२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिडियो स्टोरी : पूर्णेश्वरीले जब नयाँ जीवन पाइन्, यसरी गरियो मुटुको जटिल शल्यक्रिया

भिडियो स्टोरी : पूर्णेश्वरीले जब नयाँ जीवन पाइन्, यसरी गरियो मुटुको जटिल शल्यक्रिया


काठमाडौं—भक्तपुर सुर्यविनायक—८ की पूर्णेश्वरी भालजुलाई वि.सं. २०६० सालमा मुटुको समस्या देखियो । उनका भाइ गोपाल श्रेष्ठले माइली दिदीको उपचारका लागि पटक—पटक अस्पताल धाए । तीन पटक उनको मुटुको भल्बको पीटीएमसी (बेलुन छिराएर डाइलेट गर्ने) उपचार गरियो । उनले औषधी पनि निरन्तर सेवन गरिरहिन् ।

तर, स्वास्थ्यमा पुनः समस्या देखिदैं गए । ‘समस्या बढ्दैं गएपछि वि.सं. २०६६ सालमा पुनः पीटीएमसी विधिबाट उपचार गरियो,’ गोपालले हेल्थआवाजसँग भने, ‘वि.सं. २०७७ सालमा पुनः तेस्रो पीटिएमसी गरियो ।’ तीन पटक पीटीएमसी गरिसकेपछि पनि मुटु स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकहरुले उनको ओपन हर्ट सर्जरी गर्ने सल्लाह दिए ।

त्यसपछि गोपाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगे । कार्डियोभास्कुलर सर्जन डा. संजीत शाहको नेतृत्वको टोलीले शल्यक्रियाको तयारी अगाडि बढायो । सबै तयारी पूरा गरेपछि २ साउनमा ५२ वर्षीया पूर्णेश्वरी श्रेष्ठको मुटुको जटिल शल्यक्रिया सुरु गरियो । पूर्णेश्वरीको कार्डियोभास्कुलर सर्जरी यसकारण गम्भीर थियो कि उनको एकै पटक मुटुका धेरै समस्या हटाउनु परेको थियो । अपरेटिङ सर्जन डा. संजीतकाअनुसार उनको ‘मिट्रल भल्भ रिप्लेसमेन्ट, प्त्रिस्क्युस्पिड भल्भ रिपेयर, एट्रियल सेप्टल डिफेक्ट क्लोजर र लेफ्ट एट्रियल अपेन्डेज एक्सक्लुजन’ गरिएको थियो ।

अझ त्यसमाथि उनको मानसिक समस्या पनि थियो । यी सबैका बाबजुद तीन घण्टा समय लगाएर शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो । ‘तीन घण्टामा शल्यक्रिया सकियो,’ डा. संजीत भन्छन्, ‘गंगालालका दाजु डा. विश्व पोखरेलले विशेष भूमिका निभाउनुभयो । डा. सन्तोष खत्रीले पनि उतिकै महत्वपूर्ण सहयोग पुर्‍याउनुभयो । हाम्रो एनेस्थेसिया टिम, नर्सिङ स्टाफको उतिकै महत्वपूर्ण सहयोग रह्यो ।’

पूर्णेश्वरीको घरपरिवार सबै खेतीकिसानैमै भएकाले उनलाई खर्च जुटाउन पनि गाह्रो थियो । ‘त्यही कारण हामीले शल्यक्रिया गर्न आलटाल गरिरहेका थियौं,’ उनका भाइ गोपाल भन्छन्, ‘डा. सन्जितले सहज बनाइदिए । हामीले सोचेकोभन्दा धेरै कममा उपचार पायौं ।’

डा. संजीतकाअनुसार स्वास्थ्य मन्त्रालयको र्‍युमेटिक हार्ट डिजिज (आरएचडी) स्कीम अनुसार उनको निःशुल्क शल्यक्रिया गरिएको थियो । यो स्कीममा मेटलिक भल्ब, शल्यक्रिया व्यवस्थापन र शल्यक्रियामा लाग्ने खर्च सरकारले नै व्यहोर्छ । ‘यही स्कीमअनुसार उहाँको शल्यक्रिया गरिएको हो,’ डा. संजीत भन्छन् । अहिले अंग प्रत्यारोपण केन्द्रमा १० जनाका लागि यो स्कीम छ ।’ उनी यसलाई बढाउनुपर्नेमा जोड दिन्छन् । नत्र बाहिर मुटुको शल्यक्रिया गर्दा निकै खर्च लाग्ने गर्छ । जुन गरिब तथा विपन्नका लागि ‘आकाशको फल, आँखा तरी मर’ भनेजस्तै हुन आउँछ ।

बिरामीकी बहिनी सुनिता श्रेष्ठले चिकित्सकहरुको राम्रो व्यवहारले पनि आफूहरुलाई उपचारमा सहज भएको बताउँछिन् । ‘आधा रोग डाक्टरको बोली र व्यवहारले पनि निको हुँदो रहेछ,’ उनले भनिन्, ‘मेजर शल्यक्रिया भएर पनि सिष्टर र डाक्टरको सहयोगका कारण सबै कुरा सहज भयो ।’

किन जटिल थियो शल्यक्रिया ?

एकातिर कोभिड—१९ पछि बन्द भएको मुटुको शल्यक्रिया अंग प्रत्यारोपण केन्द्रमा पुनः सुरु हुँदैं थियो । अर्कोतिर पूर्णेश्वरीको मुटुको जटिल शल्यक्रिया गर्नुपर्ने थियो । डा. संजीतले टिमसँग सरसल्लाह गरे । अहिले नै नआटनेकी भन्ने सुझाव पनि आयो । तर, उनी अगाडि बढे ।

‘कार्डियाक अप्रेशन भनेको जटिल नै हुन्छ । तर, उहाँको समस्या मुटुको मात्रै नभएर मुटुले गर्दा फोक्सो र कलेजो दुवैलाई असर गरेकाले पनि थप समस्या थियो । उहाँको मुटुको नियर क्रिटिकल समस्या थियो,’ उनले भने, ‘शल्यक्रिया नगरी नहुने भएकाले ममा हतार थियो । त्यसैले यो शल्यक्रिया चाडै गरियो ।’ उनले शल्यक्रियाका लागि परिवारको पनि राम्रो सहयोग भएकाले पूर्णेश्वरीको माइटल भल्व रिप्लेसमेन्ट सहज रुपमा सफलतापूर्वक सम्पन्न भएको बताए ।

‘चार पाँच वटा किसिमको सर्जरी हामीले एकै पटक गरेका हौं,’ डा. सन्जीत सुनाउँछन्, ‘देब्रेतिरको ढोका पूरै फेर्‍यौ । दाहिनेतिरको ढोका चाहिने जति रिपेयर गर्‍यौं । अर्को देब्रे ढोका बिग्रिएकाले यसअघि नै तीन पटक पिटिएमसी (बेलुन छिराएर डाइलेट गर्ने) गरेकाले दुई वटा एट्रियल सेफ्टल डिफेक्ट थियो । त्यसले गर्दा पनि उहाँको मुटुमा समस्याहरु थपिरहेका थिए । त्यसलाई पनि हामीले बन्द गर्‍यौं ।’

पूर्णेश्वरीको देब्रे साइडको ढोका खुल्दैं नखुल्ने भएकाले तीन नम्बर कोठामा रगत चाहिनेभन्दा बढी जम्मा भएर कोठा नै ठूलो ठूलो हुँदैं गएको थियो । त्यसलाई बाँधेर आकार पनि सानो बनाइएको संजीत सुनाउँछन् । ‘यी सबै कुराले गर्दा यो शल्यक्रिया जटिल थियो,’ उनी भन्छन्, ‘हामीले सफलतापूर्वक सम्पन्न गर्‍यौ ।’




क्याटेगोरी : समाचार
ट्याग : #पूर्णेश्वरी, #मुटुको जटिल शल्यक्रिया


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ