फोहोर लाग्न सक्छ । तसर्थ, खाना खानु र खुवाउनु अघि साबुन पानीले मिचिमिचि हात धुनुपर्छ ।

‘साबुन पानीले हल्का हात धोएर मात्रै पनि जिवाणुहरुको नष्ट हुँदैन । हातमा भएका जिवाणुहरुलाई बगाउनको लागि जुनसुकै साबुन प्रयोग गरे पनि फिंज निकालेर मिचिमिचि हात धुनुपर्छ,’ उनले भने ।

गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाले सरसफाइमा अझै बढी ख्याल गर्नुपर्ने उनको भनाइ छ । ‘स्वास्थ्य मानिसको धन हो,’ ‘उनी  भन्छन्, ‘मानिस स्वस्थ भयो भने उसले धेरै काम गर्न सक्छ । जब एउटा परिवारमा एक जना व्यक्ति बिरामी हुन्छ । अनि त्यो परिवार नै समस्यामा पर्छ ।’

त्यसैले, साबुन पानीले सफासँग हात धुनु पनि स्वस्थ रहने धेरै उपायहरु मध्येको एक हो । यसलाई हामी सबैले अपनाउन जरुरी छ ।

स्वास्थ्य सेवा महाशाखा प्रमुख शाहीका अनुसार सामान्यतया: रोग लाग्न दिने यस्तो छ उपाय :

१) खाना खानुअघि र पछि साबुनपानीले हात धुने ।

२) बासी खानेकुरा र सडकमा बेच्न राखेको खानेकुरा नखाने।

३) पानी उमालेर खानु सबैभन्दा उत्तम हुन्छ । त्यो गाह्रो छ भने पानीमा क्लोरिन झोल हालेर खान सकिन्छ ।

४) खानामा पनि विशेष ध्यान दिने । पकाएको खानाबाहेक अन्य खाना खानु हुँदैन ।

) दैनिक सरसफाइमा ध्यान दिने ।

६) काचो खानेकुरा सफा पनीले पखालेर मात्र खाने ।


क्याटेगोरी : कर्णाली प्रदेश, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ