२०८३ कात्तिक ११, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक

विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक


म्याड्रिड (स्पेन)—विश्वको प्रतिष्ठित क्यान्सर विज्ञ सञ्जालमध्ये एक युरोपियन सोसाइटी फर मेडिकल अंकोलोजी (ईएसएमओ)ले सन् २०२६ को ‘लिडरसिप एन्ड करियर डेभलपमेन्ट अवार्ड’का लागि विश्वभरबाट २८ जना उदीयमान क्यान्सर विशेषज्ञ छनोट गरेको छ । उक्त सूचीमा दुई जना नेपाली क्यान्सर विशेषज्ञ परेका छन् ।

सूचीमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. विवेक घोष र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. रजनी झा परेका हुन् । २३ देखि २७ अक्टोबरसम्म म्याड्रिडमा सम्पन्न ईएसएमओ कंग्रेसमा उनीहरूलाई सम्मानित गरिएको हो ।

‘विश्वका अग्रणी क्यान्सर केन्द्रहरूका प्रतिभासँग प्रतिस्पर्धा गरेर क्यान्सरको बढ्दो भार, सीमित स्रोत र अनुसन्धानका कम अवसर भएको नेपालजस्तो देशका दुई युवा चिकित्सकले यो मान्यता पाउनु हाम्रो स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक क्षण हो,’ सूचीमा परेकामध्ये एक डा. विवेक घोषले भने ।

डा. विवेकले एम्स नयाँदिल्लीबाट स्नातकोत्तर गरेका छन् र क्यानाडाको क्यान्सरकेयर मनिटोबा तथा युनिभर्सिटी अफ मनिटोबाबाट एडभान्स्ड रेडिएसन अंकोलोजी फेलोसिप पूरा गरेका छन् । विदेशमा आर्जेको ज्ञानलाई स्वदेशमै प्रयोग गर्दै उनी पूर्वी नेपालमा गुणस्तरीय क्यान्सर उपचार विस्तार गर्न लागिपरेका छन्।

डा. रजनीले बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी (बीएसएमएमयू), ढाकाबाट अंकोलोजी रेसिडेन्सी पूरा गरेकी हुन् । उनी क्लिनिकल अभ्यासमा संलग्न हुँदै नेपाली समुदायमा क्यान्सरबारे जनचेतना फैलाउन सक्रिय रहनुका साथै देशभर क्यान्सर सेवाको पहुँच बढाउन सक्रिय छन् ।

यो पुरस्कारले उपलब्ध गराउने नेतृत्व तालिम, अनुसन्धान विकास र अन्तर्राष्ट्रिय सहकार्यको अवसरलाई उनीहरूले स्थानीय तथ्याङ्कमा आधारित अध्ययन, प्रमाणमा आधारित उपचार र राष्ट्रिय क्यान्सर नियन्त्रण नीतिको सुधारमा लगाउने लक्ष्य राखेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ