२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् त्रिवि शिक्षण अस्पतालका ३८ वर्षका १५ निर्देशक

यी हुन् त्रिवि शिक्षण अस्पतालका ३८ वर्षका १५ निर्देशक


काठमाडौं—त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गतको प्रतिष्ठित अस्पताल हो-त्रिवि शिक्षण अस्पताल महाराजगन्ज । नेपाली स्वास्थ्य सेवाको ब्याक बोन मानिने यो अस्पतालमा वर्षेनी लाखौं नेपालीले स्वास्थ्य सेवा लिन्छन् । लाखौंले यही अस्पतालबाट नयाँ जीवन पाउँछन् ।

मासिक ११ करोड रुपैयाँ तलबमै खर्च हुने यो अस्पतालको वार्षिक खर्च नै १ अर्ब ३० करोड रुपैयाँ छ । अस्पतालमा १८ सयदेखि २ हजारसम्म कर्मचारीहरु छन् । अस्पतालका निर्देशक डा. दिनेश काफ्लेकाअनुसार सरसफाइकर्मी साढे चार सय जना छन् । ८० जना भित्रैका सेक्युरिटी कर्मचारी छन् भने बाहिरबाट थप ६० जना सेक्युरिटी कर्मचारी हायर गरिएका छन् ।

सस्तो मुल्यमा ठूला शल्यक्रियासहित गहन रोगको उपचारका लागि त्रिवि शिक्षण मुलुककै अग्रणी अस्पताल हो । मुलुककै प्रतिष्ठित विशेषज्ञ चिकित्सकहरु यो अस्पतालमा कार्यरत छन् । जसका कारण त्रिवि शिक्षण मुलुक नमुना अस्पताल हो । ३८ वर्षअघि स्थापना भएको अस्पतालले नेपालको आम स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानमा युग परिवर्तनको नेतृत्व समेत गरेको छ । सुरुमा यो अस्पताल ३०१ शैय्याको सामान्य अस्पतालको रुपमा रहेको थियो । त्यो समयमा अस्पतालमा दैनिक ३ सय बिरामी ओपीडीमा आउने गर्थे । उत्कृष्ट स्वास्थ्य सेवा र सस्तो उपचारका कारण मुलुकका सबै नागरिकको विश्वास जित्न सफल त्रिवि शिक्षण अस्पताल सहरमा अत्याधुनिक पूर्वाधारसहितका निजी अस्पतालको उपलब्धता हुँदाहुँदै नागरिकको पहिलो रोजाइमा पर्छ ।

झण्डै चार दशकको यात्रामा यो अस्पतालले पूर्वाधार र स्वास्थ्य सेवामा क्रान्ति गरेको छ । अत्याधुनिक इमर्जेन्सी, सुविधासम्पन्न सघन उपचार कक्ष, बाल चिकित्सा भवन, ईएनटी र अर्थोपेडिक भवनको विस्तारसँगै अहिले अस्पताल ७ सय शैय्याको पुगेको छ । दैनिक बिरामीको संख्या २ हजार बढी छ । अहिले अस्पतालमा सामान्य परीक्षणदेखि उन्नत उपचारसम्मका सेवाहरु रहेको डा. काफ्ले बताउँछन् । सानादेखि ठूला शल्यक्रियाहरू, मृगौला र कलेजोको प्रत्यारोपण शल्यक्रियाहरू पनि अस्पतालले गर्दै आएको छ ।

वि.सं. २०४० सालदेखि अहिलेसम्म यो अस्पताललाई विभिन्न चिकित्सकहरुले नेतृत्व गरेका छन् । हेल्थआवाजले त्रिवि शिक्षण अस्पताललाई निर्देशकका रुपमा ०४० सालदेखि नेतृत्व गर्ने १५ निर्देशक र कार्यकारी निर्देशकहरुलाई यहाँ प्रस्तुत गरेको छ । अस्पतालाई अहिलेको यो अवस्थासम्म ल्याउन जति त्रिवि शिक्षणका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी भूमिका छ, त्यसमा निर्देशकहरुको नेतृत्वदायी भूमिकालाई उल्लेखनीय मान्नुपर्छ ।

१. डा. भिष्म राज प्रसाईं

डा. भिष्म राज प्रसाईले मुलुकको अग्रणी अस्पतालको पहिलो निर्देशक बन्ने सौभाग्य पाएका थिए । उनले वि.सं. २०४० साल बैशाख ५ गतेदेखि २०४४ साल बैशाख ४ गतेसम्म त्रिवि शिक्षण अस्पतालको निर्देशकका रुपमा काम गरेका थिए ।

२. डा. चन्द्रप्रकाश मास्के

त्रिवि शिक्षण अस्पतालको नेतृत्व डा. चन्द्रप्रकाश मास्केले पनि गरेका थिए । उनी त्रिवि शिक्षण अस्पतालको दोस्रो निर्देश बने । डा. मास्केले ०४४ साल बैशाख ५ गतेदेखि २०४६ साल असार ३१ गतेसम्म अस्पतालको निर्देशक सम्हाले । मास्के झण्डै तीन वर्षभन्दा केही समय बढी अस्पतालको निर्देशक रुपमा नेतृत्व गरेका थिए ।

३. डा. भोलाप्रसाद रिजाल

अहिलेका चर्चित स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजालले युवावस्थामै त्रिवि शिक्षण अस्पतालको प्रशासनिक नेतृत्व सम्हाल्ने अवसर पाएका थिए । वि.सं. २०४६ साल साउन १ गतेदेखि २०४८ अस्पतालको प्रशासनिक नेतृत्वमा आएका उनले २ वर्षमात्रै निर्देशकको भूमिका निभाएका थिए । डा. रिजाल २०४८ साल असार ३२ गतेसम्म त्रिवि शिक्षण अस्पतालको निर्देशकका रुपमा रहे ।

४. डा. मनोहरप्रसाद गुप्ता

डा. मनोहरप्रसाद गुप्ता २०४८ साल साउन १ गतेदेखि त्रिवि शिक्षण अस्पतालको निर्देशक भएका थिए । उनले तीन वर्ष त्रिवि शिक्षण अस्पतालको निर्देशकका रुपमा अस्पतालको नेतृत्व गरे । डा. गुप्ता वि.सं. २०५१ साल असार ३२ गतेसम्म अस्पतालको निर्देशकको जिम्मेवारीमा रहेर सक्रिय रहेका थिए ।

५. डा. भोलाराज जोशी

त्रिवि शिक्षण अस्पतालको पाँचौ निर्देशक हुन्, भोलाराज जोशी । डा. जोशी वि.सं. २०५१ साल साउन १ गतेदेखि शिक्षण अस्पतालको प्रशासनको बागडोर सम्हाल्न पुगेका थिए । उनले त्रिवि शिक्षणको प्रशासनको नेतृत्व वि.सं. २०५३ भदौं १६ गतेसम्म गरेका थिए ।

६. प्रा.डा. गोविन्दप्रसाद शर्मा

प्रा.डा. गोविन्दप्रसाद शर्माले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका रुपमा अस्पताल प्रशासन नेतृत्व गरे । वि.सं. २०५३ साल भदौ १७ देखि अस्पतालको नेतृत्व लिएका उनले वि.सं. २०५७ भदौं १७ गतेसम्म अस्पतालमा नेतृत्व सम्हाले ।

७. प्रा.डा. महेन्द्रकुमार नेपाल

डा. शर्मापछि त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशको जिम्मेवारी प्रा.डा. महेन्द्रकुमार नेपालको काँधमा आयो । वि.सं. २०५७ भदौं १७ गते अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएका हुन्, डा. नेपाल । उनले वि.सं. २०६१ साल भदौं २० सम्म त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी निभाए ।

८. प्रा.डा. महेशप्रसाद खकुरेल

प्रा.डा. खकुरेलले पनि त्रिवि शिक्षण अस्पतालको नेतृत्व गर्ने अवसर पाए । वि.सं.२०६१ साल भदौ २१ गते त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक भएका हुन्, उनी । त्यसपछि उनले अस्पतालको नेतृत्व वि.सं. २०६५ साल कात्तिक ३० गतेसम्म सम्हाले ।

९. प्रा.डा. केशवप्रसाद (केपी) सिंह

डा. केपी सिंह त्रिवि शिक्षण अस्पतालको ९ नेतृत्वकर्ता हुन् । डा. सिंह वि.सं. २०६५ साल मंसिर १ गते अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । उनले त्रिवि शिक्षण अस्पतालको नेतृत्व वि.सं. २०६९ कात्तिक ३० गतेसम्म अस्पतालको नेतृत्व गरेका थिए ।

१०. प्रा.डा. भगवान कोइराला

चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले वि.सं. २०६९ कात्तिक मंसिर ३ गते कार्यकारी निर्देशक नियुक्त भएका हुन् । डा. कोइरालाले त्रिवि शिक्षण अस्पतालको १० औं निर्देशक हुन् । उनले वि.सं. २०७० माघ २४ गतेसम्म अस्पतालको निर्देशक रहे । डा. कोइराला कार्यकाल पूरा नभएर प्रा.डा. गोविन्द केसीको आन्दोलनका कारण निर्देशकबाट राजीनामा दिएका थिए ।

११. प्रा.डा. दीपक महरा

डा. कोइरालाले कार्यकाल पूरा नगरेरै राजीनामा दिएपछि त्रिवि शिक्षणको कार्यकारी निर्देशकका प्रा.डा. दीपक महरा नियुक्त भए । वि.सं. २०७१ जेठ २५ गते अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका उनले अस्पतालको बागडोर वि.सं. २०७५ साउन ३ गतेसम्म सम्हाले । डा. महरा अर्थोपेडिक सर्जन हुन् ।

१२. प्रा. मन्दिरा वन्त

त्रिवि शिक्षण अस्पतालको ३८ वर्षको इतिहासमा एक मात्रै महिला कार्यकारी निर्देशक भएर इतिहास बनाउनेमा पर्छिन्—प्रा मन्दिरा वन्त । प्रा.डा. दीपक महराको कार्यकाल सकिएपछि वि.सं. २०७५ साउन ४ मा उनी अस्पतालको कार्यकारी निर्देशक भएकी थिइन् । वन्तले वि.सं. २०७५ पुस १ गतेसम्म पुग—नपुग ६ महिनामात्रै अस्पतालको नेतृत्व गर्ने अवसर पाइन् ।

१३. प्रा.डा. प्रेमकृष्ण खड्गा

ग्यास्ट्रोइन्टारोलोजिष्ट प्रा.डा. प्रेमकृष्ण खड्का वि.सं. २०७५ पुस १ गते त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भए । उनले वि.सं. २०७७ साउन ५ गतेसम्म अस्पतालको नेतृत्व गरेका थिए ।

१४. प्रा.डा रोहितकुमार पोखरेल


डा. रोहितकुमार खड्का त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा वि.सं. २०७७ साल असार ७ गते नियुक्त भएका हुन् । उनले वि.सं. २०७७ भदौं २३ गतेसम्म अस्पतालको नेतृत्व सम्हालेका थिए ।

१५. प्रा. डा. दिनेश काफ्ले

प्रा.डा. दिनेश काफ्ले वि.सं. २०७७ भदौ २३ गते त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । अर्थोपेडिक सर्जन प्रा.डा. काफ्ले अहिलेका बहालवाला कार्यकारी निर्देशक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ