२०८२ असोज ३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंक्रमणजन्य फोहोर व्यवस्थापनमा अब्बल सरकारी अस्पताल

संक्रमणजन्य फोहोर व्यवस्थापनमा अब्बल सरकारी अस्पताल


काठमाडौं—देशका विभिन्न सहरमा बढ्दो जनसंख्या, जनचेतनामा विकास, उपचारका आधुनिक प्रविधिको खोजीका कारणले त्यस्ता क्षेत्रमा स्वास्थ्य संस्थाहरूको संख्या बढ्दो छ । अझ देशमा निजी लगानीमा सञ्चालित स्वास्थ्य संस्था धेरै छन् ।

क्लिनिक तथा प्रयोगशालाहरु पनि सोही अनुपातमा बढ्दै गएका छन् । नेपालमा ४ हजार १२३ वटा सरकारी स्वास्थ्य सेवा प्रदायक संस्था रहेका छन् । तीन हजारको हाराहारीमा निजी स्वास्थ्य सस्था रहेका छन् ।

स्वास्थ क्षेत्रसंग आवद्ध विभिन्न संघ संस्थाहरुलाई फोहोर मैला व्यवस्थापन ऐन—२०६८ ले यस्ता संघसंस्थाबाट निस्कने फोहोर मैलालाई अस्पतालजन्य फोहोरको रुपमा परिभाषित गरेको छ ।

स्वास्थ्य संस्थाहरुले नियमअनुसार फोहोर मैला व्यवस्थापन गर्ने गरेका छैनन् । तर, आधा दर्जन अस्पताल भने संक्रमणजन्य फोहोर व्यवस्थापनमा अब्बल देखिएका छन् । परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथली, सिभिल सर्भिस अस्पताल बानेश्नर, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल संक्रमणजन्य फोहोर व्यवस्थापनमा अब्बल साबित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिभिल अस्पताल र थापाथलीस्थित परोपकार प्रसुती अस्पताललाई कुहिने फोहोरको अभाव भएको छ । प्रसुती अस्पतालले विगत पाँच वर्षदेखि कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन गरेको उक्त अस्पतालले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले नेपालका ठूला अस्पतालको हरेक बेडबाट दैनिक १ किलो फोहोर निस्कने गरेको छ । यसरी निस्कने फोहोरमा संक्रमित फोहोरको मात्रा पनि उल्लेखनीय हुने भएकाले फोहोरको वर्गीकरण गर्नुपर्छ । तर, त्यसको उचित व्यवस्थापन नगर्दा ७५ प्रतिशत कुहिने तथा पुनः प्रयोग गर्ने फोहोरलाई समेत संक्रामक बनाएको देखिएको छ ।

वर्गीकृत फोहोरलाई संक्रमणरहित बनाई विसर्जन गर्न आधुनिक तरिकाबाट मात्र सम्भव देखिन्छ । पुराना प्रविधिहरू वातावरण प्रतिकूल र मानवीय जीवन जोखिममा पार्ने खालका भएकोले नयाँ प्रविधिमार्फत फोहोर व्यवस्थापन जरुरी देखिएको हो । सहर भित्रका अस्पताल, क्लिनिक, फार्मेसी तथा डेन्टल क्लिनिक एवं सानातिना प्रयोगशाला समेतबाट रोग सार्न सक्ने संक्रमितदेखि सामान्य गल्न सक्ने फोहोर दैनिक ठूलो संख्यामा निस्किन्छन् ।

संक्रमित फोहोरलाई निर्मुलीकरण गरी पुनः प्रयोगमा ल्याउने त्यसपछि विसर्जन गर्ने विधि सिमित अस्पतालमा छ । पछिल्ला दिनहरूमा विश्वभर अटोक्लेभको प्रयोगबाटै अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्ने गरिन्छ । तर, नेपालमा केही अस्पतालमा बाहेक अन्त अझै संक्रमणजन्य फोहोरको व्यवस्थापन खुला रुपमा हुने गरेको छ ।

संक्रमित फोहोरलाई संक्रमणरहित नबनाई खुल्ला रूपमा गरिने फोहोर व्यवस्थापनले वातावरणमा प्रतिकूल असर पारिरहेको हुन्छ । नेपालका अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरमध्ये पीप, रुवा, सिरिन्ज बढी हुन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ