२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा मेडिकल कलेज र एक सय शैय्याको स्याटेलाइट अस्पताल बन्ने

कर्णालीमा मेडिकल कलेज र एक सय शैय्याको स्याटेलाइट अस्पताल बन्ने


वीरेन्द्रनगर—कर्णाली प्रदेशमा एउटा मेडिकल कलेज र एक सय शैय्याको स्याटेलाइट अस्पताल बन्ने भएको छ । सोमबार सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदको दुवै सदनको बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ बजेट वक्तव्यमा कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज र दैलेखको राकममा स्याटेलाइट अस्पताल बनाउने बताएका हुन् ।

कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माणको काम अगाडि बढाउनका लागि रकम विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिए । उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको सम्बन्धित प्रादेशिक अस्पतालको सहकार्यमा मेडिकल कलेज सञ्चालन प्रक्रिया अगाडि बढाइने अर्थमन्त्री महतले संसदमा बताए ।

त्यस्तै, अर्थमन्त्री महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत दैलेखको आठबीस नगरपालिकाको राकममा एक सय शैय्याको स्याटेलाइट अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

सुर्खेत मेडिकल कलेजको काम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २०७३ असार २७ गतेको मन्त्रीस्तरीय निर्णयले प्रारम्भिक कार्य समिति गठन गरी जग्गा पहिचानको काम सुरु गरेको थियो । सात वर्षसम्म पनि काम अगाडि नबढेको मेडिकल कलेजको काम अर्थमन्त्री बजेट भाषणपछि केही आशा पलाएको सुर्खेत वीरेन्द्रनगर–११ रामबहादुर शाहीले बताए ।

२०७६ जेठ १९ गते सुर्खेतमा आयोजना कार्यालय स्थापना भएको थियो । सुर्खेतमा मेडिकल कलेज पूर्वाधार निर्माणका लागि वीरेन्द्रनगर–११ र १३ को अम्बिकादेवी सामुदायिक वनको २७.८ हेक्टर तथा सीतापुर सामुदायिक वनको १५.३९ हेक्टर गरी ४३.१९ हेक्टर जग्गा छनोट भएको छ । आयोजना कार्यालय स्थापना भएरै काम सुरु भएको चार वर्ष पूरा भैसक्दा पनि पूर्वाधार निर्माणमा भने गति लिन नसकेको अवस्थामा अहिले बजेटमा समेटिएका कारणले कर्णालीवासीको केही आश पलाएको छ ।

त्यस्तै, चार वर्षअघि दैलेखको आठविस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने सम्झौता भएको थियो । सम्झौताअनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेका बेला राकममा एक सय शैय्याको अस्पताल बनाउने निर्णयले दैलेखवासी उत्साहित भएका छन् ।

अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ मा ४० रोपनी (२ हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए । ‘अस्पताल निर्माणको लागि डीपीआर बनिसकेको छ,’ उनले भने, ‘अहिले सरकारको बजेट वक्तव्यमा नै आउँदा झनै खुसी भएका छौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ