२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगु अस्पतालमा दुई महिनादेखि थन्कियो अक्सिजन प्लान्ट

मुगु अस्पतालमा दुई महिनादेखि थन्कियो अक्सिजन प्लान्ट


जुम्ला-मुगुको जिल्ला अस्पतालमा दुई महिनाअघि आइपुगेको अक्सिजन प्लान्ट अस्पतालमा थन्किएको छ । गत २४ बैशाखमा अस्पतालमा आइपुगेको उपकरण प्रयोगबिहीन भएर थन्किएको हो ।

कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाम गर्नका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका ८ जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट व्यवस्थापन गरेको थियो ।

खरिद प्रक्रियामा अनियमितता गरी अक्सिजन प्लान्टको नाममा कमसल अक्सिजन सिस्टम जेनेरेटर नामको सामान खरिद गरिएको भन्दै विभिन्न संचारमाध्यममा समाचार आएसँगै विवाद बढेपछि कर्णाली प्रदेश संसदीय लेखा समिति र अख्तियारले तत्काल छानविन अगाडि बढाएको छ ।

उक्त छानविन प्रक्रिया कहाँसम्म पुगेको भन्ने जानकारी कार्यालयमा नआएकाले सामान जडानमा ढिलाइ भएको स्वास्थ्य सेवा कार्यालय मुगुकी प्रमुख करुणा भट्टराईले बताइन् । प्रदेश संसदीय लेखा समितिले अक्सिजन सामान जडान सम्बन्धि थप जानकारी नगराएसम्म जडान कार्यको कुनैपनि प्रक्रिया अगाडि बढाउन नसकिने उनको भनाइ छ ।

‘प्रदेशले हामीलाई जे निर्देशन गर्छ त्यहीअनुसार अगाडि बढ्ने हो,’ उनले भनिन् । अक्सिजन जडानका निम्ति पाइपलाइनको सामान पनि नभएको र उक्त पाइपलाइन खरिदका लागि जेठ महिनामै दुई पटकसम्म सूचना प्रकाशन गर्दा समेत सामान खरिदको लागि कुनै कम्पनीको निवेदन नपरेको उनले जानकारी दिइन् ।

छानविन प्रक्रियाका हालसम्म टुंगो नलाग्दा ३८ लाख ८० हजारको मेसिन अस्पतालको कुनामा थन्किएको छ भने पाइपलाइन खरिदका लागि छुट्टयाइएको १५ लाख रकमसमेत आर्थिक वर्ष सकिनै लाग्दा फ्रिज हुने भएको छ । १६ जेठमा प्रदेश संसदीय समितिले अक्सिजन प्लान्ट खरिदको सम्पूर्ण कागजात जिल्लाबाट मगाएको र अझैसम्म सामान जडान विषयमा नबोलेको अवस्थाले गर्दा उकरण जडान प्रक्रिया अन्योल थपिएको हो ।

दुर्गमका जनताको स्वास्थ्यसँग जोडिएर आएको लाखौं रकम बजेट र उपकरणहरु वर्षेनी अलपत्र हुने गरेको स्थानीय बताउँछन् । दुर्गम मुगुको अस्पतालमा दुई महिनाअघि पुगेको झन्डै आधा करोड रकम बराबरको अक्सिजन प्लान्टको सामान महिनौदेखि कुनामा थन्किएको अवस्थामा छ । तर, सरोकारवाला सबै निकायहरु यस विषयमा मौन अवस्थामा बसेको स्थानीयको आरोप छ ।

अहिले अस्पतालले अक्सिजन सिलिन्डरहरु भर्नका लागि नेपालगञ्जलगायतका सहरमा पठाउनुपर्ने अवस्था छ । मुगु जिल्लासम्म पुग्ने कच्ची सडक भएकाले बाढीपहिरोले सडक अवरुद्ध हुने गर्दा समयमै अक्सिजन सिलिण्डर अस्पतालसम्म पु¥याउन पनि चुनौती छ । जसका कारण बिरामीको उपचार प्रभावित हुने गरेको छ ।

२४ बैशाखमा सामान मुगु अस्पताल आइपुगेपछि २८ बैशाखमा विभूति मेडिटेड इन्टरनेशनल सप्लायर्सलाई ३८ लाख ८० हजार रकम भुक्तानी गरिएको जिल्ला स्वास्थ्य सेवा कर्यालय मुगुका तत्कालीन लेखा अधिकृत सुरेशकुमार केसीको भनाइ छ । सामानको भुक्तानी दिँदा त्यहाँ कार्यालय प्रमुखमा ज्ञानसिंह बुढा र लेखापालमा सुरेशकुमार केसी रहेका थिए ।

हाल कार्यालय प्रमुख र लेखापाल दुवै नयाँ छन् । उक्त मेसिनको मूल्य २० लाख ४३ हजार परेको भन्सार प्रज्ञापत्रमा वीरगंज भन्सारले प्रमाणित गरेको कागज आफूसँग भएको विभूति मेडिटेड इन्टरनेसनल सप्लायर्सका संचालक विकास सापकोटाले बताए । यो मेसिन चीनको जिनानको मेडिटेक कम्पनीमा खरिद गरिएको हो । भारतको कलकत्ता हुँदै वीरगंज भन्सारसम्म, भन्सार खर्च ढुवानीसमेत गरेर सामान मुगु पुग्दासम्म ३३ लाख ५० हजार खर्च पुगेको उनको भनाइ छ । सम्झौताअनुसारको सामान मुगु पुगाइसकेपछि पुरै भुक्तानी लिइसकेको उनको भनाइ छ ।

काठमाडौंदेखि मुगु ६ पटकको आउने जाने भाडा र अन्य खर्च प्राविधिक खर्च समेत जोड्दा ३९ लाख ७९ हजार खर्च पुगेको सापकोटाले बताए । गत १८ मंसिरमा अस्पतालले अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गर्दा विभूति मेडिटेड इन्टरनेसनल सप्लायर्सको मात्रै एकल दरखास्त परेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ