काठमाडौं—औषधि व्यवस्था विभागले सञ्चालन गर्दै आएको अनलाइन औषधि प्रशासन व्यवस्थापन प्रणाली (Drug Administration Management System–DAMS) सेवा प्राविधिक समस्याका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । ९ कात्तिकमा विभागकी सहायक सुचना अधिकारी विनला जोशीले एक सूचना जारी गर्दै प्रणालीमा आएको समस्याका कारण अनलाइनबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू हालका लागि बन्द रहेको जनाएकी छन् ।
विभागका अनुसार ड्याम्स सफ्टवेयरमा अचानक देखिएको पीएचपी सम्बन्धी प्राविधिक समस्याका कारण अनलाइन सेवा सञ्चालन हुन नसकेको हो । यसबाट विभागमार्फत प्रदान गरिने अनलाइन सेवामा निर्भर सेवाग्राहीहरू प्रभावित भएका छन् ।
विभागले जारी गरेको सूचनामा विद्युतीय सेवा प्रणालीमा आएको आकस्मिक अवरोधका कारण अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन सेवा पूर्ण रूपमा अवरुद्ध रहने उल्लेख गरिएको छ । साथै, प्राविधिक समस्या समाधान गरी सेवा पुनः सञ्चालनमा ल्याइने र त्यससम्बन्धी जानकारी विभागको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने विभागले जानकारी दिएको छ ।
विभागले सेवाग्राहीलाई थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट नियमित रूपमा हेर्न अनुरोध गरेको छ । औषधि व्यवस्था विभागले सेवामा आएको अवरोधबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै सहयोग र समझदारीका लागि आग्रह गरेको छ ।
सेवा पुनः सञ्चालनबारे विभागको अर्को आधिकारिक सूचना नआएसम्म सेवाग्राहीले वेबसाइटमार्फत जारी हुने अद्यावधिक जानकारीमा ध्यान दिनुपर्नेछ ।
