२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलडा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड

डा. अंशुमाली जोशीः इन्डोक्राइनका नेपाली ब्राण्ड


नेपालका चल्तीका इन्डोक्राइनोलोजिष्टहरुको नाम लिने बितिकै डा. अंशुमाली जोशीको नाम अग्रपंक्तिमा आउँछ । अहिलेका व्यस्त चिकित्सक डा. जोशीको नामैले बिरामीहरु उनलाई खोज्दै अस्पताल पुग्छन् । नयाँदिल्लीस्थित प्रतिष्ठित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)बाट इन्डोक्राइनोलोजीमा डिएम गरेका उनी दैनिक दर्जनौ बिरामी हेर्छन् । बिरामी निको बनाएर फर्काउनुमा सर्वोत्तम खुशी अनुभूत गर्ने यी चिकित्सक विहान ७ बजेदेखि साँझ ९ बजेसम्म बिरामी हेर्नेमै व्यस्त रहन्छन् ।

पोखरा फुलवारीका स्थायी निवासी डा. जोशी २०३३ सालमा तत्कालीन साइनिङ अस्पताल पोखरामा जन्मिएका हुन् । उनका बुवा गोविन्दप्रसाद जोशी पृथ्वीनारायण क्याम्पसमा शिक्षा विभागका लेक्चरर थिए । त्यही कारण उनको बाल्यकालको अधिकांश समय पृथ्वीनारायण क्याम्पस कम्पाउण्ड भित्रै बितेको हो । डा. जोशी दुई कक्षामा पढ्दा  उनकी जन्मदिने आमा हंसनाकुमारी जोशीको छाती रोग कारण स्वर्गवास भयो । उनको हुर्काइमा उनकी दोस्री आमा मैया जोशीको भूमिका महत्वपूर्ण रह्यो ।

डा. जोशीको बाल्यकालमा साथीहरुको समूह थियो, जे गर्दा पनि समूहमै गर्थे । नजिकै सेती खोला र काली खोला, त्यो भन्दामाथि काउडाँडा । डाँडा, खोला र जंगलको प्राकृतिक मनोरमपूर्ण वातावरणमा उनी हुर्किएका हुन् । ‘त्यो बाल्यकाल त अहोभाग्य नै हो,’ उनी नोस्टाल्जिम सुनिन्छन् । ‘मेरो पूरै बाल्यकाल पृथ्वीनारायण क्याम्पसभित्रै बित्यो,’ त्यो बाल्यकाल सम्झदैं उनी भन्छन्, ‘सबै बच्चाहरुले त्यस्तो बाल्यकाल जिउनुपर्ने हो । त्यो बेलाको खुल्ला वातावरण अहिलेका बालबालिकाले पाउँदैंनन् ।’

माउण्ट अन्नपूर्ण स्कुलबाट उनको शिक्षादीक्षा अगाडि बढेको हो । त्यहीबाट उनले २०४९ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरे । अन्नपूर्ण स्कुलमै क्याम्पसमा पनि भएकाले उनले त्यही नै आइएस्सी अध्ययन सुरु गरे । त्यहाँबाट २०५१ सालमा उनले आईएस्सी उत्तीर्ण गरे । ‘स्कुल जीवनमा पढाइ पनि गरिन्थ्यो, रमाइलो पनि गरिन्थ्यो,’ स्कुल जीवन सम्झदैं उनी भन्छन्, ‘फुटबल, बाँस्केटबल, टेबल टेनिस सबै खेलियो ।’ उनी क्रिकेट, फुटबल र टेबलटेनिस बढी मन पराउँथे । प्रतिस्पर्धामा पनि गैरहेका हुन्थे ।

स्कुल जीवनमा उनलाई साहित्यमा बढी रुचि थियो । लाइबेरीबाट कथा, कविता र उपन्यास नै पढ्थे । ‘पाठ्यक्रमभन्दा पनि अतिरिक्त क्रियाकलापतिर बढी ध्यान थियो,’ डा. जोशी भन्छन्, ‘विज्ञानको समूह नै बनाएर डिस्कसन चलाउँथे ।’ स्कुल पढ्दैदेखि उनको सपना डाक्टर वा इन्जिनियरमध्ये एक बन्ने थियो । आईएस्सी पढ्न थालेपछि भने उनले करिअर केन्द्रित रहेर विषय छनोट गरे । ‘बायोलोजी पढियो र राम्रै पनि गरियो,’ उनले सुुनाए, ‘एमबीबीएस पढ्नका लागि बायोलोजी रोजे ।’ आईएस्सी सकेपछि फुर्सदको केही समय उनले अन्नपूर्णमै पढाए ।

त्यो बेला मन्त्रालयलगायतका ठाउँमा छात्रवृत्तिमा एमबीबीएसको सिटका लागि लड्न पाइन्थ्यो । उनले पनि त्यसमा भाग लिए । सन् १९९४ मा मन्त्रालयकै छात्रवृत्तिमा मणिपाल मेडिकल कलेजमा एमबीबीएस पढ्ने अवसर पाए । ‘हामी मणिपालको एमबीबीएसको दोस्रो ब्याच हो,’ डा. जोशी भन्छन्, ‘सरकारी कोटामै एमबीबीएस पढे ।’ आफ्नै ठाउँ भएपनि उनले एमबीबीएस होस्टेलमै बसेर पढेका हुन् । एमबीबीएसका सुरुवाती दिनमा उनलाई आईएस्सी र एमबीबीएस बीचमा केही ग्यापजस्तो अनुभव भयो । ‘ब्रिज कोर्स नगरेकाले पनि त्यसो भएको हुन सक्छ,’ डा. जोशी एमबीबीएस अनुभव बाँड्छन्, ‘त्यही ग्यापले गर्दा सुरुसुरुमा टफ महसुस भयो ।’ भारतलगायतका विभिन्न देशमा आउने विद्यार्थी र नेपालीभित्रकै पनि विभिन्न ठाउँका विद्यार्थीहरुका कारण मणिपालको माहोल अलग बन्यो । ‘इन्टरनेशनल माहोल बन्यो,’ उनी सुनाउँछन्, ‘साथीहरु पनि राम्रा—राम्रा भेटिए । राम्रोसँग पढाइ भयो ।’

एमबीबीएसका पाँच वर्षमा उनले डाक्टरी सर्टिफिकेटबाहेक के हासिल गरे ? मणिपालका प्राध्यापकहरुबाट धेरै कुरा सिक्न पाएको उनी बताउँछन् । ‘मणिपालको मुख्य केन्द्र भारतको मणिपाल भएकाले त्यतिबेला एमबीबीएस पढाउन धेरै त्यहीबाट आउथे । उहाँहरुको पढाउने सीपदेखि नजिक हुन पाउनु अर्को ठूलो उपलब्धि भयो,’ उनले भने, ‘उहाँहरुको सादगीपन, पढाउने तरिका, पढाइप्रतिको लगाव, मेहनत र एटिट्युड प्रभावित पार्ने खालको थियो ।’ उनले सन् २००० मा एमबीबीएस सके ।

एमबीबीएसपछि एक वर्षको इन्टर्नसीप बित्यो । त्यतिबेला मणिपालको अस्पताल पूर्ण रुपमा बनिसकेको थिएन् । त्यसैले ६ महिला पश्चिमाञ्चल अस्पताल र ६ महिना मणिपालको अस्पतालमा इन्टर्न गरे । इन्टर्न सकेपछि एक वर्ष उनी फ्रीजस्तै भए । ‘त्यो बेला मैले प्रोजेक्टमा काम गरे,’ उनी भन्छन्, ‘आईएमसीआई प्रोजेक्ट । जुन कान्ति अस्पतालका पेडियाट्रिकका चिकित्सकले चलाउँथे । त्यसमा काम गरे ।’ यो कार्यक्रममा देशका विभिन्न अस्पतालमा गएर एचए, सीएमहरुलाई बालवालिकाको रोग पत्ता लगाउने र उपचारका बारेमा तालिम दिनुपथ्र्यो । ६ महिना त्यसमा काम गर्दा उनी देशका विभिन्न जिल्लाका अस्पताल पुगे ।

डा. जोशी पुनः मेडिकल अफिसरका रुपमा मणिपालमा काम गर्न थाले । त्यो बेला मणिपालले हरेक विभागबाट एक जनालाई पश्चिमाञ्चल अस्पतालमा काम गर्न पठाउनुपथ्र्यो । उनले मणिपालको जागिरेका भएर पश्चिमाञ्चल अस्पतालमा एक वर्ष काम गरे । त्यतिबेला डा. वुद्धिबहादुर थापा, डा. बसन्त ताम्राकारलगायतका सिनियर चिकित्सकसँग काम गर्ने अवसर पाए । ‘बिरामीको फ्लो पनि एकदमै बढी, त्यहाँ मैले धेरै कुरा सिक्न पाए, त्यहाँको सिकाइप्रति म एकदमै आभारी छु,’ उनी अनुग्रहित देखिए, ‘त्यहाँ सिनियर डक्टरहरुप्रति पनि आभारी छु ।’

मेडिसिनमा एमडी, चीनमा अध्यापन

एमबीबीएस र त्यसपछिका केही वर्ष काम गरेपछि उनमा उच्च शिक्षा हासिल गर्ने तिर्खा सुरु भयो । त्यही बेला पाकिस्तानको मेडिसिनअन्तर्गतको ‘एफसीपीएस’ कार्यक्रममा उनी छनोट भए । त्यहीअन्तर्गत मेडिसिनमा नाम निकाले, त्यसको सुरुको तालिम नेपालमै हुन्थ्यो । त्यो प्रोग्रामअन्तर्गत वीर अस्पतालमा एक वर्ष काम गरे । त्यही क्रममा उनले सन् २००४ मा त्रिवि चिकित्सा अध्ययन संस्थानमा एमडीमा नाम निकाले ।

पहिलो पटक एमडीमा नाम निस्कँदा काउन्सिलिङको अघिल्लो दिन पोखरामा उनको विहेको रिसेप्सन थियो । उनले डा. सिर्जना कर्माचार्यसँग लभ—एरेन्ज म्यारिज गरेका हुन् । ‘पहिलो पटक एमडीमा नाम निकाल्दा काउन्सिलिङको अघिल्लो दिन पोखरामा मेरो विवाहको रिसेप्सन थियो,’ उनी विवाहको किस्सा सुनाउँछन्, ‘भोलिपल्ट फ्लाइट लिएर काठमाडौं आउँदा मेरो काउन्सिलिङको पालो सकिसकेको थियो । अन्तिमममा चाहेको विषय पाइन् । त्यही कारण अर्को वर्षमात्रै एमडी पढे ।’ विवाहपछि अर्को पटक सन् २००५ मा उनले त्रिवि चिकित्सा अध्ययन संस्थानमा एमडीमा नाम निकाले । उनले सन् २००७ मा आईओएमबाटै मेडिसिनमा एमडी सके । ‘टिचिङको राम्रो वातावरणमा धेरै कुरा सिक्ने अवसर पाइयो,’ उनी भन्छन्, ‘अनुभवी शिक्षक र बिरामीहरुको फ्लो पनि धेरै ।’

एमडीको अन्तिम परीक्षा दिएर उनी चीनको हेनानको सिनच्याङमा एमबीबीएसका विद्यार्थीहरुलाई पढाउन गए । सिनच्याङ मेडिकल युनिभर्सिटीमा नेपाल र भारतबाट विद्यार्थी शिक्षक लिएर एमबीबीएस पढाइन्थ्यो । ‘म र डा. अजय सिनच्याङ गयौै,’ उनी भन्छन्, ‘दुई सेमेष्टर मैले त्यहाँ एमबीबीएसको विद्यार्थीहरुलाई पढाए । त्यो फरक खालको अनुभव थियो ।’ चीनको बसाइमा उनले त्यहाँमा नागरिकको देशप्रतिको भावना र डेडिकेसन देखेर उनी प्रभावित भए । चीनबाट फर्केर उनी मणिपालमा फिजिसियनका रुपमा काम गर्न थाले । त्यहाँ ८ महिना बिताएपछि उनी एमडीपछिको फरदर एजुकेशनका लागि अवसरको खोजीमा लागे ।

दोमन बनाउँदैं एम्स

६ महिनाअघि उनका एमडीका क्लासमेट डा. ओममूर्ति अनिलले एम्समा डिएम कार्डियोलोजीमा नाम निकालेका थिए । एम्समा अवसर बारेमा उनले सोधे, ‘डा. ओम, त्यहाँ कस्तो छ ?’

डा. ओममूर्तिले उत्तर दिए, ‘टफ त टफ छ । तर, पढाइ राम्रो छ ।’

भारतका सरकारी संस्थाहरुमा एम्सलाई नम्बर वान नै मानिन्छ । एम्समा ६—६ महिनामा इन्ट्रान्स हुन्छ, जसमा कोटाहरु छुटाइएको हुन्छ । ‘फरेन र स्पोन्सर कोटा भन्ने हुन्छ,’ डा. जोशी भन्छन्, ‘हामीले फरेन कोटामा लड्नुपर्छ ।’ ६ महिनापछि ठ्याक्कै इन्ट्रान्स हुने समय भैरहेको थियो । सिटहरु हेरे, कार्डियोलोजी, न्यूरोलोजीमा खासै सिटहरु थिएनन् । इन्डोक्राइनोलोजीमा एक सिट रहेछ । ‘त्यो बेला इन्डोक्राइनोलोजी भनेको डाइबटिज र थाइराइड मात्रै भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘खासै त्यति आइडिया पनि थिएन ।’ यही कारण उनमा इन्डोक्राइनोलोजीमा जाने कि नजाने भन्ने दुविधा उत्पन्न भयो ।

तर, एम्सको अनुभव संगाल्ने भन्दैं उनी एम्समा इन्ट्रान्स दिन गए । नयाँदिल्लीमा गएर पहिले लिखित परीक्षा दिए, नाम निस्कियो । अन्तर्वार्ता भयो, त्यसमा पनि नाम निकाले । ‘पढ्ने कि नपढ्ने भनेर अलिकलि दोधारमा त दोधारमै थिएँ,’ डा. जोशी भन्छन्, ‘तर, एम्समा पाएको सिट, इन्डोक्राइनोलोजीको यसो हेरे फ्युचर पनि राम्रै होलाजस्तो देखे । त्यो बेला नेपालमा इन्डोक्राइनोलोजीमा सुपर स्पेशसियालिटी हासिल गरेका धेरै जना पनि थिएनन् ।’ दोमन हुँदाहुँदै पनि उनी इन्डोक्राइनोलोजीमा डिएम गर्न एम्स गए । ‘मैले रोजेको विषय चाहिँ थिएन, तर दोमन भएपनि पनि गएँ,’ उनी एम्स जानुपूर्वको किस्सा सुनाउँछन् ।

तर, जब उनी एम्स गएर इन्डोक्राइनोलोजी अध्ययन गर्न थाले । बल्ल उनले त्यसको महत्व थाहा पाए । भन्छन्, ‘इन्डोक्राइनोलोजी भनेको थाइराइड र डाइबटिज मात्रै होइन रहेछ । हर्मोन सम्बन्धिमा यसमा धेरै कुरा रहेछन् ।’ त्यही कुराले उनमा इन्डोक्राइनोलोजीमा टस बसायो । सन् २००९ देखि सन् २०११ को अन्तिमसम्म तीन वर्ष उनले एम्समा निकै दुःख गरे ।

दक्षिण एसियाकै मोडल संस्था मानिने एम्सको अनुभव कस्तो रह्यो त ? ‘जति मैले त्यहाँ मेहनत गरे, अहिलेसम्म त्यति मेहनत गरेकै थिइन्,’ डा. जोशी एम्सको वातावरणबारे भन्छन्, ‘म मात्रै होइन्, त्यहाँ पढ्ने सबैको अनुभव यस्तै हुन्छ ।’ एम्समा जुनियर रेसिडेन्ट (जेआर) र सिनियर रेसिडेन्ट (एसआर) भन्ने हुन्छ । एमडी पढिरहेकालाई जेआर भन्छ, डिएम गरिरहेकाहरुलाई एसआर हुन्छन् । ‘त्यहाँ जेआरहरुलाई त्यति धेरै जिम्मेवारी हुँदैन्, लाइट नै हुन्छ । एसआरहरुलाई भने सबै जिम्मेवारी हुन्छ,’ उनी सुनाउँछन्, ‘ब्लड तान्ने, कन्सल्टेन्सदेखि हिस्ट्री लिनेसम्मका मात्रै होइन्, डिस्चार्ज गर्दा फ्लोअपमा आउनका लागि आफ्नो नम्बर दिनेसम्मका काम एसआरले नै गर्नुपर्छ ।’

एम्समा कस्तो रहेछ भने एक जना बिरामीको जिम्मेवारी लिएपछि त्यसको सबै कुरा एसआर आफैले गर्नुपथ्र्यो । त्यसबाहेक प्रिजेन्टेन्ट र त्यहाँ गरिने हार्ड वर्क, उस्तै शिक्षक भएको ठाउँमा पढाइको अवसर पाउनुमा उनी आफूलाई भाग्यमानी ठान्छन् । ‘त्यो इम्प्रेसन परेपछि लाइफमा जस्तो र जहाँ गएर पनि काम गर्न सकिने मेन्टालिटी बन्छ,’ डा. जोशी थप्छन्, ‘गाह्रो र चुनौतीपूर्ण त हुन्छ । तर, त्यसको फाइदा धेरै छ ।’ एम्समा निकै बिरामी फ्लो हुन्छ र सबै प्रकारका बिरामी हेर्ने अवसर पनि छ । ‘त्यो रिफरल सेन्टर भएकाले भारतको सबै ठाउँबाट बिरामी रिफर भएर त्यहाँ आउँछन्, जनरल केसहरुलाई त्यहाँ खासै लिदैनन्,’ उनी थप्छन्, ‘रिफरल केसहरु हुन्छ, सबै किसिमका डिजिजहरु हेर्न पाइन्छ । अनुभव एकदमै राम्रो हुन्छ । त्यो लेभलको पढाइ सायद अरु ठाउँमा हुँदैन् होला ।’ डा. जोशीकाअनुसार इन्डोक्राइनमा धेरैजसो रोगहरु रियर नै हुन्छन्, तर एम्समा ती सबै ठाउँबाट आउने भएकाले ती रोगकहरु पनि कमन नै हुन्थे । एम्समा सबै कुरा क्याम्पसभित्रै हुने भएकाले त्यति धेरै फुर्सदको समय पनि हुन्थेन्, खर्च पनि कम हुन्थ्यो ।

दैनिक १ सय बढी बिरामी हेर्छन्

सन् २०११ को अन्तिममा एम्सबाट डिएम सकेपछि डा. जोशी नेपाल फर्किए । सुरुवाती केही समय नर्भिक इन्टरनेशल हस्पिटलमा बिताए । एक वर्ष त्रिवि शिक्षण अस्पतालमा काम गरे । त्यसपछि उनी अल्का अस्पतालको काठमाडौं डाइबटिज एण्ड थाइराइड सेन्टरमा काम गर्न थाले । त्यही बेलादेखि डा. जोशी फूलटाइम काठमाडौं डाइबटिज एण्ड थाइराइड सेन्टर र पार्टटाइम विहान सरोवर क्लिनिक महाराजगन्जमा बिरामी हेर्छन् ।

कोभिड—१९ नहुँदा डा. जोशी दैनिक एक सय बढी बिरामी हेर्थे । अहिले कोभिडका कारण बिरामीको संख्या ५० प्रतिशत कम मात्रै हेर्ने गरेको उनी बताउँछन् । ‘पहिले विहान ११ बजेदेखि ओपिडी सुरु गरेर साँझ साढे ९ बजेसम्म चल्थ्यो,’ उनी भन्छन्, ‘अहिले कोभिडका कारण साढे ७ बजेसम्म ओपिडी बन्द भैसक्छ ।’ कोभिडको चुनाैतीका बेला पनि उनले फ्रन्टलाइनमा रहेर बिरामी हेरिरहेका छन् ।

पछिल्ला ९ वर्षदेखि निरन्तर बिरामी हेरिरहेका डा. जोशी नेपालमा पनि इन्डोक्राइन सम्बन्धी रोगहरु रहेको बताउँछन् । ‘डाइबटिज त कमन्नली नै छ, त्यो बढिरहेको पनि छ, थाइराइड पनि उस्तै छ,’ उनी अनुभव सुनाउँछन्, ‘त्यो बाहेक इन्डोक्राइन हर्मोन सम्बन्धी अन्य रोगहरु पनि धेरै छन् । हर्मोनको रोगले टाउकोदेखि खुट्टासम्मलाई असर गर्छ ।’ महिला पुरुष प्रजनन स्वास्थ्यका समस्याहरु पनि छन् । डा. जोशीकाअनुसार मुटु ढुकढुक हुनुलाई हामीले मुटु रोगको लक्षण ठानिरहेका हुन्छौं, तर कहिलेकाही हर्मोनका कारण पनि हुन सक्छ । झाडापखाला पेटको रोगमात्रै नभएर हर्मोनका कारणले पनि हुन सक्छ ।

मर्निङ वाकमै राउण्ड

डा. जोशी विहान ५ बजे उठिसक्छन् । नियमित कर्म गर्छन् । बसाइँ पनि नजिकै भएकाले उनी मर्निङ वाकमै वार्डमा रहेका बिरामीको राउण्ड सक्छन् । ‘मर्निङ वाक राउण्ड लिदैंमा सकिन्छ,’ डा. जोशी भन्छन्, ‘अल्का र एकान्त कुनामा रहेको अल्का टु मर्निङ वाकमै राउण्ड लिन्छु ।’

त्यसपछि उनी घर फर्केर ब्रेकफास्ट लिन्छन् । जसमा दुई पिस डाइजेस्टिभ विस्कुट, अलिकति चना, एउटा बोयल अण्डा र चिया हुन्छ । विहान पौने ७ बजेतिर डा. जोशी बिरामी हेर्न महाराजगन्जस्थित सरोवर क्लिनिक पुगिसकेका हुन्छन् । त्यहाँ उनको ७ बजे ओपिडी सुरु हुन्छ । साढे १० बजेसम्म सरोवरमा बिरामी हेरेपछि उनी घर फर्किन्छन् ।

घरमा लन्च लिन्छन् । लन्चमा राइस, तरकारी र सलाद हुन्छ । साढे ११ बजे उनी अल्का अस्पताल पुगेर ओपिडी सुरु गरिसक्छन् । तीन चार बजेतिर ब्रेक लिन्छन् । ब्रेकमा उनी खाजा खान घर पुग्छन् । खाजामा भने विविधता हुन्छ । त्यसपछि केही समय रेष्ट गरेपछि पुनः अल्का पुग्छन् र बिरामी हेर्न सुरु गर्छन् । ७—८ बजेतिर अस्पतालमै केही सलाद लिन्छन् । साँझ घर फर्केपछि उनको रात्रीको डिनर भने एकदमै लाइट हुन्छ, थोरै फ्रुट र एक कप दुधमात्रै खान्छन् । एकछिन अध्ययनमा जुट्छन् । सामान्यतयाः ११ बजेसम्म उनी बेडमा पुगिसक्छन् ।

फुर्सदको समयमा उनी छोरा र परिवारलाई समय दिन्छन् । कहिलेकाही घुमघाममा निस्कन्छन्, कहिले घरमै बस्छन् । फुर्सदमा उनी विभिन्न भाषाका फिल्म हेर्छन्, साहित्यमा पनि उनको रुचि छ । उनलाई सबैभन्दा मन परेको उपन्यास इन्द्रकुमार राईको बसाइँ हो । डा. जोशीलाई साधारण अनौपचारिक पहिरन पर्छ । टिसर्ट, सर्ट, पाइन्ट उनले धेरैजसो लगाउने पहिरन हुन् । जुत्ता भन्दा चप्पल लगाउन रुचाउछन् ।

उनको मुख्य प्रेरणाका स्रोत उनका बुवा हुन् । त्यसबाहेक स्कुलदेखिका सम्पूर्ण गुरुहरुलाई पनि आफ्नो प्रेरणा मान्छन् । एमबीबीएस अध्ययन गराउने भारतका शिक्षक डा. के.जे. सेठ्ठी र एम्सका मेडिसिन विभागका तत्कालीन प्रमुख डा. ए.सी. अम्मीनीबाट पनि उनी धेरै प्रभावित छन् । ‘उहाँहरु दुई जनाले मलाई निकै राम्रो गाइड गर्नुभयो, उहाँहरुप्रति आभारी छु,’ डा. जोशी भन्छन् ।

इन्डोक्राइनका सम्पूर्ण सेवा बिरामीहरुलाई नेपालमै उपलब्ध गराउने सपना उनले देखेका छन् । ‘यो फिल्डका सबै बिरामीलाई नेपालमै सेवा दिन सकियोस्, सकेसम्म बाहिर जान नपरोस्,’ उनी आफ्नो सपना सुनाउँछन् । डा. जोशी आफै पनि स्वास्थ्य शिविरहरु लिएर पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरुमा पुगिरहेका हुन्छन् । उनी संलग्न सेन्टरबाटै वर्षमा दुई वटा शिविर हुन्छन्, जसमा बिरामीको उपचारदेखि जनचेतनाका कामसम्म हुन्छन् । ठाउँ—ठाउँमा फ्री स्क्रीनिङका कामहरु पनि गरिरहेका हुन्छन् ।

डा. जोशीलाई सबैभन्दा खुशी के कुराले दिलाउँछ ? ‘बिरामी हेर्दा नै मलाई सबैभन्दा खुशी अनुभव हुन्छ,’ यी चिकित्सक आफ्नो खुशीको कारण सुनाउँछन्, ‘उहाँहरुसँग डिलिंग गरेर सबै बिराम ठीक पार्न पाउनुमा सबैभन्दा ठूलो स्याटिस्फ्याक्सन छ ।’


तस्वीरहरूः नवराज वाग्ले/हेल्थ आवाज


क्याटेगोरी : प्रोफाइल
ट्याग : #एम्स, #डा. अंशुमाली जोशी, #डाइबटिज, #थाइराइड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ