२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिमाले कोशी अस्पतालको आम्दानी बढायो, परीक्षण बाटमात्रै ९ करोड १५ लाख ९५ आम्दानी

बिमाले कोशी अस्पतालको आम्दानी बढायो, परीक्षण बाटमात्रै ९ करोड १५ लाख ९५ आम्दानी


विराटनगर—बिमा कार्यक्रम सुरू भएपछि विराटनगरस्थित कोशी अस्पतालको आन्तरिक आम्दानी बढेको छ । सञ्चालन खर्च जुटाउन नसकेर सरकारसँग अनुदान माग्दै आएको उक्त अस्पतालको आन्तरिक आम्दानी बढेको हो ।

अस्पतालबाट उपचार सेवा लिने बिरामीको संख्यामा उल्लेख्य वृद्धि नभएपनि आम्दानीमा भने राम्रो सुधार भएको छ ।

आन्तरिक आम्दानीबाट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तलब भुक्तानी गर्नसमेत नसक्ने अवस्थामा रहेको अस्पतालले पछिल्लो चार महिनादेखि आफ्नै आम्दानीबाट तलब खुवाउन सक्षम भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिए ।

‘हामी सञ्चालक समितिमा आउँदा उपचारका लागि छुट माग्न आउनेहरुको ताँती हुन्थ्यो । अहिले त्यो घटेको छ,’ उनले भने, ‘छुट माग्न आउनेलाई स्वाथ्य बिमा गर्न आग्रह गर्ने गरेका छौं । अहिले बिमामार्फत उपचार सेवा लिनेहरु बढेपछि अस्पतालको आम्दानीमा पनि सुधार भएको छ ।’

सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछि बिमा गराउने सर्वसाधारणको संख्या बढेको छ । कोशी अस्पतालमा उपचार सेवा लिन आउने सरदर ६५ प्रतिशत सेवाग्राहीले स्वास्थ्य बिमा गराएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट फागुन महिनामा १९ हजार ३१५ जनाले बहिरंग (ओपीडी) सेवा लिएका थिए । हरेक महिना १८ हजारदेखि २२ हजार व्यक्तिले अस्पतालबाट ओपीडी सेवा लिँदै आइरहेको अस्पतालको अभिलेखमा देखिन्छ । यसरी उपचार गराउनेमध्ये बिमामार्फत उपचार शुल्क भुक्तानी गर्ने सेवाग्राहीले तोकिएको शुल्क पूर्णरुपमा भुक्तानी गर्ने र अस्पतालसँग छुट सुविधा माग नगर्ने हुँदा अस्पतालको आम्दानीमा निरन्तर सुधार भइरहेको छ ।

अस्पतालको आम्दानीको मुख्य स्रोतको रुपमा प्याथोलोजी ल्याब, रेडियोलोजी सेवा, सिटी स्क्यान सेवा आदिबाट चालु वर्षको ८ महिनामा ९ करोड १५ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै तीन करोडले बढी हो ।

चालु वर्षको दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म कोशी अस्पतालको प्याथोलोजी प्रयोगशाला परीक्षण र बायोकेमेस्ट्री सेवाबाट मात्र ३ करोड ४३ लाख ८० हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै भिडियो एक्स–रे सेवाबाट अस्पतालले ८ महिनामा ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ भने एक्स–रे सेवाबाट ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

अस्पतालले पछिल्लो समय सिटी स्क्यान सेवाबाट पनि आम्दानी बढाएको छ । पछिल्लो ८ महिनामा ५३ लाख ९० हजार ३०० रुपैयाँ सिटी स्क्यान सेवा दिएबापत आम्दानी गरेको छ । विगतमा अस्पतालले बिरामीहरुलाई सबैभन्दा धेरै छुट सुविधा दिनुपर्ने प्याथोलोजी, रेडियोलोजी, वेड चार्ज आदिमा अहिले अस्पताललाई खास चाप छैन । बिमामार्फत भुक्तानी हुँदा बिरामीलाई निःशुल्क उपचार सेवा पाएको अनुभूति हुने र अस्पतालले पनि निर्धारित शुल्क असुल्न सहज भएपछि आम्दानी बढेको हो ।

व्यवस्थापनमा ध्यान ननिदा बिरामीलाई सास्ती

बिमामार्फत सेवा लिने बिरामीको चाप बढेपनि सहज सेवा प्रदान गर्नेतर्फ भने अस्पतालले ध्यान दिएको छैन । सेवा लिएबापत तोकिएको शुल्क भुक्तानी गरेका सेवाग्राहीहरु हरेक सेवा लिन छुट्टाछुट्टै लाइनमा बस्न बाध्य हुने गरेका छन् ।

बहिरंग विभागबाट सेवा लिनका लागि पुर्जी काट्न लामो लाइन लागेको बिरामी चिकित्सकीय सेवा लिन उतिकै लामो समय लाइनमा बस्नुपर्छ ।

‘त्यसपछि लाइन बस्ने क्रम सकिदैन झन् थपिन्छ,’ विराटनगर-३ का टेकनाथ ढकालले भने, ‘बल्लतल्ल डाक्टरलाई भेट्यो, त्यसपछि रगत जाँच गर्न लाइन, पिसाब जाँच गर्न लाइन, एक्स–रे वा भिडियो एक्स–रे मा लाइन, त्यसपछि बिमा कार्ड फिर्ता लिन र पुर्जीमा औषधिका लागि बिमाको छाप लगाउन लाइन अनि औषधी पसलमा लाइन बस्दा बिरामी वा उसको सहयोगी नै बिरामी परिसक्छ ।’

अस्पताल प्रशासनले भने यसतर्फ खास ध्यान दिएको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ