२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टEXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ?

EXCLUSIVE: उपत्यकाभित्र वीर अस्पताल गुठीको १००० रोपनी जग्गा कसको नाममा छ ?


काठमाडौं—देशकै ठूलो र पूरानो अस्पताल स्थापना गर्दैगर्दा संस्थापक वीर शमशेरले बिरामीको उपचार र खानपानको व्यवस्था गर्न सहज होस भनेर वीर अस्पताल गुठी स्थापना गरेका थिए । उनले सो गुठीबाट प्राप्त आम्दानीबाट उपचारका लागि आउने बिरामीलाई खाना खुवाउने व्यवस्था रहेको वीरको इतिहासमा उल्लेख छ ।

तर, अहिले सो गुठी अन्तर्गतका कति जग्गा छ र कुन अवस्थामा छ भन्ने सही तथ्यांक छैन । वीर अस्पतालका जानकारहरुकाअनुसार वर्षौदेखि गुठीको आम्दानी वीर अस्पतालले उपभोग गर्न पाएको छैन ।

हेल्थ आवाजले वीर अस्पताल अन्तर्गतको गुठीमा आवद्ध जग्गाको पूरानो अभिलेख प्राप्त गरेको छ । जसमा वीर अस्पताल गुठी अन्तर्गत काठमाडौं उपत्यकामा १ हजार रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिका नाममा पाइएको छ । यस्तै, उपत्यका बाहिर (झापा, मोरङ, बाँके, पर्सा, रुपन्देहीलगायतका जिल्लामा) ४ हजार रोपनीभन्दा बढी जग्गा वीर अस्पताल गुठीको भनेर उल्लेख गरिएको छ । त्यसैगरी, नुवाकोटमा पनि वीर अस्पताल गुठीका नाममा सयौं रोपनी जग्गा रहेको सो अभिलेखमा उल्लेख छ ।

प्राप्त अभिलेखमा पूर्व प्रधामन्त्री लोकेन्द्रबहादुर चन्दका नाममा रहेको जग्गा पनि वीर अस्पताल गुठी अन्तर्गत छ । वीर अस्पताल गुठीको नाममा हजारौं रोपनी जग्गा रहेको भन्ने आफूले सुनेतापनि कहाँ कुन अवस्थामा छ भनेर थाहा नभएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरी बताउँछन् । पछिल्लो समयमा आएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले जग्गा खोजविन गर्न रजिष्ट्रार डा. सुवोध अधिकारीको संयोजकत्वमा समिति बनाएको छ । वीर अस्पताल स्रोतका अनुसार सो समितिले काम भने अगाडि बढाएको छैन ।

२०६६ सालमा सरकारले स्वास्थ्य मन्त्रालयका तत्कालीन सह—सचिव दुर्गा मानन्धरको संयोजकत्वमा वीर अस्पतालअन्तर्गत गुठी जग्गा छानविन समिति बनाएको थियो । सो समितिको सदस्य सचिवको रुपमा स्वर्गीय समाजसेवी धुव्रलाल जोशी रहेका थिए । उनैले नेपाल सरकारलाई पटक—पटक पत्र पठाई वीरको गुठी जग्गा खोजविनको लागि ताकेता गरेका थिए । देशभरका जिल्ला मालपोतबाट लगत झिकाइ उनले वीर अस्पताल गुठी जग्गा पत्ता लगाएर २४ साउन २०६७ मा प्रतिवेदन तयार गरी वीर अस्पताललाई बुझाएका थिए ।

सो प्रतिवेदन वीर अस्पतालका तत्कालीन प्रशासनमा कार्यरत देवीप्रसाद लामिछाने बुझेका थिए । ‘जोशीले धेरै मेहनत गरेर गुठी जग्गा पत्ता लाउनुभएको थियो,’ लामिछानेले हेल्थ आवाजसँग भने, ‘म त्यसबेला प्रशासनमा थिए । मलाई बुझिदिनु भनेको हुँदा बुझेको हुँ ।’

पछिल्लो समय वीर गुठीको जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ । यसको आम्दानीको विषयमा वीर अस्पताललाई सोधेपछि वीर अस्पतालले गुठी संस्थानलाई पत्राचार गरेको हाल मेडिकल रेकर्ड शाखामा रहेका लामिछाने बताए ।

छानविन समितिले बुझाएको प्रतिवेदनअनुसार उपत्यकाकाका तीनै जिल्लामा रहेको १ हजार रोपनीभन्दा बढी जग्गा ३ सय ३० कित्तामा रहेको छ । त्यति नै व्यक्तिको नाममा धनी पूर्जा रहेको छ । तर, वर्षौदेखि त्यत्रो जग्गाको आम्दानी भने वीर अस्पताललाइ शुन्य छ ।

कहाँ कति र कसका नाममा छ वीर अस्पताल गुठीको जग्गा ? 

 


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ