२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसातौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सुरू, स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा उद्घाटन

सातौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन सुरू, स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा उद्घाटन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले सातौ भर्चुअल स्वास्थ्य तथा जनसंख्या सम्मेलन उद्घाटन गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को आयोजनामा भर्चुअल माध्यमबाट भइरहेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन एक समारोहमाझ मन्त्री श्रेष्ठले बिहीबार विहान स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

सो क्रममा मन्त्री श्रेष्ठले परिषद्को ३० वर्षलाई समेटेर तयार पारिएको पुस्तक समेत विमोचन गरेका थिए ।

स्वागत मन्तब्य राख्दै परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सम्मेलनले अन्तर्राष्ट्रिय अनुसन्धानबाट उदीयमान जनस्वास्थ्य मुद्धाहरुलाई सम्बोधन गर्ने बताए । उनले परिषद्ले स्थापना कालदेखि नै परिषद्ले नेपालमा स्वास्थ्य अनुसन्धान नियमन गर्नुका साथै प्रमाणका आधारमा नीति निर्माण गर्न अनुसन्धान, तथ्यांक र प्रतिवेदनहरु सार्वजनिक गर्दै आइरहेको बताए । अनुसन्धानमा चासो राख्नेहरुका लागि तालिम, कार्यशाला गोष्ठी र क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गर्दै अनुसन्धान संस्कृति प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको सम्मेलन सफलताको शुभकामना पढेर सुनाइएको थियो । जसमा प्रधानमन्त्री ओलीले जनताको आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्य क्षेत्रमा निरन्तर अध्ययन अनुसन्धान हुनपर्ने आवश्यकता औल्याएका छन् । शुभकामना लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, डा राजेश समबाजीराव पाण्डवले शुभकामना मन्तब्य व्यक्त गरेका छन् । यस्तै, सम्मेलनमा मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सेरो रिजनकी डाइरेक्टर डा. पुनम क्षेत्रपाल सिंहले कि नोट स्पीकरका रुपमा आफ्नो मन्तब्य राखिन् । सम्मेलनमा अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर सर पिटर होर्वे पनि मन्तब्य राख्नेछन् ।


सम्मेलनमा ४७ वटा अनुसन्धानमूलक कार्यहरुको मौखिक प्रस्तुती हुनेछ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा १९ वटा पोष्टर प्रस्तुती हुनेछन् भने २४ वटा आमन्त्रित प्रस्तुतीकरण रहनेछन् । सम्मेलनलाई पारदर्शी बनाउनका लागि परिषद्ले साइन्टीफिक कमिटी, स्टेरिङ कमिटी, आयोजक समिति र एवार्ड छनोट उपसमिति गठन गरेर काम अगाडि बढाइएको थियो ।

सम्मेलनको पहिलो दिनमा कोभिड—१९, जनस्वास्थ्य संकट, नसर्ने रोगहरु तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञ र प्रस्तुतकर्ताहरुको प्रस्तुती रहनेछ । त्यसैगरी सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुती हुनेछन् । जसमा पहिलोमा मातृ शिशु, नवजात शिशु, बालस्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य, दोस्रोमा कार्यान्वयात्मक अनुसन्धान, तेस्रोमा संक्रामक रोगहरु, चौथो पोषण, पाँचौ मानसिक स्वास्थ्य र दुर्व्यसन, छैटौ वातावरणीय स्वास्थ्य, औषधीजन्य र बायोमेडिकल अनुसन्धानलगायतका गहन विषयहरु प्रस्तुतीकरण र गहन छलफल हुनेछन् ।

परिषद्का अध्यक्ष प्रा. डा. गेहनाथ बरालले अध्यक्षतामा भइरहेको सम्मेलनको समापनमा ९ जना उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न एवार्डहरुद्वारा सम्मानित गरिनेछ । जसमा दुर्गादेवी ज्ञवाली एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड, हेल्थ रिसर्च एवार्ड, मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक), मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड, एनएचआरसी वेष्ट पर्फमर एवार्ड, बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल), वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) र ओरेशन एवार्ड रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अनुसन्धान परिषद्


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ