२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश२३ वटै वडामा चिकित्सकलाई फोकल पर्सन तोकियो

२३ वटै वडामा चिकित्सकलाई फोकल पर्सन तोकियो


नेपालगन्ज-कोभिड–१९ संक्रमित बिरामीहरुको उपचारलाई प्रभाबकारी बनाउन नेपालगन्ज उपमहानगरपालिकाले नेपाल चिकित्सक संघसँग सहकार्य गरेर २३ वटै वडामा बिशेषज्ञ चिकित्सकहरुलाई फोकल पर्सन तोकेको छ ।

नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत फिजिसियन र बाल रोग बिशेषज्ञ चिकित्सकहरुले नगरपालिकाका वडा कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीसँग सहकार्य गरी आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका बिरामीहरुको उपचारमा परामर्श दिन सुरु गरेका छन् ।

अस्पतालहरुमा बेड नपाएका कारण चिन्ह लक्षण भएपनि घरमै बसेका बिरामीहरुको अवस्थाका बारेमा वार्डका स्वास्थ्यकर्मीहरुले फोकल पर्सन तोकिएका चिकित्सकलाई जानकारी गराउने र चिकित्सकको सल्लाह सुझावअनुसार अक्सिजन दिने, आवश्यक औषधी दिने, एक्सरेलगायतका परिक्षणका लागि सल्लाह दिने र स्वास्थ्य अवस्था जटिल भएमा अस्पतालहरुमा भर्ना गर्नका लागि सहजीकरण गर्ने ब्यवस्था मिलाइएको उप–महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए ।

नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा मात्रै अहिले सम्म ८ हजार ५ सय ३७ जना संक्रमित भइसकेका छन् । तीमध्ये उपचारको क्रममा १ सय २० जनाको मृत्यु भइसकेको छ । अहिले पनि नेपालगन्जका कोभिड–१९ का १ हजार १ सय ४८ जना सक्रिय संक्रमित छन् ।

समयमै चिकित्सकहरुको परामर्श र उपचार नपाउँदा बिरामीहरुको मृत्यु हुने क्रम बढ्दै गएपछि चिकित्सक संघले उप–महानगरपालिकासँग समन्वय गरेर संक्रमित बिरामीहरुको उपचारमा सक्रियता देखाएको चिकित्सक संघ नेपालगन्जका अध्यक्ष डा. विनोद कर्णले बताए ।

चिकित्सकहरुलाई फोकल पर्सन तोकिएसँगै विशेषज्ञ चिकित्सकहरुले उप–महानगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई संक्रमित बिरामीहरुको उपचारलाई कसरी प्रभाबकारी बनाउने विषयमा तालिम र परामर्श दिन सुरु गरेका छन् ।

विशेषज्ञ चिकित्सकहरुले सामाजिक संजालमा आउने विभिन्न किसिमका सल्लाह सुझावले अन्यौल र भ्रमहरु सिर्जना गर्ने बताउँदै विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार नै बिरामीहरुको उपचार गर्नुपर्नेमा जोड दिएका छन् ।

नगरपालिका वडाहरुमा फोकल पर्सन तोकिएका चिकित्सकहरुले संक्रमित बिरामीहरुलाई स्वास्थ्य परामर्श र उपचारमा सहजीकरण गर्दा बिरामीहरुको उपचार व्यवस्थित हुने र मृत्युदर घटाउन सहज हुने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।

नेपालगन्जमा अझै पनि ज्वरो आउना साथ टाइफाइड, पेट दुखेपछि ग्यास्टिक र श्वास फेर्न गाह्रो भएपछि दम भएको आशंकामा चिकित्सकहरुसँग चेकजाच नै नगराई औषधी पसलमा गएर औषधी किनेर खाने प्रवृत्ति कायम छ । यस्तो प्रवृत्तिका कारण बिरामीहरु सिरियस भएपछि मात्रै अस्पतालमा पुग्ने भएका कारण मृत्युदर पनि धेरै हुने गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ