२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप


काठमाडाैं– प्रा.डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलिय कार्यकर्ता नियुक्ति गरेको आरोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा वरिष्ठता मिचेर कार्यकारी निर्देशकमा नियुक्ति गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा त्रिवि कार्यकारी परिषद्ले अर्थोपेडिक सर्जन प्रा.डा. दिनेश काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । जसलाई कुनै हालतमा स्वीकार्य नहुने विज्ञप्तीमार्फत बताएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस अघिको डिन नियुक्ति नै स्थापित वरिष्ठताको आधार भत्काएर गरिएकाले सो नियुक्ति सच्याउँदै बाँकी सबै पदको नियुक्ति वरिष्ठताका आधारमा गर्न हामीले बारम्बार माग राख्दै आएका थियौं । यसरी सबै पदमा पार्टी कार्यकर्ताहरु भर्ती गर्दै जाने हो भने त्रिवि शिक्षण अस्पतालजस्तो देशकै अग्रणी स्वास्थ्य र शिक्षण संस्था धरासयी हुने निश्चित छ ।’

उनले दलीय आधारमा भएका सबै नियुक्ति तत्काल खारेज गरी वरिष्ठताका आधारमा नियुक्ति गर्न सरकारको ध्यानकर्षण गराएका छन् । यदि माग पुरा नभए कुनैपनि बेला अनशन बस्न सक्ने चेतावनी समेत दिएका छन् ।

यतिबेला जुम्लामा रहेका डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने, प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइनुपर्ने, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने, बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिस्चित गरिनुपर्ने, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरिनुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
डा. केसीले यसभन्दा अघि २ पटक अनशन स्थगित गरिसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कार्यकारी निर्देशक, #डा. केसी, #त्रिवि शिक्षण अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ