२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपीका २७० डाक्टरद्वारा माग पूरा नभए राजीनामा दिने चेतावनी, चिकित्सक आन्दोलित

विपीका २७० डाक्टरद्वारा माग पूरा नभए राजीनामा दिने चेतावनी, चिकित्सक आन्दोलित


विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरूले राखेको माग पूरा नगरेपछि आन्दोलित भएका छन् । उनीहरूले बढुवालगायतका विभिन्न माग राखेका थिए ।

तर, विपी प्रतिष्ठानका उपकुलपतिले सुनवाइ नगरेपछि सामूहिक रूपमा चिकित्सक आन्दोलित भएका हुन् । प्रतिष्ठानको चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजमा आवद्ध डाक्टरहरूले उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा बुधबार तालाबन्दी गर्दै सामूहिक राजीनामा दिने चेतावनी दिए । उनीहरूले तीन वर्षदेखि रोकिएको बढुवा प्रक्रिया प्रतिष्ठान पदाधिकारीहरूले अगाडि नबढाएको भन्दै तालाबन्दी गरेका छन् ।

उपकुलपति प्रा.डा. गिरी भने शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालसहित पाँच दिनदेखि काठमाडौंमा छन् । विपीका २७० डाक्टरहरुले आफ्ना मागहरु पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी पनि उपकुलपतिलाई दिएका छन् ।

कार्यकक्ष तालाबन्दी गरेपछि चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले चिकित्सकहरूको माग सुनवाई नभए सामूहिक राजीनामा दिने चेतवीन दिए । ‘अब हामी एक हप्ता पर्खनेछौं । त्यसपछि पनि माग सम्बोधन नभए समाजमा आबद्ध २ सय ७० जना चिकित्सकले सामूहिक राजीनामा दिनेछौं,’ उनले भने ।

यस्ता छन् विपीका चिकित्सकको माग

विपी प्रतिष्ठानका चिकित्सकहरू बढुवालगायतका विभिन्न माग राखेर आन्दोलित छन् । तर, चिकित्सकले उठाएको माग प्रतिष्ठानले कुनै सुनवाई गरेको छैन । उनीहरूले आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमा खर्च गर्नुपर्ने, फ्याकल्टीहरूलाई आवास उपलब्ध गराउन भवन निर्माणका लागि पहल गर्नुपर्ने, विभागीय प्रमुखहरूको रोटेसन मिलाउनुपर्ने, शिक्षकहरूलाई टिचर्स ट्रेनिङ र अनुसन्धनात्मक तालिम दिलाउनुपर्ने रहेका छन् ।

यसैगरी प्रतिष्ठानबाट निस्केको क्लिनिकल फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानभित्र विद्युत चोरी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग पनि चिकित्सकहरूले गरेका छन् । आन्दोलन सुरु भएपछि गत माघ २६ गते समाज र प्रतिष्ठान पदाधिकारीबीच भएको वार्तामा उपकुलपतिलगायत पदाधिकारीहरूले माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, १० दिनभन्दा बढी बितिसक्दा पनि दिएको आश्वासनअनुसार प्रगति नभएपछि तालाबन्दी गर्नु परेको समाजले जनाएको छ ।

‘हाम्रो मुख्य माग बढुवा हो । तीन वर्षदेखि प्रतिष्ठानमा बढुवा प्रक्रिया रोकिएको छ । बढुवा प्रक्रिया रोकिँदा त्यसको क्षति प्रतिष्ठानले नै व्यहोर्नु परेको छ,’ समाजका अध्यक्ष पोखरेलले भने, ‘समय अवधिअनुसार बढुवा नहुँदा धेरै चिकित्सकहरू प्राध्यापक हुन पाएका छैनन् । प्राध्यापक हुन नपाएपछि उनीहरूको वृत्ति विकास त रोकियो नै त्यससँगै हुने तलब सुविधा पनि पाउन सकेका छैनन् । विद्यार्थीको भर्ना पनि हुन सकेको छैन ।’

समाजका महासचिव डा. एसपी रिमालले चिकित्सकको आन्दोलनले उपचार सेवालाई प्रभावित नबनाएको बताए । उनले सामूहिक राजीनामा नदिएसम्म बिरामी उपचार सेवामा रहेर नै आन्दोलित भइरहेको बताए । पाँच दिनदेखि काठमाडौंमा रहेका प्रतिष्ठानका उपकुलपति गिरीले चिकित्सक समाजको माग सम्बोधन गर्नकै लागि मन्त्रालय र लोकसेवा आयोगमा ताकेता गरिरहेको बताए । उनले चिकित्सकहरूको माग जायज भएको बताए । उनले भने, ‘उहाँहरूकै काम गर्न भनेर म पनि कुदिरहेछु । उहाँहरूको बढुवा प्रक्रियाको फाइल लोकसेवा आयोगमा अगाडि बढेको छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ