२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्थानीयस्तरमा स्वाव परीक्षण प्रयोगशाला बनाउन दबाब

स्थानीयस्तरमा स्वाव परीक्षण प्रयोगशाला बनाउन दबाब


बुटवल–बुटवलको आइसोलेसन अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि स्वाब परीक्षण प्रयोगशाला स्थानीय स्तरमा यथाशीघ्र निर्माण गर्न प्रदेश सरकारलाई दबाब परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले स्वाब संकलन गरी तुरुन्तै काठमाडौं नपठाएका कारण बुटवलको धागो कारखानामा स्थापित आइसोलेसन अस्पतालमा राखिएका व्यक्तिको मृत्युुको कारण अझै खुल्न सकेको छैन ।

निर्देशनालयले एक जनाको मात्रै स्वाब (थुक र खकारको नमुना) काठमाडौं पठाउँदा खर्च धेरै लाग्ने भन्दै तुरुन्तै काठमाडौं पठाएको थिएन । मृत्युको कारण स्पष्ट नहुँदा शव व्यवस्थापन तथा उनको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न विषय अन्योलमा परेको छ ।

सरकारले लकडाउन गरेसँगै विमानस्थल बन्द भएको बहाना बनाएर निर्देशनालयले कोभिड–१९ संक्रमणको आशंका गरिएका बिरामीको स्वाब संकलन रोकेको थियो । एउटा बिरामीको मात्र नमुना पठाउँदा खर्च बढी लाग्ने र स्वाब ओसार्ने सवारी साधन नभएको दाबी गर्दै निर्देशनालयले बिरामीलाई लामो समयसम्म आइसोलेसनमा राख्ने गरेको खुलेको छ ।

बुटवलबाट एकैपटक ७/८ जनाको स्वाब संकलन गरेर पठाउने गरिएको पाइएको छ । त्यसको परिणाम स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले बिरामीको मृत्युको कारण खुलाउन सकेका छैनन् । सामाजिक अभियन्ता किशोर पन्थीले स्थानीयस्तरमा ल्याव स्थापना गरेको भए बिरामीको उपचारमा सहज हुँदा उनको ज्यान बच्न सक्ने बताए । कुन रोग लागेको हो भन्ने कुरा स्पष्ट नहुँदै मृत्यु हुनुमा सरकारको चरम दोष रहेको उनको भनाइ छ ।

अस्पतालको आइसोलेसन वार्डमा चार दिनदेखि उपचार गराइरहेका पाल्पा घर भएर रूपन्देहीको सैनामैना नगरपालिकामा बस्दैं आएका ती युवकको मृत्यु भएको थियो । उनका छिमेकीका अनुसार उनी दुबईमा ट्याक्सी चालक थिए । उनी चैत ६ गते दुबईबाट काठमाडौं आएका थिए ।

काठमाडौंबाट बस चढेर चैत ७ गते परिवारको सम्पर्कमा आए । चैत १० गतेदेखि उनलाई ज्वरो र खोकी लाग्न थालेपछि स्थानीयकै सल्लाहमा चैत ११ गते स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए । सुरुमा टाइफाइडको औषधि खाए । निको नभएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र खनालका अनुसार ज्वरो, खोकी र कोरोनासँग मिल्ने धेरै लक्षण देखिएपछि अस्पतालले उनलाई बुटवल कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा पठाएको थियो । अस्पतालका सूचना अधिकृत डा. विष्णुप्रसाद गौतमले स्वाब संकलन गर्ने सामग्री भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया) अभाव हुनुका साथै विमान सेवा बन्द भएका कारण एक जनाको मात्र नमुना संकलन गरेर पठाउन समस्या भएको सुनाए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ