वीरेन्द्रनगर- जिल्ला अस्पताल दैलेखमा आएका बिरामीलाई शय्या अभावले कुर्सीमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो समय जिल्ला अस्पतालको क्षमताभन्दा बढी बिरामी आएपछि कुर्सीमा राखेर उपचार हुँदै आएको हो ।
अस्पतालको भौतिक संरचनाको अभावका कारण शय्यामा राख्ने ठाउँ नहुँदा बिरामीलाई कुर्सीमा राखेर सेवा दिनुपर्ने बाध्यता कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक मनोज विश्वकर्माले बताए ।
अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको विश्वकर्माले बताए ।
‘नागरिकलाई सेवा दिँदै आएको अस्पतालमा स्वीकृत १५ शय्या मात्र हुन् तर बढ्दो बिरामीको चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ ,’ उनले भने,‘जीर्ण संरचना र शय्या राख्ने ठाउँ अभावका कारण दैनिक अस्पताल आउने बिरामीलाई कुर्सीमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ ।’
जिल्लाभरिका पछिल्लो समय दिनमा एक सयदेखि १५० भन्दा बढी नागरिक अस्पतालमा स्वास्थ्य सेवा लिन आउने गरेको विश्वकर्माको जानकारी दिए ।
अस्पतालको सुविधासम्पन्न भवन निर्माणको काम अगाडि बढेको चार वर्षभन्दा बढी भएको छ । निर्माण कार्यले पूर्णता नपाउँदा त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् ।
कर्णाली प्रदेश सरकारको १८ करोड २३ लाख ९९ हजार रुपियाँ लागतमा चार वर्षअघि अस्पताल भवन निर्माण थालेको थियो ।