२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी अस्पतालः छतमा हेलिप्याण्ड बनाउने तर पीपीई किन्न नसकेर ज्वरोका बिरामी नहेर्ने !

निजी अस्पतालः छतमा हेलिप्याण्ड बनाउने तर पीपीई किन्न नसकेर ज्वरोका बिरामी नहेर्ने !


काठमाडौं–निजी लगानीबाट खुलेका कतिपय अस्पतालले आफूलाई फोर स्टार अर्थात सुविधासम्पन्न अस्पतालका रुपमा चिनाउने गरेका छन् । यस्ता कतिपय अस्पतालहरु आफ्नै भवनको छतमाथि हेलिकोप्टर ल्याण्ड गराउँछन् । तर, आफ्ना स्वास्थ्यकर्मीको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) नपाएको बाहनामा कोभिड–१९ आशंका गरेका ज्वरोका बिरामी अन्तै रिफर गर्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा निजी अस्पतालहरुबाट राज्यलाई संकट पर्दा सहयोग नभएको बताउँछन् । स्वास्थ्य मन्त्रालयको निःशुल्क कल सेन्टरमा दैनिक ३ हजार बढी कोभिड–१९ का शंकास्पद प्रभावित व्यक्तिको फोन आउँछ । त्यसमा २० जनाभन्दा बढी बिरामीहरुले निजी अस्पतालले ज्वरोका बिरामी हेर्न नमानेको गुनासो सुनाउने गरेका छन् ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटाका अनुसार निजी अस्पतालले हेर्न नमानेको भन्दै रिफर गरेको गुनासोसहित फोन आउने गरेका छन् । अस्पतालहरुले बिरामी हेरेको बताउँदै आएपनि यथार्थमा त्यस्तो नभएको उनी बताउँछन् । ‘निजीले ज्वरो भन्दा बाहिरको बिरामी आए हेरेका छन् । तर, शंका लागेको खण्डमा परैबाट टेकु, पाटन अस्पताल जान भनेका छन्,’ उनले भने । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले धेरै बिरामीहरु निजीले हेर्दैैनन् भनेर जानै छाडेका छन् ।

निजी अस्पताल भन्छन्, ‘अहिले समस्या छैन्, बिरामी हेरिरहेका छौं‘

नेपाल मेडिसिटी अस्पतालका डाइरेक्टर डा. सुनिल शर्माका अनुसार बिरामीहरुकै कारण चिकित्सक उपचार गर्नबाट पछि हट्नु परेको बताउँछन् । ‘सरकारले कुनै पनि निजी अस्पतालहरुलाई सुरक्षा सामग्री पिपिई दिएको छैन । तर, हामी आफैले त्यसको व्यवस्थापन गरेका छौं,’ डा. शर्माले भने, ‘केही दिनअघि मात्रै एउटा क्यान्सरको बिरामी आउनुभयो । उहाँको सबै हिस्ट्री सोध्यौ नेपाल बाहिर गएको छैन भन्नुभयो । तर, अन्तिममा उहाँ लखनउ गएको जम्मा दुई हप्ता मात्रै भएको रहेछ ।’

उनले लक्षण नदेखिएको तर कोभिड शरीरमा बोकिरहेको बिरामी बेहोस बनाउँदा धेरै फैलिने भएकाले स्वास्थ्यकर्मी डराएको बताए । ‘स्वास्थ्यकर्मी डराउनु स्वभाविक पनि हो,’ उनले भने, ‘अस्पतालका चिकित्सकहरुलाई बिरामीले ढाटेर उपचार गराउने प्रवृतिका कारण शंङ्कास्पद बिरामी हेर्न डराएका हौं ।’

कोभिड–१९ को बिरामी आएपनि तिमीहरुले हेर्नुपर्छ भन्ने, तर सुरक्षाका लागि केही दिन्न भन्न सरकारले नपाउने डा. शर्माले बताए । ‘हामी चीनबाट सामान ल्याएर बिरामीको सेवा गर्न तयार छौं,’ उनले भने, ‘तर, त्यसका लागि प्रक्रियालाई सहज गर्दिनुहोस भन्दा पनि मानिरहेका छैनन् ।’ उनले निजी अस्पताललाई सरकारबाट अलिकति पनि सहयोग नभएको दाबी गरे । शर्माका अनुसार केही समयलाई पुग्ने पीपीईको भने जोहो गरिएको छ ।

बयोधा अस्पतालका संचाल रवि चौधरीले आफ्ना स्वास्थ्यकर्मीको जीवनको सुरक्षा गर्नु आफ्नो पहिलो दायित्व भएको बताए । तर, स्वास्थ्यकर्मीको सुरक्षासँगै बिरामीको उपचारमा पनि लागिरहेको उनले दाबी गरे । ‘छुट्टै ज्वरो क्लिनिक चलाएका छौं,’ चौधरीले भने, ‘त्यसको अलावा अन्य शल्यक्रिया, डेलिभरी सेवा, एपेन्डिसाइटीसको शल्यक्रिया पनि गरिरहेका छौं । तर, राज्यले हामीलाई पिपिई उपलब्ध गराएको छैन ।’

उनले आफैले खरिद गरेर पीपीई जोहो गरेको उल्लेख गर्दै सरकारले पीपीई उपलब्ध गराएन भनेर आफ्ना कर्मचारीलाई जोखिममा पार्न नसक्ने बताए । चौधरी सेवा लिन आएका बिरामीहरुलाई अहिले आफूहरुले नफर्काएको दाबी गर्दै आफ्ना कर्मचारीको रक्षा नहुने अवस्था आएमा भने समस्या आउन नसक्ने बताए ।

नर्भिक अस्पतालका नायव महाप्रवन्धक आरपी मैनाली उपचारमा कुनै समस्या नआएको बताउँछन् । ‘कोभिड–१९ संक्रमणको डर अवश्य पनि स्वास्थ्यकर्मीमा छ,’ उनी भन्छन् । तर, आवश्यक पीपीई भएका कारण बिरामीहरु सेवा नपाएर फर्किनुपर्ने अवस्था नभएको उनी बताउँछन् । ‘सामान्य ज्वरो आएको बिरामी इमर्जेन्सीमा हेरेका छौं । धेरै ज्वरो र खोकी भएका बिरामी आए आइसोलेसनमा राखेर जाँच गरिन्छ,’ उनले भने । उपचारको विकल्प नभएको भन्दै उनले शंकास्पद बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइन बस्ने व्यवस्था पनि गरिएको बताए ।

ओम अस्पतालका मेडिकल कोअर्डिनेटर डा. विश्वनाथ कोइराला कोभिड–१९ शंकास्पद बिरामीको उपचारमा सबै अस्पताललाई एकै ठाउँमा राखेर हेर्न नहुने बताउँछन् । उनले ज्वरोका बिरामी समेत हेरेनन् भन्ने कुरा आएपछि आफूहरुले नोटिस नै जारी गरेको बताए । ‘हामी ज्वरोका बिरामी हेर्छौ, कसैले हेर्दिनौं भनेको खण्डमा फोकल पर्सनको नम्बर समेत राखेर कल गर्न भनेका छौं,’ उनले भने । गलत सूचनाले बिरामी सेवा लिनबाट बन्चित होलान भनेर नोटिस नै जारी गरेको उनले बताए ।

निजी अस्पतालहरुलाई सरकारले पीपीई नदिएको गुनासो उनको पनि छ । उनले कति पिस दिने र कहिले दिने भन्ने समेत एकिन नभएको सुनाए । उनले माहामारी आउँला र पिपिई प्रयोग गरौंला भनेर पूर्व तयारी नहुने बताए । ‘१ सय वर्षपछि यस्तो जटिल अवस्था आएकाले सरकारले समेत पूर्व तयारी नगरेको अवस्थामा निजीले गर्न सक्ने कुरा थिएन्,’ डा. कोइरालाले भने । उनले पीपीई नभएको अवस्थामा स्वास्थ्यकर्मी उपचार गर्न डराउनु स्वभाबिक भएको बताए । ‘इच्छा लागेपनि नलागेपनि उपचार गर्न चिकित्सक तयार भएर बसेका छन् । तत्काल प्रयोग गर्ने केही सेट पीपीई छ,’ उनले थपे ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे विगतमा आवश्यक सुरक्षाका सामग्री नभएका कारण बिरामी हेर्न समस्या भएको तर, अहिले सहज भएको बताउँछन् । ज्वरोका बिरामी नहेरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई स्पष्टीकरण समेत सोधेको थियो । उनले भने, ‘हो हिजो हामीसँग सुरक्षाका सामग्री थिएन, किन्न पनि पाइएन त्यसैले बिरामी रिफर भएका थिएँ, तर अहिले छुट्टै क्लिनिक बनाएर सेवा प्रवाह गरेका छौं ।’ डा. पाण्डेले एक सय पिस पीपीई अस्पतालमा रहेकाले अहिले कुनै पनि समस्या नभएको बताए । आवश्यक थप पीपीई किन्ने तयारी भइरहेको पनि उनले बताए । उनका अनुसार सेवा नपाएर बिरामी फर्कनुपर्ने अवस्था अहिले आएको छैन ।

यता नेपाल मेडिकल कलेजका डाइरेक्टर डा राजेशकिशोर श्रेष्ठले कोभिड–१९ को उपचारका लागि सिमित अस्पताल तोक्नुपर्ने बताए । सिमित अस्पताल तोकेको खण्डमा पीपीईको अनावश्यक प्रयोग नहुने र सबै बिरामीले सेवा पाउने उनले स्पष्ट पारे । उनले भने, ‘सरकारले आवश्यक समन्वय नगर्दा सबै स्वास्थ्यकर्मीलाई पीपीई बिना उपचार गर्नै हुँदैन भन्ने भ्रम सिर्जना हुनपुग्यो । मास्टर प्लान बिना बिरामी हेर भन्दा समस्या आएको हो । हामीसँग ४ वटा पिपिइ मात्रै छ । आत्मविश्वासका साथ हामीले बिरामी हेरिरहेका छौं । सेवा लिन आएका कुनै पनि बिरामी फर्काएका छैनौं ।’

काठमाडौ मेडिकल कलेजकी प्रिन्सिपल डा चन्दा कार्कीले आवश्यक पीपीई मौज्दात रहेको बताइन् । लकडाउनको बीचमा ५ हजार बढी बिरामीलाई सेवा दिएको पनि सुनाइन् । उनले दुवाकोटमा कोभिडको उपचार गर्ने र सिनामंगलमा अन्य बिरामीको उपचार गर्ने व्यवस्था मिलाएको बताइन । कोभिडको हल्ला हुनासाथ केही थान पीपीई खरिद गरेर राखेको पनि कार्कीले जानकारी दिइन् ।

निजीलाई पीपीई दिएको छैन्

डा. विकास देवकोटा
प्रवक्ता, स्वास्थ्य मन्त्रालय
हिजोका दिनमा बजारमा पीपीई थिएन । सरकारले समेत ल्याउन सकेको अवस्था थिएन । अब सप्लायर्सहरुले नेपालमा ल्याउन थालेका छन् । आवश्यक परे अब सरकारले निजीलाई पनि दिनुपर्छ । कोभिड–१९ को उपचार गर्ने अस्पतालहरुलाई सरकारले लागेको खर्च र पीपीई दिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ