२०८२ भदौ १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित

बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित


जुम्ला—तिला गाउँपालिका–३ कुडारीस्थित स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय राखिएको छ । दुई वर्षदेखि स्वास्थ्य चौकीको भवनमा ३ नम्बर वडा कार्यालय राखिएको हो ।

जसका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ । बिरामी जाँच्ने, औषधि उपचार गर्ने स्वास्थ्य चौकीमा वडा कार्यालय राखिनु वडाध्यक्षको हस्तक्षेप भएको स्थानीय बताउँछन् । वडा कार्यालय सरकारी संरचना भएपनि जनप्रतिनिधि वडाध्यक्ष, सदस्य राजनीतिक पार्टीबाट निर्वाचित भएका व्यक्ति हुन्छन् ।

राजनीतिसँग जोडिएको वडा कार्यालय भएकोले बेला—बेला विभिन्न वादविवाद, छलफल, बन्द, हड्ताल भइरहने हुन्छ । जसका कारण स्वास्थ्य चौकीले प्रवाह गर्ने स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।

१६ भदौंमा वन सम्बन्धीको वडा सिफारिसका विषयमा विवाद भएर स्वास्थ्य चौकीको भवनमा रहेको वडा कार्यालयमा करिब ९० जनाको संख्यामा आएका स्थानीयले तालाबन्दी नै गरेका छन् ।

तालाबन्दीले स्वास्थ्य चौकीमा आउने बिरामीलाई स्वास्थ्यकर्मीले चेकजाँच र उपचार गर्न कठिन भएको थियो ।

स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय राखिदा निकै समस्या भोग्नु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । यहाँ प्रसुति सेवा गृह पनि छ । साउनदेखि यता ९ जना महिला सुत्केरी भएका छन् । गत वर्ष २६ जना सुत्केरी भएका थिए । स्वास्थ्य चौकीमा दैनिक १०/१५ जना औषधि उपचारका लागि आउने गरेका छन् ।

स्वास्थ्य चौकीजस्तो संवेदनशील ठाउँमा वडा कार्यालय राखेर सेवा प्रभावित भएका छ । स्वास्थ्य चौकीकै ५/६ वटा शाखा हुन्छन् । ‘अहिले सवै शाखा तीन वटा कोठामा सिमित गरेका छौं,’ एक स्वास्थ्यकर्मीले भने, ‘अफिस कोठा र तालिम हल एउटै कोठमा छ । भौतिक संरचना अभाव बनाएर वडा कार्यालय राखिनु दुखद् पक्ष हो ।’

स्वास्थ्य चौकी इन्चार्ज तिलबहादुर शाहीका अनुसार सरकारी भवनमा सरकारी कार्यालय राख्दा फरक नपर्ने प्रतिक्रिया दिए । ‘धेरै कुरा पनि हामीले बुझेनौं । तर, वडामा बन्द हड्ताल हुँदा स्वास्थ्य सेवा प्रवाहमा प्रभाव नै पर्ने रहेछ । यहाँको राजनीतिक, गाउँपालिका, वडा पालिका राखेर तत्काल उपयुक्त निर्णय लिने छौं,’ उनले भने ।

वडाध्यक्ष धनबहादुर शाहीले भने भाडाको घरमा वडा कार्यालय राख्नुभन्दा सरकारी संरचना स्वास्थ्य चौकी भवन कार्यालय राखिएको बताए । ‘वडा कार्यालय भएको भवनको जग्गामा १० शय्याको अस्पताल बन्दैंछ । पछि भवन निर्माणपछि स्वास्थ्य चौकी अस्पतालसँग गाभिन्छ । अहिलेको स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय नै रहने योजना छ,’ उनले भने । तर, वडाध्यक्ष शाहीले तत्काल वडा कार्यालयका कारण स्वास्थ्य सेवामा पारेको प्रभावबारे केही बताउन चाहेनन् ।

गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले सहमतिमै स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय राखिएको बुझिएको बताए । उनले भने, ‘वडा कार्यालयका कारण स्वास्थ्य सेवा प्रभावका विषयमा बुझेर निर्णय गर्ने छौं ।’

स्वास्थ्य चौकीको भवनमा वडा कार्यालय राखिनु उपयुक्त नभएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आयार्यले बताए । उनले भने, ‘एउटा कार्यालयले अर्काे कार्यालयलाई प्रभाव पार्ने गरी राखिनु हुँदैन । विकल्पको खोजी गर्नुपर्दछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ