२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ हजार ७७ जना जनस्वास्थ्य निरिक्षक परिचालन गरिने, तलब ५६ हजार ८ सय ५ रुपैयाँ

१ हजार ७७ जना जनस्वास्थ्य निरिक्षक परिचालन गरिने, तलब ५६ हजार ८ सय ५ रुपैयाँ

यस्तो छ जनस्वास्थ्य निरिक्षक परिचालन कार्यविधि


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ प्रतिकार्यका लागि देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरिक्षक परिचालन गर्ने भएको छ । मन्त्रालयले कोभिड-१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरिक्षक परिचालन सम्बन्धि संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै  देशका ७ सय ५३ वटै स्थानीय तहमा जनस्वास्थ्य निरिक्षक परिचालन गर्न लागेको हो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सकेसम्म छिटो जनस्वास्थ्य निरिक्षकहरु पूर्ति गरिने छ । ‘सबै जिल्लाको म्यापिङ गर्न पत्र पठाइसकेका छौँ,’उनले भने,’जिल्लाहरूको जवाफ आएपछि कति जनस्वास्थ्य निरिक्षकका लागि आवेदन खोल्नु पर्ने हो त्यो टुङ्गो लगाएर सकेसम्म छिटो पूर्ति गर्छौं ।’

डा. पौडेलका अनुसार २० जेठमा स्वास्थ्य मन्त्रालयले गरेको परिपत्रअनुसार केही जिल्लाले जवाफ पठाइसकेका छन् ।

कार्यविधिमा ७ सय ५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरिक्षकहरु रहने छन् । यस्तै, उप-महानगरपालिकामा ३/३ जना, नगरपालिकामा २/२ जना र गाउँपालिकामा १/१ जना जनस्वास्थ्य निरिक्षक परिचालन गरिनेछ । नेपालमा ६ वटा महानगरपालिका, ११ उप-महानगरपालिका र २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।

जनस्वास्थ्य निरिक्षकहरु सातौँ तहका अधिकृत सरह हुनेछन्। उनीहरुको सुरुको तलब स्केल ३७ हजार ८ सय ७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता १८ हजार ९ सय ३५ रुपैयाँ गरी कुल ५६ हजार ८ सय ५ रुपैयाँ  हुनेछ । त्यसबाहेक जनस्वास्थ्य निरिक्षक कामको सिलसिलामा कोभिड-१९ संक्रमित भएमा सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्न छ भने उनीहरुको जीवन विमा समेत हुनेछ ।

कार्यविधिमा जनस्वास्थ्य निरिक्षकको ६ महिनाको लागि आवश्यक तलब भत्ताको पनि अनुमान गरिएको छ । १ हजार ७७ जना जनस्वास्थ्य निरिक्षक परिचालन गर्दा ३६ करोड ७० लाख ७३ हजार ९ सय १० रुपैयाँ खर्च हुने देखिएको छ ।

जनस्वास्थ्य निरिक्षक परिचालनमा पहिलो प्राथमिकतामा योग्यता पुगेका स्थायी/फाजिल स्वास्थ्यकर्मीलाई परिचालन गरिनेछ । त्यसबाहेक आवश्यक जनशक्ति इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्षिप्त प्रक्रिया अबलम्बन गरी करारमा नियुक्त गर्नेछ ।

कार्यविधिमा जनस्वास्थ्य निरिक्षकहरुको कार्यअवधि १ वर्ष हुने र महामारीको अवस्था हेरी थप गर्ने व्यवस्था गरिएको छ ।

जनस्वास्थ्य निरिक्षकले ३ तहको जनस्वास्थ्य समन्यव  गर्न, क्वारेन्टाइन र आइसोलेशन निगरानी गर्न, केस इन्भेस्टीगेसन,  कन्टयाक ट्रेसिङ, स्क्रिनिङ्ग, हेल्थ डेस्क, उपचार र संचार गतिविधिहरु सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्यवमा संचालन गर्नेछन् ।

यस्तै, जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन, जनचेतनामुलक गतिविधि संचालन, जनस्वास्थ्य मापदण्डका बारे जानकारी तथा परामर्श, सरकारबाट जारी मापदण्ड पालना नगर्ने व्यक्ति तथा संस्थाहरुको सूची तयार गरी कारवाहीका लागि सिफारिस गर्ने, जोखिम स्थानको पहिचानका लागि सूचना संकलन र विश्लेषणात्मक  प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेश गर्ने अधिकार दिइएको छ ।

जनस्वास्थ्य निरिक्षकमा आवेदन दिनका लागि कम्तिमा जनस्वास्थ्य विषयमा स्नातक गरेको हुनुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ