२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना खोपको दोस्रो अभियानमा दुई लाख ६२ हजार आठ सय ७६ जना सहभागी हुने

कोरोना खोपको दोस्रो अभियानमा दुई लाख ६२ हजार आठ सय ७६ जना सहभागी हुने


काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) विरुद्धको खोप पहिलो प्राथमिकताको दोस्रो अभियानमा दुई लाख ६२ हजार आठ सय ७६ जनाले सहभागिता जनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड खोपको पहिलो प्राथमिकताको दोस्रो अभियान आइतबारदेखि देशभर संचालन भएको छ ।

भारतले दिएको १० लाख डोज भित्रबाटै यो अभियान चलाइएको हो । चार लाख ३० हजारलाई लगाउने अभियान अझै पूरा नभएपछि पुनः दोस्रो अभियान चलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले सात दिन भित्र दुई लाख ६२ हजार आठ सय ७६ जनाले खोप लगाउने अपेक्षा गरेको बताए ।

दोस्रो अभियानमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र कर्मचारी, निजामती सेवाका कर्मचारी, जनपद प्रहरी, सशस्त्र (बोर्डरमा खटिने मात्र), बैक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा, समूहका कर्मचारी (अदालत, सरकारी वकिल कार्यालय) र पत्रकारहरू रहेका छन् ।

पहिलो चरणको खोप अभियान माघ १४ बाट सुरु भएको थियो । ११ दिन चलेको खोप अभियानमा दुई सय एक बुथ राखिएको थियो भने एक लाख ८४ हजार तीन सय ४५ जना फ्रन्टलाइनर कर्मचारीले खोप लगाएका थिए । त्यस्तै, पत्रकार र कुटनीतिक नियोगका अधिकारीहरुलाई २६ माघबाट ५ दिन लगाइएको थियो । त्यस बेला तीन हजार चार सय ८० जनाले खोप लगाएका थिए । करिब तीन लाख खोप बाँकी रहेका कारण मन्त्रालयले एक हप्ता पुनः पहिलो चरणको खोप अभियान चलाउन लागेको हो ।

फागुन २ देखि ८ गतेसम्म चल्ने अभियानमा प्रदेश १ का ३९ हजार चार सय ९६, प्रदेश २ का ३४ हजार ५ सय ७२, बागमती प्रदेशका ८१ हजार तीन सय ७०, गण्डकी प्रदेशका २५ हजार आठ सय ७२, लुम्बिनी प्रदेशका ४० हजार पाच सय ३८, कर्णाली प्रदेशका १९ हजार छ सय ३९ र सुदुरपश्चिम प्रदेशका २१ हजार दुई सय ९३ जना गरी २ लाख ६२ हजार ८७६ जना सहभागी हुने सूचीमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ