२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचन्दननाथमा २ हजार ५ सय व्यक्तिको रगत समूह पहिचान गरिदैं

चन्दननाथमा २ हजार ५ सय व्यक्तिको रगत समूह पहिचान गरिदैं


जुम्ला—जुम्लामा पश्चिम नेपालकै ठूलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ । अस्पताल व्लड स्टोरेज गर्ने ल्यावमा व्यवस्थापन भएपनि रगत पर्याप्त हुँदैन् । उपचार गर्न आउने बिरामीलाई रगत आवश्यक पर्दा निकै सकस हुने गरेको छ ।

अस्पतालले बिरामीलाई रगतको आवश्यकता पर्दा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा हारगुहार गर्नुपर्ने अवस्था हुन्छ । पछिल्लो समय सुरक्षाकर्मी नै ब्लड बैंकको रुपमा काम गर्नै आएका छन् । कतिपय अवस्थामा बिरामीका आफन्तहरुले रगत दिन्छन् भने युवाले पनि आकस्मिक रुपमा ब्लड उपलब्ध गराउँदैं आएको स्थानीय युवा महेन्द्र कार्कीले बताए ।

यही समस्यालाई मध्यनजर गर्दै चन्दननाथ नगरपालिका ४ वडाले रगत समूह पहिचान गर्न थालेको छ । वडाभित्रका २ हजार ५ सय व्यक्तिको रगत समूह पहिचान गर्न थालिएको वडाध्यक्ष नवराज देवकोटाले बताए । ‘जुम्लामा व्लड बैंक छैन । बिरामी हुँदा आकस्मिक रुपमा रगतको आवश्यकता पर्दछ । रगत समूह पहिचान भएपछि कुन बिरामीलाई कुन समूहको रगत आवश्यक पर्ने हो, त्यही गुरुपको रगत दिन सजिलो होस् भनेर रगत समूह पहिचान गर्न थालिएको हो,’ उनले भने, ‘२/३ हप्ताका शनिबार रगत समूह पहिचान कार्यक्रम गर्ने लक्ष्य छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत आवश्यक परेमा तत्काल खोज्न समस्या हुने गरेको बताए । उनले भने, ‘रगत समूह पहिचान भएको खण्डमा रगत दिन पनि सहज हुन्छ । रगत व्यवस्थापन गर्न नसक्दा अस्पताल आएका बिरामीलाई उपचार गर्न समस्या हुने गरेको छ ।’

अस्पतालमा आएका बिरामीलाई रगत उपलब्ध गराउन सहज होस् भनेर एक वर्ष पहिले थालिएको रगत समूह पहिचान तथा डोनेशन कार्यक्रम चन्दननाथ नगरपालिका–४ मा गर्न सफल भएको डा. रोकायाले बताए । यो वडाका सिंगाचौर, मालाभिड र भारतीवाडाका नागरिकको रगत समूह पहिचान गर्न खोजिएको हो । ‘यो नयाँ कार्य हो । अरु वडाले पनि सबै नागरिकको रगत समूह पहिचान गरी राख्न आवश्यक छ,’ उनले भने, ‘रगत समूह पहिचान भएका खण्डमा रगत लिन र दिन सहज हुन्छ ।’ सबै नागरिकले रक्तदान गरेको खण्डमा प्रतिष्ठानको ल्याबमा राख्न सकिने अवस्था रहेको उनले बताए । प्रतिष्ठानमा रगत भण्डारणको पनि व्यवस्था रहेको छ ।

चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले रगत समूह पहिचान कार्य महत्वपूर्ण रहेको बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रस जुम्लाको प्राविधिक सहयोग र चन्दननाथ नगरपालिका–४ वडा कार्यालयको आयोजनामा रगत समूह पहिचान कार्यक्रम सुरु गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ