२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारपारासिटामोलको अभाव किन चर्कियो ? समाधानका उपाय

पारासिटामोलको अभाव किन चर्कियो ? समाधानका उपाय


नेपालमा कोभिड–१९ को पहिलो लहरमा सेनिटाइजर, मास्क, पीपीई, पारासिटामोलको अभाव भयो । दोस्रो लहरमा अक्सिजन, रेम्डेसिभिर, हेपारिन तथा पारासिटामोलको अभाव रह्यो । र, यतिखेर मुलुकमा कोभिड–१९ को तेस्रो लहर तीब्र बेगमा छ । बजारमा पारासिटामोल चक्कीको अभावको चर्चा व्यापक बनेको छ ।

गत सातादेखि अहिलेसम्म पनि पारासिटामोल ५ सय मिलिग्राम चक्कीको अभावको समाचार, उपलब्धता गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनदेखि सर्वोच्च अदालतको आदेशसम्म र स्वास्थ्यमन्त्री, स्वास्थ्यसचिव, औषधीको व्यवस्था विभागको महानिर्देशक, औषधी उद्योगी, औषधी व्यवसायी तथा औषधी आयातकर्ता पारासिटामोलको उपलब्धताको लागि सबैजना व्यस्त रहे । तर, पनि पारासिटामोलको सहज उपलब्धता हुन सकेको छैन् ।

आम नागरिक एक चक्की सिटामोल पाउन सकिरहेका छैनन् । फार्मेसीमा धाइरहेका सर्वसाधारण एक ट्याब्लेट सिटामोल नपाएपछि निराश बनेर फर्किरहेका छन् । कोभिड–१९ लहरमा सिटामोल अभाव चर्किएको छ । तर, बजारमा अहिलेसम्म सर्वशक्तिशाली प्रधानमन्त्रीदेखि सबैले तत्परता देखाउँदा पनि पारा सिटामोल सहज रुपमा उपलब्ध हुन सकेको छैन ।

के हो पारासिटामोल ?

पारासिटामोल ज्वरो घटाउन, दुखाइ कम गराउनको लागि प्रयोग हुने सुलभ र सुरक्षित औषधी हो । यो ५ सय मिलिग्राम, ६५० मिलिग्राम, इन्जेक्सन सस्पेन्स, झोल इत्यादिमा उपलब्ध हुन्छ । सुन्निएको कम गर्न आइप्र्रुफेनसँग रुघा तथा नाकबाट पानी बगेको रोक्न क्लोरफेनरामाइन, कोडीनहरु संग संयुक्त रुपमा पनि उपलब्ध हुन्छन् । हाल पारासिटामोल ५ सय मिलिग्रामको चक्कीबाहेक अरु सबै खालका पारासिटामोल बजारमा सहज रुपमा उपलब्ध छन् ।

किन उपलब्ध हुन सकेन पारासिटामोल चक्की ?

पारासिटामोल चक्कीको माग नेपालमा सामान्य अवस्थामा करिब सात करोड चक्की खपत हुने अनुमान छ । कच्चा पदार्थको आयातको तथ्यांक हेर्दा २०७६–७७ को ६ महिनामा ६५६४० किलोग्राम आयात भएकोमा २०७८/७९ को ६ महिनामा १३४०२८ किलोग्राम आयात भएको छ । यो पोहोरको ६ महिनाभन्दा अहिले दोब्बर आयात भएको हो ।

यसको उपलब्धता नहुनुको मुख्य कारण भनेको माग दोब्बरभन्दा बढी हुनु हो । भारतमा पारासिटामोल ६५० मिलिग्रामको उपलब्धता भएको र हालको भारतीय मिडिया रिपोर्टअनुसार एउटा उत्पादकलेमात्र भारतमा कोरोनाको समयमा ३ अर्ब ५० करोड चक्की पारासिटामोल ६५० मिलिग्राम बिक्री गरेको छ । नेपालमा चिकित्सकहरुले पारासिटामोल ६५० मिलिग्रामको माग गरेको र उत्पादकहरुले औषधी ब्यवस्था विभागसँग उत्पादन अनुज्ञा पत्र माग्दा अनुमति नदिएकोले, यसको अभावमा चिकित्सकहरुले ५०० मिलिग्रामको २ चक्की खान सल्लाह दिने गरेकोले पारासिटामोल चक्कीको माग बढेको हो ।

अर्को मुख्य कारण भनेको औषधी व्यवस्था विभागले १० असोज २०६४ मा कानुन विपरित तोकेको मुल्य हो । औषधी ऐन, २०३५ को दफा २६ अनुसार औषधी व्यवस्था विभागले नेपाल सरकारको सहमतिमा कुनै औषधीको मुल्य तोक्न सक्ने व्यवस्था छ । र, यस्तो मुल्य राजपत्रमा प्रकाशित भएपछि लागु हुन्छ । औषधी व्यवस्था विभागले १० असोज २०६४ मा मन्त्रीस्तरीय निर्णय गराएर २१ वटा औषधीको मुल्य तोकेको थियो । जुन राजपत्रमा प्रकाशित भएको थिएन । र, औषधी उद्योगीले उक्त मूल्य समायोजन गर्न पटक–पटक निवेदन दिँदा पनि विगत १४ वर्षदेखि औषधी व्यवस्था विभागले मूल्य समायोजन गरेन ।

२०६४/६५ मा भन्सार विभागको तथ्यांकअनुसार पारासिटामोलको कच्चा पदार्थ ६२७०० किलो ग्राम रु १९४ (USD 2.83/KG exchange rate 1USD=68.50) प्रतिकिलोको दरले आयात भएको देखिन्छ । त्यसबेला पारासिटामोल ५०० मि.ग्रा.को रु १ प्रति चक्की तोकिएको थियो । २०७८/७९ को ६ महिनामा पारासिटामोलको कच्चा पदार्थ १४३०२८ किलो ग्राम १२२४।०८ प्रतिकिलोको दरले आयात भएको देखिन्छ र पछिल्लो पटक नेपाल औषधी लिमिटेडले १५०५ प्रतिकिलोको दरले आयात गरेको छ ।

यसरी विगत १४ वर्षमा कच्चा पदार्थमा करिब ८ दोब्बरले वृद्धि हुँदा, मुल्य समायोजनको लागि पटक—पटक अनुरोध गर्दा औषधी व्यवस्था विभागले चासो दिएन् । नेपाली उद्योगहरुले उक्त गैरकानुनी मूल्य समायोजन गर्न नत्र भारत सरकारले भारतमा तोकेको मुल्यमा बेच्न खोज्दा, औषधी उद्योगको आवश्यक कागजात नवीकरण नगर्ने, अनावश्यक झन्झट दिने गरेको र वि.सं. २०७२ सालमा कानुनी रुपले ९६ वटा औषधीको मूल्य तोकी राजपत्रमा प्रकाशित गरेर लागु गर्दा ८ वर्ष अगाडि गैरकानुनी रुपले तोकेको २१ वटा उत्पादनको मुल्य समायोजन नगर्नुले औषधी व्यवस्था विभागको नेपाली औषधी उत्पादकहरुप्रति र औषधीको उपलब्धताप्रतिको गैर जिम्मेवारीपूर्ण उत्तरदायित्व प्रष्ट हुन्छ ।

कच्चा पदार्थ र सहायक कच्चा पदार्थको मुल्य ८ दोब्बर बढदा र विगत १४ वर्षमा ज्याला, ढुवानी र अन्य खर्चमा व्यापक वृद्धि हुँदासमेत, मुल्य तोक्ने निकायले मुल्य समायोजन गर्न नसक्नु अहिलेको अभावको मुख्य कारण हो ।

भारतमा भारत सरकारले पारासिटामोल ५०० मि.ग्रा.को रु. १।५० र पारासिटामोल ६५० मि.ग्रा.प्रति चक्कीको रु २।९५ मुल्य तोकेको छ । भारतमा पारासिटामोल ५०० मि.ग्रा.भन्दा ६५० मिलिग्रामको उत्पादन बढी हुने गरेको छ ।

आ.ब. परिमाण केजी आयात मुल्य प्रति केजी मुल्य  
२०६४/६५ ६२७०० रु. १२२२६५०० रु.१९५.००
२०७०/७१ ७६०४१ रु. ३४७९९००० रु.४५७.६३
२०७२/७३ ७२७५८ रु. ३७०४३००० रु.५०९.७३
२०७५/७६ २२३२१६ रु. १५९२५६००० रु.७१३.४६
२०७६/७७ २३०२१६ रु. १३८७३६००० रु. ६०१.२९
२०७७/७८ १६८१९० रु. १७३८५७००० रु.१०३३.६९
२०७८/७९ पौष मसान्तसम्म १४३०२८ रु. १७५०७८०००
रु.१२२४.०८ (८ नेपाल औषधी
कम्पनीको खरिद)

रु १५०५.००८

 पारासिटामोलको कच्चा पदार्थको आयात (स्रोत भन्सार विभाग)

वि.सं. २०६४ सालमा पुनरजलीय झोल (जीवनजल)को कच्चापदार्थको डेक्सट्रोजको मुल्य रु ३२ प्रतिकिलो थियो । यसको मुल्य अहिले बढेर रु.७५ प्रतिकिलो भएको छ । वि.सं. २०६४ सालदेखि यसको मुल्य रु. १० तोकिएको छ । भारतमा यसको मुल्य रु.३० छ ।

अब पनि सरकारले यस्तो औषधीको मुल्य समायोजन नगरेमा निकट भविष्यमा पुनरजलीय झोल (जीवनजल), सलाइन पानी तथा अरु जीवनउपयोगी अत्यावश्यक औषधीको अभाव हुने निश्चित छ ।

यो आर्थिक वर्षको ६ महिनामा करिब १९ अर्बको खोप खरिद गर्ने सरकारले केही करोडको पारासिटामोलमा बेइज्जत हुनु पर्दाको खासकारण खोजेर अबिलम्ब समाधान गरी भविष्यमा कुनै पनि औषधीको अभाव हुन नदिने वातावरण तयार गर्नुपर्छ ।

समाधानका तीन उपाय

१. गैर कानुनी रुपले १० असोज २०६४ मा तोकिएको मूल्यलाई खारेज गरी नेपाल औषधी उत्पादक संघले पटक–पटक औषधी व्यवस्था विभागलाई भारत सरकारको राष्ट्रिय औषधी मुल्य समायोजन प्राधिकरण (एनपीपीए)ले तोकेको मूल्यलाई आधार मानी मूल्य समायोजन गर्ने कार्य विधि बनाइ लागु गर्नुपर्छ । यस्तो गर्दा एक जना नेपालीले वार्षिक पारासिटामोलमा रु. १० बढी खर्च गर्नुपर्छ, जुन आधा कप चियाको मूल्य बराबर हुन्छ । तर, अरु मुटुको औषधी तथा सधै प्रयोग गर्ने औषधी र दिर्घ रोग ,क्यान्सर रोगको तथा अस्पतालमा प्रयोग हुने सुईजन्य औषधीमा प्रतिव्यक्ति वार्षिक खर्च हजारौं रुपैयाले कम हुन्छ । वार्षिक आधा कप चियाको बराबरको मूल्यको पारासिटामोलमा सरकार बदनाम हुनु हुँदैन् ।

२. पारासिटामोल ६५० मिलिग्राम उत्पादन अनुमति जुन भारतीय फर्माकोपियामा छ र कानुनअनुसार उत्पादन गर्नलाई कुनै अवरोध छैन । यस्तो औषधीको उत्पादन अनुमति तुरुन्त दिनुपर्छ । २०७८ साल पुष १२ गतेको औषधी सल्लाहकार समितीको बैठकमा समितीका अध्यक्ष तथा स्वास्थ्य सचिवले पारासिटामोल ६५० मिलिग्रामको मुल्य भारतमा भारत सरकारले तोके बराबर हुने गरी, उत्पादन अनुमति ७ दिन भित्र दिन गरेको आदेश महिनाैं दिन पुग्दा पनि हुन सकेको छैन ।

३. नेपालको औषधी ऐन, २०३५ को दफा ५ अनुसार औषधी व्यवस्था विभागको स्थापना रहेको छ र दफा ६ अनुसार औषधी अनुसन्धानशालाको स्थापना रहेको छ । यो व्यवस्थाको ऐनमा संशोधन गरिएको छैन । तर, अनुसन्धानशालालाई प्रयोगशाला बनाएर औषधी व्यवस्था विभागअन्तर्गत राख्ने काम भएको छ । यसले औषधीको अनुसन्धानमा कुनै काम नभएर औषधीको अनुगमन मात्र हुने गरेको छ । जसका कारण पारासिटामोललगायत अन्य औषधीको अभाव हुने र नेपाल सरकारले औषधीमा आत्मनिर्भर हुने नीति लागु हुन सकेको छैन । तसर्थ, औषधी ऐनअनुसार अबिलम्ब औषधी अनुसन्धानशालाको स्थापना गरी औषधीको अनुसन्धान तथा विकास गर्दै भविष्यमा औषधीको अभाव हुन नदिने र औषधीमा आत्मनिर्भर हुने काम गर्नुपर्छ ।

(दाहाल औषधी परामर्श परिषद्का सदस्य तथा औषधी उत्पादक संघका पूर्व अध्यक्ष हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ