२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानको दार्मामा टेन्टबाटै चल्छ सामुदायिक स्वास्थ्य सेवा केन्द्र

सल्यानको दार्मामा टेन्टबाटै चल्छ सामुदायिक स्वास्थ्य सेवा केन्द्र

भूकम्पले क्षतिग्रस्त केन्द्रको भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ


जुम्ला—सल्यानको दार्मा गाउँपालिका–५ ढाकाडामस्थित सामुदायिक स्वास्थ्य इकाई केन्द्र चार महिनादेखि बारीको डिलमा टेन्ट लगाएर सञ्चालन हुँदै आएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर १७ कात्तिकमा गएको भूकम्पका कारण भवन क्षतिग्रस्त भएपछि केन्द्र टेन्टको भरमा चलाउनु परेको हो ।

टेन्टसमेत भिरालो स्थानमा राखिएकाले उपचार गर्न गएका बिरामीलाई समेत समस्या हुँदै आएको छ । यस केन्द्रबाट ढाकाडामका झण्डै तीन सय परिवार लाभान्वित हुँदै आएका छन् ।

स्थानीय कल्पना केसीले स्वास्थ्य इकाई केन्द्र टेण्टमा हुँदा उपचारका लागि जान समेत सास्ती हुने गरेको बताइन् । ‘साँघुरो क्षेत्र छ । हेर्दा स्वास्थ्य इकाई केन्द्र आफै जोखिममा देखिन्छ । खुला क्षेत्र भएन्,’ उनले भनिन्, ‘यसले सेवा लिन समेत समस्या भएको छ, नागरिकले छिटो–छरितो र सहज रुपमा सेवा पाउने व्यवस्था सरकारले मिलाउनु पर्छ ।’

टेन्टभित्र गर्मीका कारण स्वास्थ्यकर्मीलाई औषधि जोगाउन कठिनाइ भएको छ । एउटा मात्र टेन्टमा बिरामीको स्वास्थ्य परीक्षण गरिने बेड, टेबुललगायतका सामग्री र औषधि राख्नु पर्दा सेवा दिन धेरै कठिनाइ भएको सामुदायिक इकाई केन्द्र प्रमुख यज्ञबहादुर खड्काले बताए । ‘टेन्टभित्र तीन/चार जनाभन्दा बढी बस्न नमिल्ने भएकाले उपचार गर्न आएका सबैलाई खुला स्थानमा राख्नुपर्ने अवस्था छ,’ खड्काले भने ।

इकाई केन्द्र सञ्चालन गरेको स्थान खोंचमा गर्मी बढ्न थालेको छ । जसका कारण दिउँसो टेन्ट बाँफिएर भित्र बस्न नसकिने अवस्था रहेको उनले बताए । ‘बिरामी स्वास्थ्य परीक्षणका लागि एक/डेढ घण्टा बस्दा तातो बाफले गर्दा टाउको दुख्ने, चक्कर लाग्ने समस्याले आफै बिरामी हुने अवस्था सिर्जना भएको छ,’ खड्काले थपे । ओसिलो स्थानमा राख्नुपर्नेमा औषधि टेन्टभित्र बचाउन गाह्रो भएको उनले सुनाए ।

मौसम परिवर्तनका कारण यहाँ दैनिक २०/२२ जना बिरामी आउने गरेका छन् । उपयुक्त जग्गा नहुँदा काम चलाउका लागि गाडेको टेन्ट भिरालो स्थानमा भएको र बिरामी आउजाउ गर्ने बाटो साँघुरो भएकाले हिड्दा लड्ने जोखिम समेत छ ।

परीक्षण गर्न आउने गर्भवतीलाई सेवा दिन झनै कठिनाइ भएको इकाई केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी हीरा ओलीले बताइन् । ‘गर्भ परीक्षण सुताएर गर्नुपर्ने हुन्छ । त्यसका लागि छुट्टै कोठा चाहिन्छ,’ ओलीले भनिन्, ‘एउटै टेन्टमा पर्दा लगाएर काम चलाउनु परेको छ । कतिपय महिला त लाजले राम्रोसँग जाँच गर्न पनि मान्दैनन् ।’

चैत्रदेखि असारसम्म हुने गर्मी र त्यसपछि वर्षातको समयमा इकाई केन्द्र टेन्टकै भरमा सञ्चालन गर्न नसकिने उनको भनाइ छ । भूकम्पले दार्मा गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाका भवन क्षति भएकोमा अन्य मर्मत गरी सेवा सुचारु गरिएको छ । वडा नम्बर ५ मा रहेको सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन धेरै क्षति भएकाले बिरामी सेवाबाट बञ्चित हुन नदिन टेन्ट राखेर सेवा दिँदै आएपनि स्वास्थ्यकर्मीलाई कठिनाइ भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनले तत्कालका लागि अस्थायी रुपमा चलाइएको र भवन निर्माणका लागि माग गरिएको जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ