१३ कात्तिकमा मध्यरात पौने दुई बजे गाइनोकोलोजिष्ट डा. गहना गुरुङ मस्त निन्द्रामा थिइन् । मोबाइलमा घण्टी बज्यो । एक जना सिकिस्त बिरामी अस्पताल भर्ना भएका छन्, उपचार गर्नुप¥यो । हिमाललगायतका झण्डै एक दर्जन अस्पतालबाट भौतारिदै चिनजानमार्फत बुढानिलकण्ठस्थित करुणा अस्पताल आइपुगेकी थिइन्, ती बिरामी ।
सुदूरपश्चिमको कैलाली धनगढीकी २४ वर्षीया लाली चौधरी अवस्था क्रिटिकल थियो । अस्पताल पुगेर डा. गहनाले बिरामीको अवस्था चेकजाँच गर्न थालिन् । उनलाई हेल्प सिन्ड्रोम (प्रेग्नेन्सी कप्लिकेसन) भएको पत्ता लाग्यो । शरीरमा १ लाख ५० हजारदेखि ४ लाखसम्म हुनुपर्ने प्लेटलेस १५—१६ हजारमा झरेको थियो । बिरामीलाई श्वास फेर्नेलगायतका जटिल स्वास्थ्य समस्याहरु थिए ।
डा. गहनाका अगाडि प्रश्न खडा भयो रिस्क लिने कि नलिने ? यसो हेरिन्, बिरामी २४ वर्षको कलिलो उमेरकी । उनले सोचिन्, ‘कसरी यतिकै छोड्नु ? मैले रिस्क लिए भने त एक जीवन जोगाउन सकिन्छ । रिस्क नै लिइन भने त निश्चित छ एक जीवन सकिन्छ ।’ उनले आँट बटुलिन् । बिरामी पक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्लेटलेसको जोहो गर्न लगाइन् ।
त्यसका लागि करुणा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. रामकुमार श्रेष्ठले आफ्नो गाडी नै बिरामी पक्षलाई दिएर रगत खोज्न दौडाए । बिरामी पक्षसँग उपचारका लागि आवश्यक पर्ने खर्च समेत थिएन् । अस्पतालले पैसा बिना नै शल्यक्रियाको तयारी द्रुत गतिमा अगाडि बढायो । १४ कात्तिकको विहानैदेखि सुरु गरिएको शल्यक्रियाको तयारी राति ९ बजे सकियो । बिरामीलाई ४ पिन्ट रगत दिएर प्लेटसलेस संख्या ४८ हजार पु¥याइयो ।
यतिमै शल्यक्रिया गर्न आफैमा चुनौतीपूर्ण र खतरापूर्ण कार्य थियो । तर, डा. गहनाको टिम बिरामीको जीवनलाई केन्द्रमा राखेर रिस्क लिएरै भएपनि शल्यक्रिया गर्न तयार भयो । राति १० बजे डा. गहनासहित एनेस्थेसियोलोजिष्ट डा. शुभकल्याण श्रेष्ठ, मेडिसिनका चिकित्सक डा. परशुराम घिमिरेको टोली शल्यक्रिया सुरु ग¥यो । ‘मानिसमा १ लाख ५० हजारदेखि ४ लाखसम्म प्लेटलेस हुनुपर्छ, १ लाखभन्दा तल प्लेटलेस भएको बिरामीलाई शल्यक्रिया गर्नु निकै जोखिमपूर्ण थियो । तर, हामीले जसरी पनि बिरामीलाई बचाउने विकल्प सोचेरै शल्यक्रिया अगाडि बढायौं,’ डा. गहना भन्छिन् ।
शल्यक्रिया अलि लामो भयो । राति पौने एक बजेतिर बल्ल शल्यक्रिया सकियो । बिरामीलाई पोष्टअप वार्डमा सारियो । तर, बिरामी अवस्था जटिल नै थियो । चिकित्सकहरुले हार मानेनन्, निरन्तर प्रयासहरु गरिरहे । अन्ततः ७२ घण्टापछि लालीको स्वास्थ्यमा सुधारका संकेतहरु देखिन् थाले । ‘हाम्रो टिमवर्कको परिणाम बल्ल देखियो, त्यसले धेरै आशाहरु पलाए,’ डा. गहनाले सुनाइन् । ७ दिन आईसीयुमा राखेर उपचार गरेपछि उनलाई जनरल वार्डमा सिफ्ट गरियो ।
अन्ततः लाली २३ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भइन् । उनलाई हेरिरहेका चिकित्सक डा. परशुरामकाअनुसार अहिले उनको स्वास्थ्य अवस्था पूर्णतयाः नर्मल छ । ‘लालीको अवस्था सबै नर्मल छ । ट्रमाटोकी केसबाट ग्रुजिएकाले मानसिक अवस्था गाह्रो हुने हुन्छ । तर, उनमा त्यसको असर पनि छैन,’ उनले भने, ‘ट्युब राखेका कारण बोल्नमा केही समस्या छ । त्यो पनि ५—७ दिनमा ठीक हुन्छ ।’
अस्पतालका सिईओ डा. रामकुमारकाअनुसार लालीको रिस्क लिएर शल्यक्रिया गरिएको हो । ‘हामीले रिस्क लिएर उहाँको शल्यक्रिया ग¥यौं ।’ अझ केही अस्पतालले त पैसा तिर्न नसक्ने भनेर लालीलाई आईसीयुबाट निकालेर अर्को अस्पतालमा पठाइदिएका थिए । तर, करुणा अस्पतालले भने लालीको शल्यक्रिया निःशुल्क गरिदिएको हो । ‘हामीले औषधीबाहेक सबै कुरा निःशुल्क गरिदियौं,’ डा. राम भन्छन्, ‘प्राइभेटले पैसाका लागि मात्रै काम गर्नुभएन । २—४ घण्टा हामीले आफ्नो ज्याला नलिदा कोही बिरामी बाँच्छ भने किन नगर्ने ?’ ल्याब परीक्षण र अन्य कुराका लागि पनि डा. रामले सहयोग जुटाइदिए । ‘नत्र हामी स्टाफहरुबाटै ५—५ सय जम्मा गरेर भएपनि उपचार खर्च तिरिदिने सोचमा थियौं,’ यी युवा चिकित्सक भन्छन्, ‘तर, सहयोग जुट्यो, बिरामीलाई राम्रो भयो । हामी खुसी छौंं ।’
सोमबार हेल्थआवाज प्रतिनिधीसँग भलाकुसारीका क्रममा लाली र उनका श्रीमान बुद्धिराम चौधरीको अनुहारमा खुसी फुलिरहेको थियो । ‘सबै डाक्टर रातभर खटेर मलाई बचाउनुभयो,’ लालीले सुनाइन्, ‘बाँचिदैन जस्तो लागेको थियो । नयाँ जीवन पाए ।’ उनका श्रीमान बुद्धिराम अस्पताल र मनकारी चिकित्सकहरुको टिमले आफ्नी श्रीमतीलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए । ‘उहाँहरुको सबैको सहयोगका लागि निकै आभारी छु,’ उनले भने, ‘पैसा र पावर हुनैपर्ने रहेछ । पावर र पैसा भएको भए यति धेरै अस्पताल चहार्नु पर्दैन्थ्यो होला ।’ जे भएपनि धनगढीको जीविकोपार्जन मात्रै गर्न सक्ने परिवारका उनी जीवनसाथीलाई सन्चो भएकोमा फुंरुग छन् ।
रातभर दर्जनौ अस्पताल चहार्दा
धनगढी उपमहानरपालिकाका बुद्धिराम चौधरी २८ वर्षका भए । उनकी २४ वर्षीया श्रीमती लाली चौधरी २२ हप्ताका गर्भवती थिइन् । १० कात्तिकमा राति १० बजे उनकी श्रीमतीमा श्वास फेर्न गाह्रो, ज्वरो आउने, बस्नै नमिल्ने, छाती दुख्नेलगायतका समस्या देखिन थाले । त्यसपछि उनले नवजीवन अस्पताल लगे । त्यहाँका चिकित्सकहरुले आईसीयु भएको अस्पतालमा लैजान सुझाए । सेती प्रादेशिक अस्पतालमा लगे । त्यहाँ पनि आईसीयु पाएनन् ।
त्यसपछि उनले आईसीयुको खोजीमा माया मेट्रो अस्पताल लगे । ‘त्यहाँ पनि आईसीयु पाइन्,’ उनले भने, ‘त्यसपछि निसर्ग अस्पताल लगे ।’ त्यहाँका ड्युटी चिकित्सकले आईसीयुमा राख्नुपर्ने अवस्था छैन भन्दैं जनरल वार्डमा भर्ना गरिदिए । अवस्था झन बिग्रदैं गइरहेको थियो । विहान विशेषज्ञ चिकित्सक आएर चेकजाँच गरे । ती चिकित्सकले नेपालगन्ज लैजान सुझाव दिए ।
बुद्धिरामका साथीभाइ र घरपरिवारले नेपालगन्जमा उपचार नभए काठमाडौं नै लानुपर्छ भन्दैं काठमाडौं नै लग्न सुझाव दिए । त्यसपछि बुद्धिराम बिरामी श्रीमती लिएर हवाईजहाजमा काठमाडौं आए । काठमाडौंको कमलपोखरीस्थित हिमाल अस्पतालमा एक रात आईसीयुमा राखे । हिमाल अस्पतालले भोलिपल्ट १३ कात्तिकमा वीर अस्पतालमा रिफर गरिदियो । वीर अस्पतालमा गाइनो सेवा नभएकाले त्यहाँबाट उनीहरु सर्वाङ नर्सिङ होम पुगे । त्यहाँ भिडियो एक्सरे गरे, तर त्यहाँ पनि उपचार भएन । यतिन्जेल राति भइसकेको थियो । त्यसपछि उनीहरु त्रिवि शिक्षण अस्पताल पुगे । त्रिवि शिक्षण अस्पतालमा आईसीयु बेड पाएनन् ।
यतिकैमा उनका जेठानका सहपाठी राकेश महर्जनसँग सम्पर्क भयो । राकेशकी क्लासमेटका थिइन्, करुणा अस्पतालका सञ्चालक डा. रामकी बहिनी । राकेशले डा. रामकी बहिनीसँग समस्या बिसाए । डा. रामले बिरामीको करुणा अस्पतालले उपचारको जिम्मा लिइदिने बताए । त्यसपछि १३ कात्तिकको राति २ बजे अस्पताल चहार्दा—चहार्दै हैरान भएकी लालीलाई लिएर बुद्धिरामले करुणा अस्पताल बुढानिलकण्ठ पुगे । अस्पतालले तत्कालै बिरामीलाई इमर्जेन्सीमा भर्ना गरेर आईसीयुमा राख्यो र उपचारका प्रक्रिया अगाडि बढायो ।
यसरी बचायौं लालीलाई : डाक्टर अनुभव
डा. गहना गुरुङ, गाइनोकोलोजिष्ट, करुणा अस्पताल
लालीलाई हेल्प सिन्ड्रोम (प्रेग्नेन्सी कप्लिकेसन) भएको थियो । यसले कलेजोको एन्जाइमलाई तलमाथि गराउने हुन्छ । कलेजोले नै काम गर्न छाड्ने हुन्छ । रगतलाई हानी पु¥याउने, हेमोग्लोबिनलाई निकै लो बनाइदिन्छ । बिरामीलाई रिगंटा लाग्ने, पेट दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, आँखा धमिलो देखिने हुन्छ ।
लालीको अवस्था निकै क्रिटिकल थियो । तर, पनि हामीले रिस्क लियौं किनकि त्यसबाहेक अर्को कुनै पनि विकल्प थिएन । यो बेलामा कतै ज्यानमा काटियो भने पनि त्यहीबाट रगत गएर मृत्युसमेत हुनसक्ने खतरा रहन्छ । उनी मात्र २४ वर्षकी थिइन् । विकल्प अप्रेशन मात्र थियो । उनका श्रीमानको अवस्था पनि नाजुक थियो ।
१२—१३ वटा अस्पताल धाइसकेका थिए । पैसा पनि सकिसकेको थियो । यो रोग त गर्भवतीको सालको रोग भयो । हामीले बच्चा चाहिँ निकाल्छौ तर बच्चाको आशा नगर्नु भनेका थियौं । श्वासप्रश्वासका लागि पाइप लगाउनुपर्ने अवस्था थियो । लालीको अवस्था ८० वर्षको बुढापाका गम्भीर भएर अस्पताल भर्ना भएकोजस्तो अवस्था थियो ।
४ पिन्ट रगत चढाएका थियौं । हामीले तुरुन्तै रातिसम्म तयार गर्नु भन्यौं । त्यही राती ९ बजेसम्म उहाँहरुले तयार गराउनुभयो । त्यति गर्दा ४८ हजार प्लेटलेस आयो, त्यो पनि राम्रो स्थिति थिएन् । टिमले त्यसपछि रिस्क लिने सल्लाह भयो । र, हामीले करिब १० बजे तिर अप्रेसन सुरु गर्यौं । भाग्यबस रगत जानुपर्ने हो, त्यति चाहिं गएन् । हामीले पौने १ सम्म लगाएर अप्रेशन गर्यौं । उनलाई आईसीयुमा सिफ्ट गर्यौं । त्यहाँ पुग्दा सेतो रगत घट्दै गैसकेको थियो ।
७२ घण्टापछि बल्ल सुधार देखिन थाल्यो । शरीरको संक्रमणको शक्ति घटेपछि विभिन्न रोगले समात्ने हुन्छ । हामीलाई पनि ७२ घण्टापछि सुधार आएपछि आशा लाग्न थाल्यो । त्यसपछि प्रेसरको औषधी दिनु परेन् । आफै श्वास फेर्न सक्ने भइन् । खाना खाने भइन् । सात दिन त आईसीयुमै बस्नुप¥यो । वार्डमा सिफ्ट गरेपछि दालहरु खान सक्ने भइन् । प्लेटलेसहरु माथि आयो, रातो रगत देखिन थाल्यो । त्यसपछि हामीले डिस्चार्ज गर्यौं ।