२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभौगोलिक विकटताले घरमै सुत्केरी हुन्छन् भेरीखोलाका महिला

भौगोलिक विकटताले घरमै सुत्केरी हुन्छन् भेरीखोलाका महिला

एउटै कोठाबाट धेरै सेवा प्रवाह, जोखिममा स्वास्थ्य चौकी


जुम्ला-तातोपानी गाउँपालिका–७ र ८ भेरीखोला भौगोलिक रुपमा विकट छन् । गाउँ–गाउँ पुग्ने कच्ची सडक खनिएपनि सवारी साधन गुड्दैनन् । अहिले पनि यहाँका स्थानीयको आउजाउ पैदल नै हुने गरेको छ ।

भौगोलिक विकटताकै कारण अहिले पनि यहाँका गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । भेरीखोलामा झण्डै दुई दर्जन गाउँ छन् । यस क्षेत्रको पायक पर्ने ठाउँ लामाबगरमा स्वास्थ्य चौकीमा गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि प्रसुति गृह स्थापना गरिएको छ । तर, स्वास्थ्य संस्थाको प्रसुति गृहमा न्यून संख्यामा प्रसुति हुन आउने गरेका छन् ।

भौगोलिक विकटता र खनिएका कच्ची सडकमा सार्वजनिक सवारी साधन गुड्दैनन् । घरमा बोकेर स्वास्थ्य संस्था लैजाने पुरुष व्यक्ति पनि हुँदैनन् । घरमा सुत्केरी हुनुको विकल्प नरहेको स्थानीय विष्णु शाहीले बताइन् । उनले भनिन् ‘घरमा भएका पुरुष सबै हाट प्रदेश गएका हुन्छन् । कोही मालपाखर (पशु चौपाया) हेर्न खर्क लेकतिर बसेका हुन्छन् । घरमा महिला बालबालिका मात्रै हुन्छौं । कसले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजाने निकै समस्या छ । भगवान भरोसा घरमै सुत्केरी हुने गरेका छौ ।’

चालु आर्थिक वर्षमा यस क्षेत्रका ३६ जना सुत्केरी भए । जसमध्ये ११ जनामात्रै स्वास्थ्य संस्थामा आएर प्रसुति भएको स्वास्थ्य चौकी इन्चार्ज सन्तोष मल्लले बताए । ‘गत वर्ष ८३ जना सुत्केरी भएकामध्ये २० जनामात्रै स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । ६३ जना घरमै असुरक्षित सुत्केरी भए । यो क्षेत्रमा सुत्केरी हुनेको संख्या अत्याधिक छ । घरमै हुने सुत्केरी न्यूनीकरण गर्न खोजे पनि भएको छैन्,’ उनले भने ।

भौगोलिक विकटता, गरिबी र घरमा मान्छे नहुने समस्या घरमै हुने सुत्केरीको संख्या बढेको इन्चार्ज मल्लको भनाइ छ । ‘गाउँ–गाउँ पुग्ने कच्चा सडक त खनिएका छन् । खनिएका सडकमा नियमित सवारी साधन चल्दैनन् । खनिएका सडक पनि बाढी, पहिरोले भत्केका छन् । घरमै हुने सुत्केरी घटाउन यो क्षेत्रका लागि मात्रै एउटा एम्बुलेन्सको आवश्यक छ,’ उनले भने ।

एउटै कोठाबाट धेरै सेवा प्रवाह, जोखिममा स्वास्थ्य चौकी

तातोपानी गाउँपालिका–७ लामाबगरमा रहेको स्वास्थ्य चौकी मापदण्डअनुसारको भौतिक संरचना नहुँदा एउटै कोठाबाट धेरै सेवा प्रवाह गर्नु परेको स्वास्थ्यकर्मीको गुनासो छ । २०७४ मंसिरमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी भएपनि मापदण्डअनुसार नभएको इन्चार्ज मल्लले बताए । ‘खोलाको किनारमा रहेको स्वास्थ्य चौकी गत दुई वर्ष आएको बाढीले कटान गरेको छ । बाढी, पहिरोको जोखिममा यो स्वास्थ्य चौकी रहेको छ,’ उनले भने ।

यो स्वास्थ्य चौकीका ९ जना स्वास्थ्यकर्मी कार्यरत छन् । गत १७ कार्तिकमा मध्य राति गएको भूकम्पले आवास गृह चर्किएको छ । त्रासैत्रासमा चर्किएको घरभित्रै स्वास्थ्यकर्मीहरु बस्दैं आएका छन् ।

‘यो क्षेत्रमा घर पनि अरु छैन । तलमाथि खोलाको किनारमा स्वास्थ्य चौकी र आवास गृह रहेको छ । बाढी, पहिरोको जोखिम पनि उत्तिकै रहेको छ,’ स्वास्थ्य चौकी इन्चार्ज मल्लले भने, ‘स्वास्थ्य चौकीमा प्रसुति गृह पनि भएकोले २४ सै घण्टा ड्युटी गर्नुपर्ने हुन्छ । तर, अवस्था यस्तो हुँदा निकै चिन्तित छौं ।’

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईका अनुसार त्यो स्वास्थ्य चौकी मापदण्डअनुसार छैन । बाढी, पहिरोको पनि उच्च जोखिममा छ । सेवा प्रवाहमा पनि असहज नै भएकोले डिपिआर बनाएर भौतिक संरचना निर्माण गर्ने पहल भइरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ