काठमाडौं—भारतमा कोभिड—१९ तीब्र गतिमा फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी तीब्र बनाएको छ । बुधबार बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिष्टम (आईसीएस)को बैठकले अस्पताल र ल्याबहरुलाई तयारी अवस्थामा राख्ने लगायतका विभिन्न ११ वटा निर्णयहरु गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमकाअनुसार संघीय अस्पताल, प्रादेशिक अस्पताल र सबै आधारभूत अस्पतालको कोभिड—१९ उपचारको व्यस्थापन गर्ने निर्णय भएको छ । यस्तै, मन्त्रालयको इन्सिडेन्ट कमाण्डले कोरोना परीक्षण गर्ने ८४ वटा परीक्षणलाई तयारी अवस्था राख्ने निर्णय समेत गरेको छ ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थिती बसेको कमाण्डको बैठकले २ सय बढी शैय्या भएका अस्पतालमा अक्सिजन रिफिलिङ टंयाक स्थापना गर्नेदेखि १० वटा मास्क बाँड्ने निर्णय समेत गरेको छ । इन्सिडेन्ट कमाण्डले गरेका ११ निर्णयहरु निम्नअनुसार छन् ।
१) संघअन्तर्गतका संघीय अस्पताल, प्रादेशिक अस्पताल र सबै आधारभूत अस्पतालहरुमा कोभिड—१९ को उपचार व्यवस्थापन गर्ने र एचएमआईएसमा परिविष्ट गरेको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शोध भर्ना गर्ने निर्णय भएको छ ।
२) कोभिड—१९ परीक्षण गर्ने सबै सरकारी तथा निजी (८४ वटा) प्रयोगशालाहरुलाई तयारी अवस्थामा राख्ने र सरकारी प्रयोगशालाहरुमा थप जनशक्ति आवश्यक भएमा रकम माग गर्ने, जनशक्ति निरन्तरताका लागि पहल गर्ने ।
३) २ हजार वटा एचडियु वेड स्थापना गरेर सञ्चालन गर्ने सम्बन्धमा भएको प्रगति स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई हरेक प्रदेशले अद्यावधिक जानकारी उपलब्ध गराउने ।
४) प्रदेशहरुमा आइसोलेसन सेन्टरहरु बनाउन पठाइएको रकम सम्बन्धमा हरेक प्रदेशहरुले प्रतिवेदन पठाउने र आवश्यकताअनुसार थप रकम माग गर्ने,निकाशा नभएको रकम सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट अर्थ मन्त्रालयलाई पत्राचार गर्ने ।
५) २ सयभन्दा बढी सैय्या भएका अस्पतालहरुमा अक्सिजन रिफिलिङ टंयाकको व्यवस्थापन गर्नका लागि स्वास्थ्य सेवा विभागले ७ दिने सुचना प्रकाशित गर्ने वा सम्बन्धित अस्पतालहरुमा विश्व बैंकको बजेट सहायता खर्च गर्ने वित्तिय हस्तान्तरण गर्ने ।
६) पालिकाहरुमा जोखिमयुक्त क्षेत्र पहिचान गरी एन्टीजेन टेष्टिङ फ्यासिलिटी बढाउने र टेष्ट अनुगमन र कन्ट्याक्ट ट्रेसिङका पालिका, जिल्ला र प्रदेशबीच समन्वय प्रभावकारी बनाउने ।
७) काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुको ¥यान्डम टेस्टिङ बेला—बेलामा गर्ने ।
८) अस्पतालहरुमा लक्षण भएकाहरुको आरटी—पिसिआर परीक्षण बढाउने र परीक्षण निःशुल्क हुने कुरा सबैलाई जानकारी गराउने ।
९) बढ्दो संक्रमणलाई मध्यनजर गरेर चीन सरकारबाट प्राप्त खोपका सम्बन्धमा सुझावहरु प्राप्त भएका छन् । सुझावहरुअनुसार पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालहरुबाट खोप दिने ४० देखि ५९ वर्षका व्यक्तिहरुलाई फरक किसिमको कार्ड बनाएर दिने । राष्ट्रिय खोप समितिबाट परामर्श लिएर निर्णय लिने ।
१०) जनस्वास्थ्यका मापदण्डको पालनाका साथै प्रवेशविन्दुबाट प्रवेश गर्ने व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न उत्प्रेरित गर्ने । जोखिमका आधारमा एन्टीजेन वा पिसिआर परीक्षण गर्ने । १० वटा सर्जिकल मास्क १० दिनका लागि उपलब्ध गराउने कुरामा प्रदेश, जिल्ला र स्थानीय निकायले सुनिश्चितता गर्ने ।
११) मास्कको अनिवार्य प्रयोग र कुनै पनि प्रकारका भेलाहरु पूर्णतया: रोक्न जिल्लास्थित सिएमसीहरुलाई अनुरोध गर्ने ।