जुम्ला—तिला गाउँपालिका–८ जुम्लाकोट गाउँकी बेलपुरा बस्नेतकी बच्चा शोभन बस्नेतलाई कुपोषण भएको थियो । उनी तीन महिनाअघि कुपोषित भएकी थिइन् । उनी अहिले पोषणयुक्त भइसकेकी छन् ।
धनकला बस्नेतकी छोरी प्रतिक्षा बस्नेत पनि कुपोषित थिइन् । उनी पनि अहिले पोषणयुक्त भइसकेकी छन् । कोशिला रावतको छोरा प्रिन्स रावत पनि कुपोषित थिए । उनीहरु सवै बालकालिका तीन महिना अघि कुपोषित भए । तर, अहिले सवै बालबालिका कुपोषण मुक्त भइसकेका छन् ।
गाउँघरमा कलिलै उमेरमा विवाह गर्ने, बच्चा उन्माउने, खानपिनमा ध्यान नदिनेजस्ता कारणले धेरैजसो बालबालिका कुपोषित हुने गरेका थिए । तर, पछिल्लो यो समस्या हट्दै गएको छ । सरकारी तवरदेखि विभिन्न संघ संस्थाले अभिभावकलाई सचेतीकरण गर्दै गएपछि बालबालिकाको पोषणमा ध्यान दिने देखिएको छ । जसका कारणले जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका कुपोषण मुक्त भएका छन् ।
जुम्लाकोट स्वास्थ्य चौकीका सिनियर अहेव सिता सिंहका अनुसार यस स्वास्थ्य चौकीअन्तर्गत पुरुगाउँ र जुम्लाकोट गाउँ छ । यिनै दुई गाउँका सेवाग्राही अलवा अन्य गाउँका पनि बिरामी आउने गर्छन् । ‘दुई गाउँका पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा कुपोषण छैन । तीन महिनाअघि तीन जना बालबालिका कुपोषित थिएँ,’ उनले भनिन्, ‘यो क्षेत्रका सबै बालबालिका सुपोषित भएपछि यो स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएको छ ।’
नेपाल सरकार, विश्व खाद्य कार्यक्रम र एमडिआई नेपालको समन्वयमा निरन्तर पौष्टिक आहारा वितरणले पनि बालबालिका पोषणमा सुधार पुगेको स्थानीय बताउँछन् । तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले भनिन्, ‘सरकारी तवरदेखि गैरसरकारी संघसंस्थाबाट पोषणमा सुधार पुग्ने काम भएका छन् । वल्र्डभिजन र किर्डाक नेपालको सहयोगमा पाँच वर्षदेखि बाल संरक्षण, समुदायमा आधारित बाल स्पोनशरसीप र एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना नै सञ्चालित छ । जसले बाल संरक्षणदेखि बालबालिकाको पोषणमा सुधार र समुदायको जीविकोपार्जन क्षेत्रमा काम गर्दै आएको छ ।’
गाउँपालिकाको उपाध्यक्ष कार्यक्रमअन्तर्गत पनि गर्भवती, सुत्केरी र बालबालिकाको पोषण सुधारमा प्रत्यक्ष सहयोग पुग्ने खालका गतिविधि सञ्चालन गर्दै आएको छ । जसका कारणले अहिले यो क्षेत्रका पुरुगाउँ र जुम्लाकोट गाउँका पाँच वर्षमुनिका कुनै पनि बालबालिका कुपोषित छैनन् । यो पनि सामाजिक विकासको उपलब्धिका रुपमा लिएको उपाध्यक्ष बुढाले बताइन् ।
सबै सुचक पूरा भएपछि २५ भदौंमा तिला गाउँपालिका–८ नम्बर वडालाई बालमैत्री र पोषणमैत्री घोषणा गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । ‘भौतिक विकास सँगसँगै सामाजिक विकासलाई अगाडि लैजानैपर्छ भन्ने उद्देश्यका साथ पालिकाले योजना तर्जुमा गर्दै आएको छ,’ उनले भने ।
स्थानीय सचेतसंगै तोकिएका सूचक सबै पूरा भएपछि बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गर्न थालिएको हो । घोषणा पूर्वको अन्तिम अनुगमन पनि गरिएको अध्यक्ष रोकायाले बताए । ‘बालविवाह न्यूनीकरण, पोषणमैत्री वडा, बालश्रम न्यूनीकरणलगायतका क्षेत्रमा किर्डाकले गरेको सहयोग समन्वय सह्रानीय रहेको छ,’ उनले भने ।