२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका ३ जनाको मृत्युपछि कोरोना पुष्टि

कर्णालीका ३ जनाको मृत्युपछि कोरोना पुष्टि


जुम्ला – कोरोना भाइरसको संक्रमणका कारण कर्णाली प्रदेशका ३ जिल्लाका तीन जना पुरुषको मृत्यु भएको छ । ३ जनाकै मृत्युपछि मात्रै  कोरोना पुष्टि भएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा सुर्खेतकाअनुसार मृत्यु हुनेहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक-एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् ।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवक थिए । उनको यही १७ जेठमा क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना सङ्क्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो । कर्णालीमा मृत्यु हुने तीनै जनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।

होम क्वारेन्टाइनमा रहेकै बेला २१ जेठ राति मृत्यु भएका डोल्पाको जगदुल्ला नगरपालिकाका एक पुरुषको स्वाब परीक्षणमा २४ जेठमा कोरोना पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मंगल रावलले कोरोनाकै कारण ५८ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । सुर्खेतबाट १६ जेठमा डोल्पा स्थायी घर पुगेका उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनी सुर्खेतमा उपचार गराई डोल्पा फर्केका हुन् ।

डा. रावलले भौगोलिक विकटताका कारण मृत्युपछि २२ जेठमा स्वाब संकलन गरी प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ