२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा हिमोफिलिया बिरामीले उपचार नै पाउँदैनन्

कर्णाली प्रदेशमा हिमोफिलिया बिरामीले उपचार नै पाउँदैनन्


वीरेन्द्रनगर—कर्णालीमा हिमोफिलियाका बिरामीले सहज रुपमा उपचार पाउन नसकेको पाइएको छ । वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कर्णालीमा रहेका हिमोफिलियाका बिरामीले उपचार पाउन नसकेको स्वास्थ्य अधिकारीहरुले बताएका हुन् ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार कर्णाली प्रदेशमा हिमोफिलियाका १७४ जना बिरामी छन् । त्यसमध्ये ३४ जनाले नियमित उपचार सेवा लिइरहेका छन् भने त्यसबाहेकका बिरामीले उपचार पाउन सकिरहेका छैनन् ।

रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । यस रोगका कारण शरीरमा निल डाम देखिने, जोर्नी तथा मांशपेसी सुन्निने र दुख्ने गर्छ । पछिल्लो जनगणनामा देशभर ४ हजार ९३७ जना हिमोफिलियाका बिरामी पहिचान भएको हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेले बताए । हिमोफिलिया सामान्यतयाः वंशाणुगत संक्रमण रहेको उनको भनाइ छ ।

कतिपय अवस्थामा अन्य कारणले पनि यो रोग हुने उनले बताए । ‘यो संक्रमण पुरुषबाट नभई महिलाबाट सर्ने भएकाले उहाँहरूले विभेद भोग्नुपरेको छ,’ उनी भन्छन्, ‘सामाजिक विकृतिका रूपमा लिने गरिएको दुःखद् अवस्था छ ।’ उनका अनुसार औषधि उपचार नपाएर वर्षेनी ३÷४ जनाको ज्यानसमेत जाने गरेको छ । उनी भन्छन्, ‘व्यक्ति आफैँले उपचार गर्नसक्ने अवस्था छैन । हिमोफिलिया सोसाइटीसँग सीमित स्रोत छ । अब उपचारको सम्पूर्ण जिम्मा राज्यले नै लिनुपर्छ । कर्णाली प्रदेशमा विशेष पहल गर्न मन्त्रीलाई आग्रह गर्दछु ।’

वीर अस्पतालका डा. निरजकुमार सिंहले पहिचान र उपचारको अभावमा नेपालमा हिमोफिलिया देखिएका ९९ प्रतिशत व्यक्तिमा अपांगता हुने समस्या रहेको बताए । हिमोफिलिया न्यूनीकरणका लागि लगाइने खोपको प्रतिडोज १२ हजार ५०० पर्ने र हप्तामा कम्तीमा पनि चार डोज दिनुपर्ने उनको भनाइ थियो । उनले हिमोफिलियाको आधारभूत सेवा प्रदेशबाटै प्रदान गर्नुपर्नेमा जोड दिए ।

यता कर्णालीका अर्थमन्त्री वेदराज सिंहले यो रोगबारे आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता जनाए । कर्णालीका जनताले अहिले पनि सर्वसुलभ स्वास्थ्य सेवा नपाइरहेको भन्दै मन्त्री सिंहले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले हिमोफिलियाका बिरामीको उपचारमा सहज हुनेगरी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सक्दो व्यवस्था गर्ने पनि प्रतिवद्धता जनाए ।

‘हिमोफिलियाका बिरामी कर्णाली प्रदेशमा पनि रहेको र उहाँहरूले उपचार सेवा प्रभावकारी रूपमा नपाएको पाइएको छ,’ उनले भने, ‘कतिपय बिरामी उपचारका लागि सम्पर्कमा नपुगेको सुन्दा दुःख लाग्यो । म प्रदेश सरकारको मन्त्री हुनुका नाताले त्यस्ता बिरामीको उपचारका लागि प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने प्रयत्न गर्नेछु ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ