२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘होलवडी जाँच’मा २५ हजार रुपैंयाँसम्म असुल्छन् निजी अस्पताल

‘होलवडी जाँच’मा २५ हजार रुपैंयाँसम्म असुल्छन् निजी अस्पताल


निर्देशिकामा भनिएको छ— ‘सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधी समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्छ ।’

काठमाडौं—देशभरका अधिकांश निजी अस्पतालहरुले होलबडि चेकअपका नाममा बिरामीमाथि ब्रहमलुट गर्ने गरेको पाइएको छ । होलवडी चेकजाँचका नाममा मनोमानी शुल्क असुल्दै आएपनि जिम्मेवार निकाय मौन छ ।

हेल्थ आवाजले काठमाडौंमा रहेका केही ठूला निजी अस्पतालहरुमा बुझ्दा शुल्कमा एकरुपता नपाइएको देखिएको छ । निजी अस्पतालहरुले प्याकेजका नाममा २५ हजार रुपैंयाँसम्म असुल्दा पनि सरकार मौन छ । यस्तै, सरकारी अस्पतालहरुले पनि होलबडी चेकजाँचका नाममा शुल्क लिने गरेका छन् ।

अस्पतालहरुका अनुसार होलबडी चेकजाँचअन्तर्गत अस्पतालहरुले रक्तकण गणना (कम्प्लिट ब्लड काउण्ट), रक्तसमूह, सुगर, कलेजो (लिभर फङसन टेष्ट), कोलेस्ट्रोल, युरिक एसिड, थाइराइड, भिटामिन डी, हेपाटाइटिस बी÷सी, पिसाब, दिसाको जाँच, छातीको एक्सरे, इको, फोक्सो (पल्मोनरी फङसन टेष्ट)लगायत पर्छन् ।

काठमाडौंस्थित ह्याम्स अस्पतालले होलवडी चेकको नाममा एक हजार नौं सय ५० रुपैंयादेखि २४ हजार रुपैंयासम्म असुल्दै आएको छ । अस्पतालका कर्मचारीकाअनुसार बेसिक प्याकेज, स्ट्यान्डर्ड प्याकेज भन्दै बिरामीबाट फरक-फरक शुल्क लिने गरिएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालले बेसिक प्याकेजका नाममा ५ हजार ५ सय रुपैंया लिने गरेको छ । ललितपुरस्थित अल्का अस्पतालले होलवडी जाँचको शुल्कमा केही परिवर्तन भएको जनाएको छ । हेल्थआवाजले अस्पतालमा बुझ्दा प्याकेजअनुसार शुल्क लिने गरिएको जानकारी अस्पतालले दिएको छ । ‘हाम्रोमा ९ हजार रुपैयाँदेखि होलबडी चेकजाँचको प्याकेज सुरु हुन्छ,’ अल्का अस्पतालका कर्मचारीले भने ।

यस्तै, ग्वार्कोस्थित बीएण्डबी अस्पतालले होलबडी चेकअपका नाममा ५ हजार ५ सय रुपैयाँदेखि १८ हजार रुपैयाँ लिने गरेको छ ।

ओम अस्पतालले ५ हजार रूपैयाँदेखि २५ हजार रुपैंयासम्म लिदैं आएको जनाएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले होलवडी चेकजाँचका नाममा २ हजार रुपैंयादेखि २२ हजार रुपैंयासम्म लिने गरेको बताइएको छ ।

बल्खुस्थित बयोधा हस्पिटलले ५ हजार सात सय ५० रुपैंयादेखि १३ हजार पाँच सय रुपैंयाँसम्म लिने गरेको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालले कम्प्रीहेन्सीभ मेडिकल प्याकेज शीर्षकमा ७ हजार ६ सय ९४ रुपैंयाबाट शुल्कको रेट सुरु हुने गरी निर्धारण गरिएको बताएको छ ।

ललितपुरस्थित सुमेरु अस्पतालले विभिन्न शीर्षकमा २० वटा टेष्टको परीक्षण गरेबापत १० हजार रुपैंयाँ लिदैं आएको छ ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका—२०७० मा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधीसमेत खुलाएर शुल्क सम्बन्धि वडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने उल्लेख छ । यस्तै, सोहीअनुरुप सेवाको सुनिश्चितता गर्नु पर्ने पनि निर्देशिकामा भनिएको छ । तर, अधिकांश निजी अस्पतालहरुले आफूले प्रवाह गर्ने सेवाका बारेमा स्पष्ट पार्न चाहँदैनन् । निजी अस्पतालहरुको अनुगमन तथा नियमनसमेत नहुँदा सेवा शुल्कमा मनोमानी मौलाउँदै गएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालहरुको अनुगमनका सन्दर्भमा अन्तर मन्त्रालयबीच समन्वय हुनुपर्ने बताए । ‘हामीले मूल्यको अनुगमन गर्ने कि सेवाको ? यो विषयमा स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘वाणिज्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतबीच समन्वय हुनुपर्छ ।’ सचिव अर्यालले केही दिन अघि स्वास्थ्य समितिको बैठकले अस्पतालहरुको अनुगमन सन्दर्भमा अन्तर मन्त्रालय समन्वय हुनुपर्ने धारणा राखेका थिए ।

अस्पतालहरुको मनपरी बढ्दै गएपनि होलवडी चेकजाँच शुल्क सम्बन्धि मापदण्ड निर्धारण नहुँदा मनोमानी बढेको छ । संविधानमा स्वास्थ्यलाई मौलिक अधिकारभित्र राखिएपनि कागजमा सिमित हुन पुगेको जनस्वास्थ्यविदहरु बताउँछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अल्का अस्पताल, #ओम अस्पताल, #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #बयोधा हस्पिटल, #बीएण्डबी अस्पताल, #मेडिसिटी अस्पताल, #सुमेरु अस्पताल, #ह्याम्स अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ