वीरेन्द्रनगर – निजी अस्पतालमा कार्यरत नर्सलाई न्यून सुविधा दिई श्रम शोषण गरिएको भन्दै त्यसको विरोधमा थालिएको आन्दोलनमा सुर्खेतस्थित प्रदेश अस्पतालका नर्सले ऐक्यबद्धता जनाएका छन् ।
नर्सको न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने भन्दै नेपाल नर्सिङ सङ्घको आह्वानमा उनीहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
नेपाल नर्सिङ सङ्घ सुर्खेतको अगुवाइमा प्रदेश अस्पतालमा नर्सले प्लेकार्डसहित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वीरेन्द्रनगरका निजी अस्पतालमा कार्यरत नर्सको अवस्थाका बारेमा पनि स्थलगत अनुगमन गरेको छ । ‘नर्सको कामको सम्मान गरौँ, श्रम शोषण अन्त्य गरौँ, विदेश जाने वातावरण हटाउनुहोस्, श्रमको अवमूल्यन नगरौँ’ लगायतका नारा उल्लेख भएको प्लेकार्डसहित प्रदेश अस्पतालमा आन्दोलन गरी ऐक्यबद्धता जनाइएका थिए ।
वीरेन्द्रनगरका निजी अस्पतालको स्थलगत अनुगमन गरी त्यहाँ कार्यरत नर्सको अवस्थाबारे जानकारी लिइएको नेपाल नर्सिङ सङ्घ सुर्खेतका अध्यक्ष सकुन्तला सापकोटाले बताइन् ।
‘अनुगमनका क्रममा निजी अस्पतालले कम नर्स राखेको, धेरैजसो अस्पतालमा अनमी मात्रै कार्यरत रहेको, उनीहरूले सट्टा बिदा नपाएको, नौदेखि ११ घण्टासम्म काम गर्नुपर्ने बाध्यता रहेको, श्रम अनुसारको पारिश्रमिक न्यून भएको र अस्पताल पिच्छे पारिश्रमिक फरक फरक दिइएको पाइएको छ,’ उनले भनिन्,‘नर्सको श्रम शोषण भइरहेको हुँदा नेपाल नर्सिङ सङ्घको आह्वानमा देशभर आन्दोलन भएको र त्यसैअनुसार सुर्खेतमा पनि आन्दोलन थालिएको छ ।’
बुधबारदेखि दैनिक १० देखि १२ बजेसम्म अत्यावश्क सेवाबाहेक अस्पतालका सबै सेवा रोक्ने, पेन डाउन गर्नेलगायतका चरणबद्ध आन्दोलन गरिने जानकारी उनले दिइन् ।