२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा पास ५०% पर्सेन्टाइलमा, मार्किङ नेगेटिभ प्रणाली

अब चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षा पास ५०% पर्सेन्टाइलमा, मार्किङ नेगेटिभ प्रणाली


काठमाडौँ – चिकित्सा शिक्षा आयोगले अब लिने एकीकृत प्रवेश परीक्षाको मोडालिटीमा परिर्वतन गरेको छ । यसअघि प्रवेश परीक्षामा कम्तिमा ५० प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई मात्र चाहेको विषय अध्ययन गर्न पाउने नियम रहेको थियो ।

उक्त नियम हुँदा चिकित्सा शिक्षाका स्नातक तहका विभिन्न विषयमा कम विद्यार्थी(तोकिएको सिट संख्या) उत्तीर्ण भएपछि आयोगले ५० प्रतिशत पर्सेन्टाइल सिस्टममा गएको हो ।

आयोगका परीक्षा निर्देशनालयका निर्देशक प्रा.डा. संघरत्न बज्राचार्यका अनुसार अबको प्रवेश परीक्षामा सामेल विद्यार्थीमध्ये ५० प्रतिशत अनिवार्य पास हुनेछन् । ‘कुनै पनि विषयमा जति विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन्छन्, त्यसको आधा विद्यार्थी पास हुन्छन्,’ उनले भने, ‘यसमा यति नै प्रतिशत ल्याउने पास हुन्छन् भन्ने हुँदैन, कति परीक्षामा सहभागी हुन्छन् त्यसका आधारमा उत्तीर्ण हुन्छन् ।’

आयोगले पर्सेन्टाइलमा जाँदा अब्बल विद्यार्थी नछुटुन भनेर नेगेटिभ मार्किङको पनि व्यवस्था सुरु गरेको छ । हालसम्म लोकसेवा आयोगले अपनाउदै आएको नेगेटिभ मार्किङकै सिस्टम प्रवेश परीक्षामा पनि लाग्ने निर्देशक प्रा.डा. बज्राचार्यले जानकारी दिए । ‘एउटा गल्ति भए ० दशमलव २५ नम्बर काटिन्छ, ४ वटा गल्ति हुँदा १ नम्बर काटिन्छ,’उनी भन्छन्, ‘पर्सेन्टाइलमा जाँदा अब्बल विद्यार्थी नपरेर कमजोर विद्यार्थी पास हुनबाट रोक्न सकियोस भनेर यो सिस्टम राखिएको हो ।’ नेगेटिभ मार्किङ नहुँदा विद्यार्थीले अन्दाजी टिक लगाउदा मिले पुरा नम्बर पाउने नमिले नम्बर नकाटिने हुँदा कहिलेकाहिँ अब्बल विद्यार्थी पछाडी पर्ने सम्भावना रहन्छ । जानेको उत्तर मात्र दिउन र आयोगलाई पनि कन्फिडेन्ट विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न प्रेरित हुन भनेर यस्तो प्रावधान ल्याइएको प्रा.डा. बज्राचार्यले बताए ।

नेगेटिभ मार्किङको कारण पास हुने विद्यार्थीको संख्या कम नहुने उनको भनाई छ । ‘यो माथिल्लो अंक ल्याउने (मेरिट सिस्टम) विद्यार्थीबाट सेलेक्सन गर्दै जाने हो,’ उनले भने, ‘जब परीक्षामा सहभागि भएका विद्यार्थीको ५० प्रतिशत पुग्छ त्यसपछि रोकिन्छ ।’

‘२०० सय जना परीक्षार्थी परीक्षामा सहभागि छन् भने पहिले सबैभन्दा बढी अंक ल्याउनेबाट छान्दै क्रमश: कम नम्बर आउने छानिन्छ, जब १०० जना पुग्छ अनि त्यसपछिको प्रवेश परीक्षामा अनुतीर्ण मानिन्छ,’ उनले उदाहरण दिंदै भने, ‘पास हुने विद्यार्थीको संख्या कम हुँदैन, केही हदसम्म भएपनि अब्बल विद्यार्थीले नै मौका पाउन भन्ने उद्देश्य हो ।’

तर, आयोगले परीक्षार्थी नै कम भएर तोकिएको सिटअनुसार विद्यार्थी नपुगेमा ५० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थी भएमा उनीहरुलाई भर्ना गर्न दने प्रावधान पनि राखेको छ । ‘कुनै विषयमा ५० प्रतिशत माथि अंक ल्याउने विद्यार्थी छँदै ५०% पर्सेन्टाइल पुग्यो तर, तोकिएको सिटअनुसार भएन भने त्यसलाई आयोगले अर्को व्यवस्था राखिदिएको छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा मेरिट लिष्टका आधारमा तोकिएको सिट बराबर विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।’

आयोगले यो व्यवस्था स्नातक तहको प्रवेश परीक्षाबाट लागु गर्ने बताएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ