२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनकपुरदेखि संसार फैलदै गरेका डा. सुजितको यात्रा अन्त्य

जनकपुरदेखि संसार फैलदै गरेका डा. सुजितको यात्रा अन्त्य

सहपाठी र सहकर्मीको नजरमा डा. सुजित


काठमाडौं—चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै उचाइ लिदैं गरेका विराटनगरका डा. सुजितकुमार साहको छतबाट खसेर भएको मृत्युको खबरले नेपाल तथा भारतको चिकित्सा जगतमा तरंग पैदा गरेको छ । भारत मात्र नभएर एसियाकै अब्बल अस्पतालको रुपमा रहेको मेदान्तको कलेजो प्रत्यारोपण सर्जन रहेका डा. साहको रोवर्टको माध्यमबाट कलेजो प्रत्यारोपण गर्ने चिकित्सकका रुपमा विश्वभर चर्चा चुलिदैं गएको थियो ।

जनकपुरको जानकी आवासीय माविबाट एसएलसीसम्मको अध्ययन गरेका डा. साहले सेन्ट जेभियर्स कलेज माइतीघरबाट आईएस्सी उत्तीर्ण गरेका थिए ।

आइएस्सीपछि उनले मणिपाल मेडिकल कलेज पोखराबाट एमबिबिएस गरेका हुन् । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका डा. साहले २ वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विभिन्न जिल्लामा गएर काम गरेका थिए ।

छात्रवृत्तिको करार सकिदै गर्दा उनले भारतको स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान, चण्डीगढबाट एमएस छात्रवृत्तिमा पढेका थिए । त्यसैगरी, भारतकै अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)बाट कलेजो प्रत्यारोपण सर्जरीमा एमसीएच गरेका हुन् ।

उनी अहिले मेदान्तमा एसोसिएट कन्सल्टेन्ट लिभर ट्रान्सप्लान्टको रुपमा शिक्षण गर्दै आएका थिए भने सोही अस्पतालको कन्सल्टेन्ट लिभर ट्रान्सप्लान्ट सर्जनको रुपमा काम गर्दै आएका थिए ।

३९ वर्षीया यी नेपाली चिकित्सकको आफ्नो ख्याति चुलिंदो क्रममा भएको मृत्युको कारण विस्तारै खुल्दै जाला या रहस्यमै पनि रहन सक्छ । तर, उनीसँग झण्डै १० वर्ष सँगै अध्ययन गरेका उनका साथीहरु भने उनले आत्महत्या गरेको भन्ने कुरा कुनै पनि एंगलबाट कल्पना गर्न नसक्ने बताउँछन् ।

सहपाठी डा. विश्वबन्धु बंगाले : १० वर्षका सहपाठी थियौं

वि.सं. २०५३ सालमा एसएलसी पास गरेपछि म (त्यसबेलाको वोर्ड फष्ट) आइएस्सी अध्ययनका लागि थापाथलीस्थित सेन्ट जेभियर्समा भर्ना भए । कलेज भर्ना भएको केही समयपछि सुजितसँग भेट भयो । पढाइको सिलसिलामा नजिक भइयो । तर, त्यति घनिष्ठ थिएनौ । आइएस्सी पढाइ सकिएपछि हामीले एमविविएस पढ्न छात्रवृत्तिका लागि एप्लाइ ग¥यौ ।

दुवैजनाको नाम निस्कियो र पढ्न मणिपाल मेडिकल कलेज पोखरा गयौ । त्यहाँबाट हाम्रो दोस्ती गाढा भएको हो । हामीले तीन वर्ष एउटै कोठामा सुत्यौ भन्दा पनि हुन्छ । कोठा फरक—फरक भएपनि यो यसको कोठा भन्ने नै थिएन । खाना त हामीले एमबिबिएस नसकिउन्जेल एकै ठाउँमा खायौ ।

सँगै खाने सँगै बस्ने भएपछि उनीसँगका नबिर्सिने क्षण अनगिन्ती नै छन् । उनको स्वभाव नै यस्तो कि उनीसँग रहेपछि सबै कुरा स्मरणीय न हुन्थ्यो । उनको सबैभन्दा राम्रो गुण सरलता र हसिलोपना नै हो । एउटा चिकित्सकको महत्वकांक्षा स्वभाविक हो । तर, उनमा धेरै महत्वकांक्षा कहिल्यै पनि देखिन । उनले कहिल्यै असन्तुष्टि व्यक्ति गर्दैनथ्यो । सधै समाधान पहिल्याउनुपर्छ भन्ने उनको मान्यता थियो ।

सबैसँग मिल्न सक्ने उनमा अदभूत क्षमता थियो । कसैको पनि चित्त दुखाउने उनको बानी थिएन । धेरै झरी बादल हामीले सँगै झेलेका थियौ । एमबिबिएस अध्ययनपछि प्रत्यक्ष भेट हुन पाएन । दुई वर्ष पहिले दिल्ली जाँदा सम्पर्क भएको थियो । उ मुम्बई गएका कारण भेट भने हुन पाएन । एक असल, मेहनती र आँखामा हाल्दा नबिझाउने मित्र गुमाएको मैले अहिले पनि कल्पना गर्न सकेको छैन ।

सहपाठी डा. रविन खड्का : कालिखोलामा सुजितले मेरो ज्यान बचाए

छात्रवृत्तिमा एमबिबिएस पढ्न नाम निस्किएसँगै मणिपालमा पढिने भइयो । त्यहाँ पुगेपछि सुजित, विश्ववन्धु बगाले, रामचन्द्र सापकोटालगायतका साथीहरुसँग भेट भयो । सँगै कोठा खोज्न हिडियो । एउटै घरको एउटै फ्ल्याटमा बस्न पुगियो । साँच्चै भन्दा हामी एउटै कोठामा बस्थ्यौ । रातदिन सँगै हुन्थ्यौ ।

विदा भयो कि डुल्न निस्किइहाल्थ्यौ । कहिले घान्द्रुक पुग्थ्यौ, कहिले एबीसी ट्रेक जान्थ्यौं । रमाइलो कति गरियो भनी साध्य छैन । सम्झनायोग्य कुरा त कति हो कति । आज उनी हामीसँग भौतिक रुपमा छैनन् । तर, उनले वि.सं. २०५९ सालमा मेरो ज्यान बचाएका थिए । विदाको दिन हामी पोखराको कालिखोलामा पौडी खेल्न गएका थियौ । मलाई त्यति राम्रो पौडी खेल्न आउदैन्थ्यो । मलाई खोलाले बगाएर धेरै तलसम्म पु¥याइसकेको थियो । सुजित तराईमा हुर्किएको र पौडी खेल्न सिपालु भएका कारण उनले नै मेरो जीवन बचाएका थिए । मेरो ज्यान बचाउने साथी आज आफै आत्माहत्या ग¥यो भन्दा पत्याउनै गाह्रो भएको छ ।

३९ वर्षको उमेरमा नै विश्व जगतमा नै रोवटिक कलेजो प्रत्यारोपण सर्जनको रुपमा छाउन थालेका थिए । पढाइमा एकदम अब्बल र पहिलादेखि नै खुंखार हो ।

प्रोफेसर, साथी सिनियर सबैलाई सम्मान गर्ने एकदमै जेन्टल मान्छे । पछिल्लो समय एक हप्ताअघि मात्र हाम्रो कुराकानी भएको थियो । मैले नेपाल आएर काम गर्न भनेको थिए । उनले अहिले नै आइहाल्ने अवस्था नहेको बताएका थिए । तर, भविष्यमा नेपालमै आएर काम गर्ने उनको योजना सुनाएका थिए ।

सहकर्मी डा. अनिशा तिवारी : सबै कुरामा अब्बल हुनुहुन्थ्यो

डा. सुजितलगायत हामी चार नेपाली डाक्टरसँगै मेदान्तमा काम गरेका थियौं । म, डा. सन्जय यादव, डा. जयन शाह र डा. सुजित । डा. सुजितले सन् २०१६ मा मेदान्त ज्वाइन गर्नुभएको थियो । उहाँ एम्स एमसीएच गरेपछि मेदान्तमा काम गर्न थाल्नुभएको हो ।

मभन्दा इमिडियट सिनियर हुनुहुन्थ्यो । मेदान्तमा काम गर्दा उहाँ मेरा लागि सहकर्मीमात्रै हुनुहुन्नथ्यो, दाइ र साथीजस्तै हुनुहुन्थ्यो । उहाँले मलाई सधैं सहयोग गर्नुभयो, प्रेरणा भर्नुहुन्थ्यो । उहाँ एकदमै राम्रो सर्जन, पढाइमा एकदमै ट्यालेन्ट, लेखाइ पनि उतिकै राम्रो । बानी व्यवहार पनि एकदमै राम्रो थियो ।

सन् २०१६ देखि २०१८ सम्म हामीले सँगै काम ग¥यौं । त्यसपछि म फर्केर आए, उहाँ त्यही कन्सल्टेन्ट सर्जनका रुपमा कार्यरत हुनुभयो । हामीले धेरै सर्जरीसँगै गरेका थियौं । यस्तो खबर सुनेपछि मलाई अहिले पनि एकदमै पीडा महसुस भइरहेको छ । हामीले एक कुशल सर्जन गुमायौं ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ