२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफ्रन्टलाइनर डा. अर्चना भन्छिन्, ‘बिरामी निको भएर घर फर्किदा सबै पीडा भुलिन्छ’

फ्रन्टलाइनर डा. अर्चना भन्छिन्, ‘बिरामी निको भएर घर फर्किदा सबै पीडा भुलिन्छ’

स्वास्थ्यकर्मीका पीडा: ग्यास्ट्रिकदेखि डिप्रेसनसम्म


वीरेन्द्रनगर–धेरैलाई लाग्छ ! कोभिड–१९ बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु आफू सुरक्षित छन् । उनीहरुलाई केही असहज छैन ! तर, यथार्थ अलि भिन्दै छ ।

औषधी उपकरणको अभावका बीच रातदिन कोभिड–१९ बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु लामो ड्युटी र निरन्तर खटाइका कारण ग्यास्ट्रिकदेखि डिप्रेसनसम्मको शिकार हुनुपरेको छ । बिरामीको उपचारमा खटिँदा स्वास्थ्यकर्मीले आफन्तसँग महिनौं टाढिनुपर्ने अवस्था छ ।

कोभिड–१९ का बिरामीको उपचारमा खटिएका अधिकांश स्वास्थ्यकर्मीको पीडा उस्तै छ । जस्तो पीडा डा. अर्चना कार्कीको छ । १६ बैशाखदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साविकको कटकुवा स्वास्थ्यचौकीलाई नगर कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि उनले अस्पतालको नेतृत्व गरिरहेकी छन् । अक्सिजनसहितको २५ बेड अस्पताल संचालनमा आएपछि उनको नेतृत्वमा १६ जना कर्मचारीले सेवा दिइरहेका छन् ।

उपचारमा सकस

‘करिब १५-२० दिन अगाडिको कुरा हो । सिकिस्त बिरामीहरु धेरै आउथेँ । सबै बिरामीलाई अक्सिजनको आश्वयक परेपछि पु¥याउनै धौ–धौ भयो । तर, निषेधाज्ञापछि बिरामीको पनि चाप घटेको छ,’ हालैको एकदिन डा. कार्कीले हेल्थआवाजसँग भनिन्, ‘पहिले–पहिले कोभिड–१९ पोजेटिभ भएका बिरामीहरुमा सामान्य रुघाखोकी र ज्वरोको मात्रै लक्षण हुन्थ्यो । तर, अहिले ज्वरो, पखलाजस्ता कडा खालका लक्षण भएका बिरामी आउँछन् ।’

चौबिसै घण्टा अक्सिजन दिनुपर्ने भएकाले उपचारम सकस छ । तर, सिपाहीझै मोर्चामै डटेर सबै बिरामीलाई सेवा दिइरहेको उनले बताइन् ।

सामान्य औषधीले अहिलेको कोभिड–१९ जित्न मुस्किल रहेको अनुभव उनले सुनाइन् । सय जना बिरामीमध्ये झण्डै ८५ जनालाई २४ सै घण्टा अक्सिजन दिनुपर्ने अवस्था छ । एकै पटक धेरै बिरामीलाई अक्सिजन चाहिने भएकाले मुख्य समस्या नै सिलिण्डर र अक्सिजनको जोहो गर्नु रहेको छ ।

‘अक्सिजनकै अभावले मृत्युदर बढेको मलाई महसुस हुन्छ,’ उनी भन्छिन्, ‘बिरामी र स्वास्थ्यकर्मीको पनि रेसियो मिलेको छैन ।’
डा.कार्कीकाअनुसार अहिले एक जना डाक्टर तथा नर्सले ३० देखि ३५ जना बिरामीलाई हेर्नु परिरहेको छ । अवस्था कस्तो छ भने सबैलाई एकै पटक श्वास फेर्न गाह्रो भयो भने स्वास्थ्यकर्मीलाई बिरामी कहाँ पुग्नै समय लाग्छ ।

बिरामी निको भएर फर्किदा…

अन्य अस्पतालको तुलनामा वीरेन्द्रनगरको नगर कोभिड अस्पतालमा बिरामी र स्वाथ्यकर्मीको पनि रेसियो मिलेको छ । ड्युटीमा एकजना डाक्टरसहित तीन जना कर्मचारी नियमित भएकाले २५ जना बिरामीलाई हेर्न खासै अप्ठ्यारो नभएको डा. कार्की बताउँछिन् ।

उनले भनिन्, ‘बिरामी र स्वास्थ्यकर्मी बीचमा कुरा भइरहेको हुन्छ । उपचारमा खटिरहँदा बिरामीसँग राम्रो चिनजान भइसकेको हुन्छ । त्यसैले बिरामी डिस्चार्ज हुनेबेलासम्म पारिवारिक सम्बन्ध भइसकेको हुन्छ ।’ गम्भीर बिरामी उपचार पश्चात जब निको भएर फर्किन्छन्, डा. कार्कीसँगै उनको टिम हर्षविभोर हुन्छ ।

आफन्तसँग टाढा हुँदा

स्वास्थ्यकर्मीले निरन्तर कोभिड–१९ संक्रमितको उपचारमा खटिएकाले अब छिमेकमा कोरोना सार्छन् भन्ने गलत धारणा छ । यसले गर्दा स्वास्थ्यकर्मीको मनोबल घटिरहेको छ । यही कारण दिनरात बिरामीको सेवामा तल्लीन स्वास्थ्यकर्मीप्रति फरक व्यवहार हुन्छ । जसले गर्दा आफूहरुको आत्मबल घट्ने डा. अर्चना कार्की बताउँछिन् ।

‘हाम्रो वरपर कोही आउदैनन् । घर पनि आइसोलेसन नै भएको छ । बच्चासँग कन्ट्रयाक्ट छैन । पोइलीदेखि माइती घरका सबै टाढा भएर बस्नु परेको छ,’ उनले थपिन्, ‘तर, केही हदसम्म मन दुःखेपनि उपचारारत बिरामी निको भएर घर फर्किदा सबै पीडा भुलिन्छ ।’

नेपालमा कोभिड–१९ नभित्रिदै भारत र चीनमा फैलिएको समाचार पढ्दा सुरुमा डा. कार्कीलाई पनि डर लागेको थियो । तर, अहिले आफैले कोभिड–१९ बिरामीको उपचारमा खटिदा त्यो डरलाई उनले जितिसकेकी छन् । कोभिड–१९ सजिलै जितिन्छ भन्ने सकारात्मक उर्जा उनका विकास भएको छ ।

ग्यास्ट्रिकदेखि डिप्रेसनसम्म

एक पटक पीपीई लगाएर उपचारमा खटिँदा चार, पाँच घण्टा राउण्ड गर्नपर्ने हुन्छ । डा. कार्की भन्छिन्, ‘त्यो बेला ट्वाइलेट जान र भोक, प्यास लाग्यो भने गाह्रो हुन्छ । त्यसमा पनि हामी महिला डाक्टर तथा स्वास्थ्यकर्मीहरुको महिनावारी पिरियडको समयमा एकदमै कठिनाई झेल्नुपर्छ । बीचमा प्याडहरु चेन्ज गर्न, रेष्ट गर्न मिल्दैन ।’

उनका अनुसार पीपीई लगाएर उपचारमा खटिएको बेला धेरै समयसम्म पिसाब रोक्नपर्ने र पानी पिउन नमिल्ने भएकोले महिला स्वाथ्यकर्मीलाई पिसाब चिलाउने, सेतोपानी बग्नेजस्ता समस्या धेरै देखिएका छन् ।

‘भोक–भोकै उपचारमा खटिनुपर्दा ग्यास्ट्रिकको समस्या भोग्नु परेको छ । लामो समय ड्युटी गर्न पर्दा स्वास्थ्यकर्मीलाई नै स्वास्थ्य समस्या देखिएका छन् । जसले गर्दा ब्लड प्रेसर बढ्ने र तनाव सिर्जना हुने हुँदा स्वास्थ्यकर्मी आफै ग्यास्टिकदेखि डिप्रेसनको शिकार हुनुपरेको छ’ उनले भनिन्, ‘तर सेवा नै हाम्रो धर्म हो । हामी आफ्नो काम र कर्तव्यप्रति पूर्ण जिम्मेवार छौं । त्यसैले सबै मिलेर कोभिड–१९ महामारी रोकथाम गरौं । आफू बचौं र अरुलाई पनि बचाऔं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ