२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअन्धविश्वासका कारण बर्थिङ सेन्टरमा जाँदैनन् गर्भवती महिला

अन्धविश्वासका कारण बर्थिङ सेन्टरमा जाँदैनन् गर्भवती महिला


जुम्ला– सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै सुत्केरी हुने चलनलाई शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्लाका विकट ग्रामीण भेगका महिला घरमै जोखिम असुरक्षित सुत्केरी हुनुपर्ने अवस्थामा छन् । त्यसैले यस क्षेत्रका आमा र शिशुको जीवन जोखिममा छ ।

पातारासी गाउँपालिका–३ महरी गाउँकी लालकली बुढाले केही समयअघि घरमै बच्चा जन्माइन् । जन्मेको सात दिनपछि बच्चा खेर गयो । आफ्नो कोखबाट घरमै जन्मिएको बच्चा जन्मिएपछि खेर गएको घटनाले लालकलीलाई अझै पनि पिरोलि रहेको छ । स्वास्थ्यचौकी गएर सुत्केरी हुन पाएको भए बच्चा खेर जाँदैन थियो कि? भन्ने भान अहिले हुने गरेको छ । उनि भन्छिन्–‘स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएको भए बेलैमा औषधि उपचार पनि पाउन्थ्यो होला ।’

महरी गाउँका महिलालाई अहिले पनि स्वास्थ्यचौकी गएर गर्भ जाँच गराउने र सुरक्षित सुत्केरी हुने पारिवारिक र सामाजिक वातावरण छैन । गाउँ आसपासमा भएका बर्थिङ सेन्टरमा पुग्न र फर्किन एक दिन बिताउनुपर्छ । यहाँका महिलाहरु ६ घण्टा लगाएर स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यताका कारण पनि घरमै सुत्केरी हुने गरेको लालकली बताउँछिन् ।

महरी गाउँमा २ सय ४० घरधुरी छन् । गाउँमा रहेका स्वास्थ्य स्वयंसेविकाकै बुहारीहरू पनि घरमै सुत्केरी हुने गरेका छन् । घरमै बच्चा जन्माएकी महरीकै सरिता बुढा यसको मनोवैज्ञानिक जरो खुलाउँदै भनिन्, ‘गर्भवतीले स्वास्थ्यचौकी जाने ठाउँमा भुइयार लाग्छ भन्ने छ । भुइयार भन्ने भूतप्रेत हो । त्यसैको डरले हामी घरमै सुत्केरी हुन्छौँ ।’

महरी गाउँकै २५ वर्षकी निर्मला बुढा पनि सोही कुरालाई थप पुष्टि गर्दै भनिन्, ‘बाटोमा खोला तर्नुपर्छ । देउता लाग्छन् भन्ने डर पनि लाग्छ । त्यही भएर घरमै सुत्केरी हुन्छौँ ।’ सरिता र निर्मलाका अनुसार, गाउँघरदेखि स्वास्थ्य चौकी जानलाई गाडी गुड्ने बाटो पनि छैन् ।

पातारासी गाउँपालिका –३ हुरी गाउँकै पुन्नकली बुढा पनि लामो बाटो हिँड्नुपर्ने भएकै कारण आफूहरू घरैमा सुत्केरी हुने गरेको बताइन् । ‘बर्थिङ सेन्टरसम्म आउजाउ गर्न ६ घण्टा हिँड्न पर्छ । स्वास्थ्यचौकी टाढा भएकाले पनि घरमै सुत्केरी हुन्छौँ,’ उनले भनिन् ।

हुरी गाउँमा कुल ५२० घरधुरी रहेका छन् । महिलाहरूले भूतप्रेतसँग सम्बन्धित अन्धविश्वासजन्य डरसँगै धामी, झाँक्रीमाथिको परम्परागत अन्धविश्वासलाई चिर्न सकेका छैनन् । यही कारण हुरी र महरी गाउँका महिलाहरु बर्थिङ सेन्टर जान सक्ने अवस्था नरहेको भन्दै गाउँ घरमै सुत्केरी हुने चलन हट्न नसकेको स्थानीय जानकारहरू बताउँछन् ।

महरी र हुरी गाउँको बिचमा एउटा सामुदायिक स्वास्थ्य इकाइ छ । त्यहाँ अरू समस्या हुँदा उपचारको लागि महिलाहरू आउने गरेको पाइए पनि गर्भावस्थामा नआउने पातारासी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन बुढाथापा बताउँछन् ।

महिलाहरु स्वास्थ्य संस्थामा नजानुको मूख्य कारण धामीझाँक्री प्रथा र भूतप्रेतप्रतिको अन्धविश्वास रहेको उनको भनाई छ । उनले भने, ‘हुरी र महरी गाउँमा जकडिएर बसेको धामीझाँक्री प्रथा र भूतप्रेतप्रतिको अन्धविश्वासका कारण अहिले पनि गर्भवती हुँदा गर्भको जाँच गराउन महिलाहरू स्वास्थ्य संस्थामा आउँदैनन् ।’

पातारासी मात्र होइन, गुठीचौर, कनकासुन्दरी र तिला गाउँपालिकास्थित केही गाउँको अवस्था पनि लगभग उस्तै छ । त्यहाँका अधिकांश महिला सुत्केरी हुनका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छैनन् ।
सुत्केरी हुँदा खोला तर्नु नहुने, बाटोमा भूतप्रेत लाग्न सक्छ भन्ने अन्धविश्वासको जालोमा यहाँका स्थानिय जेलिएको गुठीचौर गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सुस्मिता थापा बताउँछिन् ।‘त्यहाँ बाजागारे भुत लाग्छ भनेर घरमै सुत्केरी हुने गरेका छन् ।’ उनले भनिन् ।

अन्धविश्वासका कारण झाजुवाला गाउँ र फोइ गाउँका गर्भवतीहरू गाउँपालिकाको कार्यालयसँगै जोडिएको स्वास्थ्यचौकीमा गर्भको जाँच गराउनसमेत नआउने गुठीचौर स्वास्थ्य शाखाका प्रमुख बालकराम नेपाली बताउँछन् ।

कनकासुन्दरी गाउँपालिका अहेव नेत्रबहादुर खत्रीको बुझाइ भने बाटोघाटो र अन्धविश्वास दुबैसँग जोडिएको छ । त्यहाँको रिया, सिप्टी र मर्खन गाउँका भर्गवती महिला पनि स्वास्थ्य संस्थामा नआउने गरेको उनले बताए । ‘एक त भौगोलिक हिसाबले टाढा भएको पनि हो, अर्को, त्यहाँ धेरै देवता लाग्ने, पुलपुलेसा तर्न हुन्न भन्ने मान्यताले पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन नआएका हुन् ।’ रिया गाउँमा कुल ४४, सिप्टी गाउँमा कुल २३ र मर्खन गाउँमा कुल ३४ घरधुरी रहेका छन् ।

अहेव खत्रीका अनुसार, आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म रिया र मार्फन गाउँका स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाको सङ्ख्या शून्य छ भने सिप्टी गाउँका एक जना गर्भवतीले मात्र स्वास्थ्य संस्थामा सुत्केरी भएको देखिन्छ ।

रिया, सिप्टी र मार्फन गाउँका गर्भवतीलाई सुत्केरी हुनका लागि काब्रामा रहेको बुम्रामाडिचौर स्वास्थ्य संस्थामा पुग्नुपर्छ । त्यहाँ पुग्नका लागि रिया गाउँ र मार्फन गाउँबाट पैदल तीन घण्टा लाग्छ भने सिप्टी गाउँबाट एक घण्टा लाग्ने गरेको छ ।

पातारासी स्वास्थ्य शाखाका प्रमुख रतनका अनुसार, आर्थिक वर्ष २०७८÷७९ मा १२६ महिला स्वास्थ्य संस्थामा सुत्केरी भए । आर्थिक वर्ष २०७९÷८० मा १ सय ४५ जना सुत्केरी भए । ‘हुरी र महरी गाउँका महिला घरमै सुत्केरी हुन्छन् । त्यहाँको व्यवहारमा महिला स्वास्थ्य स्वयंसेविकाले पनि परिवर्तन ल्याउन सकेका छैनन् ।’ उनले भनिन् ।

यस्तो अवस्थामा गाउँमा प्रभावकारी तरिकाले सचेतना फैलाउनुपर्ने हुन्छ । तर, अभिमुखीकरण गर्नका लागि बजेट नै नभएको उनको गुनासो छ । यसपटक अभिमुखीकरण कार्यक्रम गर्ने सोच बनाए पनि गाउँपालिकाले बजेटको व्यवस्था नगरिदिँदा यस्ता कार्यक्रमहरु गर्न नपाइएको उनले बताइन् ।

जुम्लामा कुल २९ ओटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । तीमध्ये चन्दननाथ नगरपालिकामा एउटा, गुठीचौर र हिमा गाउँपालिकामा तीन तीन वटा, पातारासी, तातोपानी र सिंजा गाउँपालिकामा चार चार वटा, र तिला र कनकासुन्दरी गाउँपालिकामा पाँच पाँच वटा बर्थिङ सेन्टर रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

जनस्वास्थ्य सेवा कार्यालय, जुम्लाबाट उपलब्ध तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९÷८० मा जुम्लामा एक हजार ७ सय ४२ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भएको पाइएको छ । तीमध्ये ११ जनाले जुम्ल्याहा बच्चा जन्माए । साथै, ७१ जना गर्भवतीले भने घरमै सुत्केरी हुनुपर्यो ।

चन्दननाथ नगरपालिकामा ८ सय ५२ जना सुत्केरी भएकामध्ये सात जनाले घरमै सुत्केरी हुनुपर्यो भने तिला गाउँपालिकामा १ सय ४४ जना सुत्केरी भएकामध्ये २२ जनाले घरमै सुत्केरी हुनुपरेको देखिन्छ । हिमा गाउँपालिकामा पनि कुल १ सय ६० जना सुत्केरी भएकामध्ये ४२ जनाले घरमै सुत्केरी हुनुपरेको देखिन्छ ।

तातोपानी गाउँपालिकामा ९३ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए भने गुठीचौर गाउँपालिकामा ७८ जना गर्भवतीले स्वास्थ्य संस्थामा गएर सुत्केरी भए । तातोपानी र गुठीचौर गाउँपालिकामा घरमा सुत्केरी भएका महिलाको सङ्ख्या भने उक्त तथ्याङ्कमा देखाइएको छैन ।

यस्तै, सिंजा गाउँपालिकामा १ सय ४९ जना सुत्केरी भए भने कनकासुन्दरी गाउँपालिकामा १ सय ६४ जना सुत्केरी भए । सिंजा र कनकासुन्दरीमा पनि घरमा सुत्केरी भएका महिलाको तथ्याङ्क देखाइएको छैन । यसैगरी, यस अवधिमा पातारासी गाउँपालिकामा १ सय ४५ जना सुत्केरी भए । त्यहाँ पनि घरमा सुत्केरी भएका महिलाको सङ्ख्या तथ्याङ्कमा देखाइएको छैन ।

पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाकाअनुसार हुरी र महरी गाउँका गर्भवतीहरूलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउनको लागि सचेतनाका कार्यक्रम गर्ने योजना बनाएका छौँ । उनले भनिन् “अझै पनि समाजमा अन्धविश्वासले जरो गाडेको छ । यसको निराकरणका लागि हामी सचेतना जगाउने खालका विभिन्न कार्यक्रम बनाएर अगाडि बढ्ने छौँ ।”

स्थानीय तहले अन्धविश्वासलाई चिर्नका लागि गाउँबस्तीका महिला तथा जेष्ठ नागरिकलाई जनचेतना जगाउनुका साथै कानुनी सचेतनाको अभियान सञ्चालन गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ